नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले आफूले यो कुरा पहिल्यैदेखि भन्दै आए पनि कांग्रेसका नेताहरूले बुझ्न नसकेको जिकिर गरेका छन्। ‘भाद्र २३-२४ को घटनापछिको कांग्रेसको पहिलो कार्यसम्पादन समितिको बैठकमा भनेको थिएँ- यो पहिलो एपिसोड हो, दोस्रो एपिसोड बाँकी छ। जुनसुकै रूपमा दोस्रो एपिसोड आउन सक्छ। त्यसको सामना गर्न तयार रहनुपर्छ,’ गुरुङले लेखेका छन्, ‘तर, यस विषयमा पदाधिकारी, पूर्वपदाधिकारी एवं वरिष्ठतम नेताहरूलाई ज्ञानको अभाव भयो कि!’
आफूले भनिरहँदा कतिपय नेताले बुझ्नै नचाहेको र कतिपय नेताको पदको महत्त्वाकांक्षले थिचिएको मानसपटलले बुझ्न नसकेको उनको भनाइ छ। ‘मैले भनेझैँ दोस्रो एपिसोड फागुन २१ निर्वाचनको रूपमा आयो। धेरैलाई थाहै भएन, यो भाद्र २३-२४ को दोस्रो एपिसोड हो,’ गुरुङले भनेका छन्।
आफूले ‘चुनाव लडौँ कि कसो गरौँ?’ भनेर सोध्ने केही नेताहरूलाई नलड्न सुझाएको पनि नेता गुरुङले बताए। ‘किन कि यो भाद्र २३-२४ को दोस्रो एपिसोड हो भन्ने कुरामा म दुबिधामा थिइनँ,’ उनले भनेका छन्।
आफूलाई सोधेर पनि चुनाव लड्ने नेताहरू हारेको बताउँदै गुरुङले अब चुकचुकाउनुको कुनै अर्थ नभएको जिकिर गरेका छन्। ‘राजनीतिमा विभिन्न घटनाक्रमहरू देखा पर्नु स्वाभाविक नै मानिन्छ। तर सम्भावित घट्नाको आकलन गर्न नसक्नु नेतृत्वको अदूरदर्शिता हो,’ उनले लेखेका छन्, ‘अझ भाद्र २३-२४ को दोस्रो एपिसोड आउँछ भनेर मैले बैठकहरूमा पटक-पटक भन्दा पनि यसबारे अनभिज्ञता प्रदर्शन गर्नु मूर्खताको पराकाष्ठा नै हो।’
चुनावअघि कांग्रेसको घरमा आगो लगाएको भन्दै पार्टीको सर्मनाक हार भएको उनको भनाइ छ। उनले लेखेका छन्, ‘अनि चुनाव त भन्यौँ तर चुनावको समयमा हामी आफै कांग्रेसको घर जलाएर आगो ताप्न थाल्यौँ। यी यावत कारणहरू हुन्- पार्टीको सर्मनाक हार।’
बीपी कोइरालाको अनुयायी भन्नेले निर्वाचनमा सर्मनाक हार बेहोरेकामा जिम्मेवारी लिन तयार नभएको भन्दै गुरुङले आलोचना गरेका छन्। ‘सामाजिक सञ्जालका भित्ता रङ्गाएर लाज छोपिन्न। लाज हरायो भन्दैमा बाटोमा निर्वस्त्र हिँड्नु हुँदैन। किनकि देख्नेलाई लाज हुन्छ,’ गुरुङले लेखेका छन्।
Shares

प्रतिक्रिया