राजनीति


कांग्रेस समानुपातिक विवाद: गगनले अर्जुनलाई रोज्दा पहिलो नम्बरका दलित, थारू र मुस्लिम छुटे

पिछडिएको क्षेत्रमा मनोमानी भएको भन्दै उजुरी दिने तयारी
कांग्रेस समानुपातिक विवाद: गगनले अर्जुनलाई रोज्दा पहिलो नम्बरका दलित, थारू र मुस्लिम छुटे

नेपालखबर
चैत २, २०८२ सोमबार १७:३, काठमाडौँ

नेपाली कांग्रेसमा २० जना समानुपातिक सांसद छनोट गर्दा विवाद देखिएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५ महिला र ५ जना पुरुषतर्फका समानुपातिक बन्दसूचीमा रहेको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाएको सूचीमा विवाद देखिएको हो। 

गत पुस १५ मा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा बुझाएको ११० जना उम्मेदवारको समानुपातिक बन्दसूचीबाट २० जना सांसदको छनोट गरी वर्तमान सभापति गगन थापाले निर्वाचन आयोगमा पठाउँदा भद्रगोल देखिएको छ। कांग्रेसले खस-आर्य महिलातर्फ सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलियाको नाम सिफारिस गरेको छ भने पीछडिएको क्षेत्रबाट कालीबहादुर सहकारी र खसआर्य पुरुषतर्फ अर्जुननरसिंह केसीले मौका पाएका छन्।

यस्तै आदिवासी जनजातितर्फको ६ जनाको कोटामा महिलातर्फ गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम सिफारिस हुँदा पुरुषतर्फ भीष्मराज आङ्देम्बे र अपांगता भएका व्यक्तिबाट मदन कृष्ण श्रेष्ठलाई छनोट गरिएको छ। मधेसी क्लस्टरबाट महिलातर्फ निनुकुमारी कर्ण, रेखाकुमारी यादव र पुरुषतर्फ चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ।

दलित क्लस्टरबाट तीनै जना महिलाको नाम सिफारिस भएको छ। जसमा हरिनादेवी कामी, पवित्रा विक र मन माया विकको नाम सिफारिस सूचीमा राखिएको छ भने थारू क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिम क्लस्टरबाट शाहजान खातुनको नाम आयोगमा पठाइएको छ। 

कोशी प्रदेशबाट झापाकी सुशीला ढकाल, मन माया विक, मोरङकी रुक्मिणीदेवी कोइराला, प्रमिलाकुमारी गच्छदार, ताम्लेजुङकी गीताकुमारी सेन्दाङ, सोलुखुम्बुकी रीना उप्रेती, गीता गुरुङ र पाँचथरका भीष्मराज आङ्देम्बे गरी ८ जनाको नाम सिफारिस भएको छ। मधेस प्रदेशबाट मोहत्तरीकी निनुकुमारी कर्ण, रेखाकुमारी यादव र धनुषाका चन्द्रमोहन यादव र रौतहटकी शाहजान खातुनको नाम छ।

बागमती प्रदेशबाट नुवाकोटका अर्जुननरसिंह केसी, धादिङकी सीता थपलिया, मकवानपुरकी पवित्रा विक, भक्तपुरकी गंगालक्ष्मी अवाल र मदनकृष्ण श्रेष्ठ गरी ५ जनाले मौका पाएका छन्। गण्डकीबाट बाग्लुङकी रेनुका काउचाको नाम पर्दा लुम्बिनी निल भएको छ। 

कर्णाली प्रदेशबाट कालिकोटका कालीबहादुर सहकारी र सुदूरपश्चिम प्रदेशबाट डडेल्धुराकी हरिनादेवी कामीको नाम छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट एक-एक जनाको नाम परेको छ। 

चैत १ मा पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सातै प्रदेश समेट्ने गरी क्लस्टरको पहिलो नम्बरमा रहेकाहरूलाई प्राथमिकता दिन केही पदाधिकारीले प्रस्ताव राखेका थिए। सभापति थापाले उक्त प्रस्ताव अनुसार निर्णयमा लिने बचन पनि दिएका थिए। तर, निर्णय लिँदा विशेष महाधिवेशनमा आफ्नो पक्षमा उभिएकाहरूलाई सांसद बनाउन लाग्दा कोशी प्रदेशबाट ८ जना सांसद बन्ने अवस्था बनेको एक पदाधिकारीले बताए। लुम्बिनीबाट कांग्रेसले एक जना पनि समेटेन। 

ती पदाधिकारीले भने, ‘मैले सबै प्रदेशबाट कम्तिमा एक जना समेट्ने गरी जानुपर्छ भनेर प्रस्ताव गरेको थिएँ। सभापतिले राम्रो हुन्छ पनि भन्नु भएको थियो। उहाँलाई कसले घुमायो थाहा छैन। एउटै प्रदेशबाट ८ जना सांसद बन्दा कुनै प्रदेशमा सांसद बन्ने निश्चित भएकोहरूको नाम पनि काटियो।’ 

मोरङको क्षेत्र नम्बर ६ बाट रुक्मिणीदेवी कोइराला र प्रमिलाकुमारी गच्छदार सांसद बन्दा लुम्बिनी प्रदेशका १२ जिल्ला समानुपातिक सांसदमा निल भएको उनको भनाइ छ। 

कांग्रेसले बुझाएको समानुपातिक सांसदको बन्दसूचीमा पीछडिएको क्षेत्रमा विद्यादेवी तिमिल्सिना र हजारी नेपाली वादी महिलातर्फ छन् भने पुरुषतर्फ मुगुका भीमबहादुर तिरुवा र हुम्लाका ताराबहादुर लामा उम्मेदवार छन्। तर, कांग्रेस सभापति थापाले विशेष महाधिवेशनमा साथ दिएका सहकारीलाई सांसद बनाउन पीछडिएको क्षेत्रमा उम्मेदवारी नदिएका पीछडिएको क्षेत्र (कालिकोट) का सहकारीको नाम सिफारिस गरेका छन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका सहकारीलाई सांसद बनाउन खोज्दा दलिततर्फ पुरुषको पहिलो नम्बरमा रहेका मानबहादुर नेपालीलाई छुटाइएको छ।

देउवा समूहका पूर्व केन्द्रीय सदस्य नेपालीलाई रोक्दा कांग्रेसमा दलितबाट पुरुष सांसद नहुने अवस्था बनेको छ। दलितबाट हरिनादेवी कामी, पवित्रा विक र मन माया विकको नाम आयोगमा पुगेको छ। पाँच जना पुरुषमा सहकारीलाई समेट्दा खस-आर्य महिलातर्फ पाँच नम्बरमा रहेकी रुपन्देहीकी गंगा शाहीको नाम काटिन पुगेको छ। निर्वाचन आयोगले कांग्रेसका सांसदको नाम सार्वजनिक गरेपछि पीछडिएको क्षेत्रकी उम्मेदवार विद्यादेवी तिमिल्सिना उजुरी दिने तयारी छ।

सभापति थापाले पटक पटक अवसर पाएका अर्जुन नरसिंह केसीलाई खसआर्यबाट सांसद बनाउँदा देउवा समूहबाट दलित कलस्टरको पहिलो नम्बरमा रहेका नेपाली, थारू क्लस्टरको पहिलो नम्बरमा रहेका मिनराज चौधरी, मुस्लिमतर्फ पहिलो नम्बरमा रहेका अमिल अख्तर मियालाई छुटाइएपछि कांग्रेसमा विवाद उत्पन्न भएको छ। समानुपातिक उम्मेदवारको बन्दसूची बनाउँदा केसीको नाम खस-आर्यको पहिलो नम्बरमा राखिएकोमा तत्कालीन महामन्त्री थापामाथि प्रश्न उठेको थियो। सभापति थापाले त्यतिबेला केसीलाई आफ्नो चाहनाविपरीत समानुपातिक सूचीमा राखिएको प्रस्टीकरण दिएका थिए।

‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु- यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो,’ उनको भनाइ थियो। 

अहिले समानुपातिक बन्दसूचीबाट २० सांसदको नाम निर्वाचन आयोगमा बुझाउँदा थापाले आफ्नो ‘चाहना विपरीतको निर्णय’ रोक्न चाहेनन्। दलित, थारू र मुस्लिम क्लस्टरको पहिलो नम्बरमा रहेका पुरुष उम्मेदवारलाई छुटाएर केसीको नाम सभापति थापाले आयोगमा पठाएका छन्। 

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको राजनीति थालेका केसी बीचैमा पञ्चायतमा पसेका थिए। २०३८ सालमा राष्ट्रिय पञ्चायतमा पहिलो चुनाव जितेर उनी राज्यमन्त्री समेत भए। २०४३ सालमा दोस्रोपटक भएको पञ्चायतकै चुनाव हारेपछि २०४५ सालमा जिल्ला पञ्चायतको सभापति भए। २०४६ सालपछि कांग्रेस फर्किएका केसीले सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीको विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरिसकेका छन्। 

२०४८ र २०५१ सालको निर्वाचनमा उनी नुवाकोटबाट निर्वाचित भएका थिए। २०६४ सालमा पराजित उनी २०७० सालको चुनाव जितेर तेस्रो पटक संसदमा पुगे। २०७४ सालमा नुवाकोट-१ बाट पराजित केसी २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य भएका थिए। 

शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवं सहरी विकासमन्त्री भएका केसी पाँचौ पटक संसदमा पुगेका छन्। कांग्रेसबाट चार पटक चुनाव जितेका र दुई पटक चुनाव हारेका उनी अहिले समानुपातिकबाट सांसद बनेका छन्। २०७९ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति, थारू, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेकालाई पन्छाएर खस-आर्यबाट डा. प्रकाशशरण महतलाई रोजेका थिए। 

सभापति थापाले दलित, थारू र मुस्लिम समुदायकको पहिलो नम्बरमा रहेका र पीछडिएको क्षेत्रबाट उम्मेदवार नरहेकाको नाम पठाउँदा विवाद देखिएको छ। कांग्रेसका समानुपातिक सांसदमा सिफारिस भएका केसी पार्टी सभापति गगन थापाका ससुरा हुन् भने चन्द्रमोहन प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन्।

यस्तै कांग्रेसबाटै खसआर्य महिलातर्फ कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती सांसद सिफारिस भएकी रीना उप्रेतीको नाम सिफारिस हुँदा मधेसी कोटामा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी निनुकुमारी कर्णले मौका पाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad