राजनीति


चुनावी अभियानबाट महावीरले बचाए साढे २७ लाख, बचत रकमबाट सदरमुकाममा सेवा दिने

चुनावी अभियानबाट महावीरले बचाए साढे २७ लाख, बचत रकमबाट सदरमुकाममा सेवा दिने

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार २०:१९, काठमाडौँ

नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब २७ लाख रुपैयाँ बचत गरेका छन्। 

चुनावमा जम्मा भएको चन्दा रकमबाट उनले खर्च गरेर सो रकम बचत रहेको जानकारी दिएका हुन्।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ विभिन्न दाताहरूबाट कुल ५६ लाख ३७ हजार ८९३ आम्दानी भएको बताएका छन्। ४५ दिन लामो चुनावी प्रचारप्रसारका क्रममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अझै पनि बैंक खातामा २७ लाख ६९ हजार २५ रुपैयाँ बाँकी रहेको उनले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्।

झापा वा काठमाडौं जस्तो सुगम क्षेत्रमा एक घण्टामै धेरै ठाउँ घुम्न सकिने भए पनि म्याग्दीको भूगोल फरक रहेको भन्दै उनले म्याग्दीको भौगोलिक विकटताका कारण चुनावी अभियान चुनौतीपूर्ण रहेको बताएका छन्। 

१० देखि १६ जनाको टोली लिएर ४५ दिनसम्म बिहान ७ बजेदेखि राति १० बजेसम्म खटेर जिल्लाका सबै गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरेको उनले उल्लेख गरेका छन्। 

सोही अवधिमा भएको खर्च कटाएर बाँकी रकम अब जनताको सेवामा खर्च गर्ने उनको योजना छ। बैंकमा बाँकी रहेको उक्त रकम आगामी ५ वर्षसम्म बेनीमा एउटा सम्पर्क कार्यालय सञ्चालन गर्न उपयोग गर्ने पुनले घोषणा गरेका छन्। 

विशेषगरी दुर्गम गाउँघरबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने र विभिन्न प्रक्रियागत झन्झट बेहोर्नुपर्ने सर्वसाधारणलाई लक्षित गरी यो कार्यालय खोल्न लागिएको हो। 

उनका अनुसार कार्यालयमा दुई जना कर्मचारी, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टर जस्ता आवश्यक उपकरणहरू राखिनेछन्। यस कार्यालयले सदरमुकाम आउने जो(कोहीलाई निस्शुल्क रूपमा सामान्य मद्दत र प्रशासनिक सहजीकरण प्रदान गर्ने उनले जानकारी दिएका छन्।

‘यो पैसा बेनीमा ५ वर्षको लागि मेरो सम्पर्क कार्यालय खोलेर गाउँघरबाट सदरमुकाममा सरकारी कामकाजले आउनेहरू र सहयोग चाहिनेहरूलाई निस्शुल्क सामान्य मदत गर्न खर्च गरिनेछ,’ पुनले भनेका छन्।

यो योजना उनले चुनाव प्रचारका क्रममा गाउँ गाउँमा मतदाताहरूसँग गरेको प्रतिबद्धता भएको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad