राजनीति


बालेन प्रधानमन्त्री, मन्त्रीको चाबी रविको हातमा

बालेन प्रधानमन्त्री, मन्त्रीको चाबी रविको हातमा

सागर न्यौपाने
चैत ४, २०८२ बुधबार २१:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ बहुमत ल्याएसँगै बालेन्द्र शाह देशको प्रधानमन्त्रीको सपथ लिने तयारीमा छन्। गत पुस १३ गते भएको ७ बुँदे सहमतिमा रवि लामिछाने रास्वपाको सभापति रहने र बालेन शाह संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बन्ने उल्लेख छ।

चुनाव जितेसँगै बालेन प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ। त्यसैले धेरैको चासो अब मन्त्रिमण्डल कस्तो बन्ला भन्नेमा देखिन्छ। 

नेताहरूका अनुसार मन्त्री इच्छुकहरुले लबिइङ सुरु गरिसकेका छन्। त्यस्ता  सांसदहरु सभापति रवि लामिछानेभन्दा पनि बालेनको वरिपरि घुम्न थालेका छन्। यही सूचना पाएर हुनुपर्छ रविले आफ्ना सांसदलाई कडा निर्देशन दिएका छन्।

चुनावलगत्तै बिरामी परेर आराम गरिरहेका उनी बुधबार ललितपुरमा आयोजित रास्वपाका सांसदको अभिमुखीकरण कार्यक्रममा पुगेका थिए। सांसदलाई सम्बोधन गर्दै रविले मन्त्री बन्न भइरहेका लबिइङ रोक्न कडा निर्देशन दिए।

‘राजनीति यसैगरी चल्छ भनेर कहीँकतै दौडधुप गरेको मैले पनि देखिरहेको छु,’ रविले भने, ‘यो शक्तिको दौडधुप, यताउता यसलाई भनेर हुन्छ कि, उनलाई भनेर हुन्छ कि, यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि, यो पसल बन्द गर्नुहोला। म आज अलिकति तितो कुरा गरिरहेको छु तपाईंहरूसँग। राजनीति त्यसैगरी चल्नेवाला छैन। कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो।’

बालेन चाहना र रविको योजना
बालेनले प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो क्याबिनेटमा रास्वपाका सांसदहरू मध्येबाट पनि विज्ञ, प्राविधिक क्षमता र काम गर्न सक्षमलाई राख्न चाहेका छन्। सोही अनुसार उनी भेटघाटमा पनि छन्। सरकारले सय दिनमा गर्ने कामको सूची बनाउन उनको सहयोगी समूह दुई हप्तायता खटिएको छ।

जनताले महसुस गर्नेगरी सय दिनको कार्ययोजना बनाउनेदेखि आगामी पाँच वर्षे रणनीति बनाउने जिम्मेवारी सो टिमले पाएको छ।

सांसदलाई दिइएको अभिमुखीकरण कार्यक्रममा समेत सहभागी नभएका बालेन मन्त्रीहरू आफैँ छान्न चाहन्छन्। अहिले भएका मन्त्रीको संख्या घटाउने योजनामा बालेन रहेको निकट सांसद राजुनाथ पाण्डे बताउँछन्। १८ जनाभन्दा कम मन्त्री बनाउने तयारी रहेको उनले जानकारी दिए। यद्यपि, यसको निर्णय रवि र बालेन बसेर गर्नेछन्। 

तर, मन्त्री छान्ने र फिर्ता बोलाउने वैधानिक अधिकार आफूसँग रहेको संकेत रविले दिएका छन्।

‘सरकार करिब दुई तिहाइको बन्दैछ, संख्या घट्ला, अल्पमतपमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन राइट टु रिकलको व्यवस्था यसपटक कडाइका साथ लागू गरिने छ,’ उनले सांसदहरुलाई भने, ‘तपाईंहरू यही हलमा भएकैमध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ, म फलानो मन्त्री भनेर हिँड्ने चिज बन्द गर्दिनुहोला, किनकि पार्टीले क्याबिनेटमा कस–कसलाई पठाउँछ भन्ने कुराको निर्णय अहिलेसम्म हामीले गरेका छैनौँ।’

बालेन प्रधानमन्त्री भए पनि मन्त्रीहरू आफूले नै छानेर पठाउने प्रस्ट संकेत बुधबार रविले गरेका छन्। अर्थात् बालेनको नेतृत्वमा बन्ने सरकारको लगाम पार्टी संगठनमार्फत आफ्नो मुठ्ठीमा राख्ने रविको योजना देखिन्छ।

‘पार्टीले सही निर्णय गर्छ। कसैलाई भन्नु पर्दैन, हामीलाई तपाईंहरूको विज्ञता र क्षमता थाहा छ, कयौँ साथीहरू देखिएको देखियै गर्नुहुन्छ, कयौँ छेकिएको छेकियै गर्नुहुन्छ। पार्टीले छेकिएको साथीलाई पनि हेरिरहेको छ,’ रविले सांसदहरूसँग भने। 

रविले पार्टीलाई कमजोर बनाउन विभिन्न प्रयास हुनसक्ने पनि बताए। त्यतिमात्र होइन, आफूहरूलाई जनताले ३६ दिन पनि कुर्न नसक्ने भएकोले समयको दबाब रहेको उनले उल्लेख गरे।

त्यसबाहेक रविले अन्य दलहरूसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, लगानीकर्ताको मनोबल उकास्ने प्रयास पनि गरे। नेपालमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै उनले ढुक्क बन्न आग्रह गरे।

‘शासकीय स्वरुपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ। तर, वर्तमान व्यवस्था, परिवर्तन, संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमागाउनेवाला पनि छैन,’ रविले भने, ‘इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। म यही मञ्चबाट उहाँहरूलाई धन्यवाद दिन चाहन्छु– इतिहास तपाईंले लेख्नु भयो, भविष्य हामी बनाउँछौँ।’

सरकार बनेपछि पार्टीको वाचापत्र अनुसार काम होला कि नहोला भन्ने चासो र चिन्ता रविमा देखिन्छ। 

नेता गणेश पराजुली पनि मन्त्री छनोटमा रविकै मुख्य भूमिका हुने संकेत गर्छन्।

उनी भन्छन्, ‘गल्ती गर्ने छुट छैन। हाम्रो पार्टीको दस्तावेज, करारनामा र प्रतिबद्धतालाई मार्गचित्र मानेर अगाडि बढ्न सभापतिले निर्देशन दिनुभएको हो। मन्त्री चयनमा सभापतिले वरिष्ठ नेता र सचिवालयमा सल्लाह गर्नुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad