राजनीति


कर्मचारी र मतदातालाई धन्यवाद दिन मुगु र जुम्ला पुगिन् प्रधानमन्त्री कार्की

कर्मचारी र मतदातालाई धन्यवाद दिन मुगु र जुम्ला पुगिन् प्रधानमन्त्री कार्की

नेपालखबर
चैत ५, २०८२ बिहिबार १६:३२, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की आज देशको विकट पहाडी क्षेत्र कर्णालीको भ्रमणमा गएकी छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्न उनी त्यहाँ पुगेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा उनी कर्णाली पुग्न सकेकी थिइनन्।

प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा पुगेकी हुन्। प्रधानमन्त्री कार्कीले त्यहाँ जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन्। 

त्यसपछि उनी जुम्लाको खलङ्गा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन्। सो क्रममा उनले सीमित स्रोत–साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरिन्।

उनले स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्। 

प्रधानमन्त्री कार्कीले भनिन्, ‘देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ।’

यसैक्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गरिन्। विसं २०३७ सालमा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ। 

विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए।

प्रधानमन्त्री कार्कीको यो भ्रमणको मुख्य उद्देश्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै छोटो कार्यकालमा सरकारलाई प्राप्त जनसमर्थनप्रति कृतज्ञता प्रकट गर्नु रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad