विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले ‘कम्युनिस्ट पुनर्जागरण अभियान’ प्रस्ताव अघि सारेको छ।
विश्व र नेपालको कम्युनिष्ट आन्दोलन संकटग्रस्त अवस्थामा पुगेको भन्दै सो पार्टीले आजको युगको पुँजीवादसँग लड्न सक्षम वैचारिक, राजनीतिक, संगठनात्मक र वर्ग संघर्षका क्षेत्रमा अनिवार्य विचारको विकासका लागि यस्तो प्रस्ताव अघि सारिएको जनाएको छ।
‘विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलन आज संकटग्रस्त छ। यसका सयौं आयाम र कारण छन् तर मुख्य कारण भने आजको युगको पुँजीवादसँग लड्न सक्षम वैचारिक, राजनीतिक, संगठनात्मक र वर्ग संघर्षका क्षेत्रमा अनिवार्य विचारको विकास नहुनु नै हो,’ सो पार्टीले अघि सारेको ‘कम्युनिस्ट पुनर्जागरण अभियान’ प्रस्तावमा भनिएको छ, ‘आज विश्वव्यापी रुपमा कम्युनिस्ट क्रान्तिकारीहरुले आआफ्नो सिर्जनात्मक पहल गरिरहेकै छन्। नेपालमा पनि कम्युनिष्ट क्रान्तिकारीहरूले नवीन पहल अघि बढाउनै पर्दछ।’
नेपाली समाजको रुपान्तरको लागि नेपालको कम्युनिष्ट आन्दोलनको योगदान आफ्नो सापेक्षतामा शानदार रहँदै आएको ठहर पनि सो पार्टीले गरेको छ।
‘पञ्चायत व्यवस्थालाई धुलो पार्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र गणतन्त्रात्मक अग्रगामी परिवर्तनसम्म ल्याई पुर्याउन विसं २००६ मा कम्युनिस्ट पार्टीको स्थापनादेखि दस वर्षीय जनयुद्ध हुँदै ६२-६३ को जनआन्दोलनसम्म नेपालको कम्युनिष्ट आन्दोलनले ऐतिहासिक बलिदानीपूर्ण दायित्व पूरा गरेकै छ जुन इतिहास गौरवमय छ,’ वैज्ञानिक समाजवादी पार्टीले भनेको छ, ‘तर आज यो आन्दोलन टिठलाग्दो स्तरमा संकटग्रस्त छ। अर्को यथार्थ के हो भने विश्वव्यापी पुँजीवादले सिर्जना गरेको समस्या र नेपालमा साम्राज्यवादद्वारा पालितपोषित दलाल पुँजीवादले कहर मच्चाएको समस्या समाधानका निम्ति कम्युनिस्ट विचारधारा र वैज्ञानिक समाजवादी समाज व्यवस्थाबिना सम्भव छैन।’
यस्ताे छ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रस्ताव
‘कम्युनिस्ट पुनर्जागरण अभियान’ प्रस्ताव
१.प्रस्तावना
२. उद्देश्य
(क) आजको युगको पुँजीवादलाई परास्त गर्न आवश्यक विचारधारात्मक राजनीतिक कार्यदिशा विकास गर्ने ।
(ख) राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न सङ्घर्ष गर्ने ।
(ग) साम्राज्यवादी सबै हर्कतका विरुद्ध विश्वव्यापी र नेपालका मामला विरुद्ध संघर्ष गर्ने । विश्वव्यापी र नेपालमा साम्राज्यवाद विरोधी मोर्चाबन्दी गर्न क्रियाशील हुने ।
(घ) नेपालमाथि लादिएका एमसीसी, सन् १९५० को सन्धि लगायतका असमान र अपमानजनक सन्धि सम्झौता खारेजीको निम्ति संघर्ष गर्ने ।
(ङ) माक्र्सवाद– लेनिनवाद –माओवाद÷विचारधाराप्रति सैद्धान्तिक रुपमा प्रतिबद्ध हुँदाहुँदै पनि व्यवहारमा प्रकट हुनपुगेका गैरमाक्र्सवादी विचार, व्यवहार र संस्कृतिलाई त्याग्दै पुन–संस्कार हुन व्यवस्थित नीतिगत र संरचनागत प्रणाली स्थापित गर्ने ।
(च) झापा विद्रोह, जनयुद्ध लगायत नेपालको कम्युनिष्ट आन्दोलनको योगदान र गौरव नयाँ पुस्तामा सञ्चार गर्ने ।
(छ) नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने लक्ष्य हासिल गर्ने ।
३. कम्युनिस्ट नवजागरण अभियानको ठोस कार्यक्रम
(क) संगठनात्मक क्षेत्रमा
१) मार्क्सवाद–लेनिनवाद–माओवाद÷विचारधारालाई पथप्रदर्शक सिद्धान्त स्वीकार गर्ने कम्युनिस्ट पार्टीहरू समान हैसियतमा सम्मिलित भई ‘नेपाल कम्युनिस्ट संघ’ गठन गर्ने ।
२) ‘नेपाल कम्युनिस्ट संघ’ परम्परागत कार्यगत एकता वा संयुक्त मोर्चाको अवधारणामा थप विकाससहितको संयुक्त मोर्चाको ढाँचा हुनेछ । ३) ‘नेपाल कम्युनिस्ट संघ’ मा आबद्ध पार्टीहरू घटकका रूपमा रहनेछन् । प्रत्येक घटकबाट समान संख्यामा प्रतिनिधि रहनेछन् । घटकीय प्रतिनिधित्वमा पार्टी प्रमुख र एक महिला अनिवार्य हुनेछ ।
४) ‘नेपाल कम्युनिस्ट संघ’ स्थानीय तहसम्म गठन गर्ने नीति लिइनेछ ।
५) ‘नेपाल कम्युनिस्ट संघ’ को प्रत्येक तहको संयोजक घुमन्ते प्रणालीमा आवधिक रूपमा घटक पार्टीका सम्बन्धित तहका प्रमुख बन्नेछन् ।
६) नेपाल कम्युनिस्ट संघले प्रत्येक वर्ष राष्ट्रिय महाधिवेशन गर्नेछ । राष्ट्रिय महाधिवेशनलाई ध्रुवीकरण महाधिवेशन भनिनेछ । महाधिवेशन प्रतिनिधि घटकहरूको सहमतिमा तय गरिनेछ । ध्रुवीकरण महाधिवेशनमा मतदानद्वारा निर्णय गरिने छैन । दुई पक्ष, बहुपक्ष र सर्वसहमतिका आधारमा निर्णयहरु लिइनेछन् । निर्णयमा सहमत पक्षहरू मात्र त्यो निर्णय लागू गर्न बाध्य हुनेछन् । सर्वसहमतीबाट निर्णय हुन नसकेका दस्तावेज कम्युनिस्ट आन्दोलनको सम्पत्तिको थप बहसका निम्ति लगिनेछ ।
७) तीन वटा महाधिवेशनसम्ममा सम्भव ध्रुवीकरण प्राप्त गर्ने लक्ष्य राखी काम अघि बढाइने छ ।
(ख) वैचारिक क्षेत्रमा
१) हरेक वर्ष हुने ध्रुवीकरण महाधिवेशनमा प्रत्येक घटकले वा बहुघटकले साझा दस्तावेजहरु प्रस्तुत गर्ने र नयाँ सैद्धान्तिक साझा संश्लेषणमा पुग्न प्रयत्न गर्ने ।
२) ध्रुवीकरण महाधिवेशनमा सहमतिका आधारमा दस्तावेज पारित गर्ने । सर्वसम्मतिबाट पारित दस्तावेज सबै घटकको सम्बन्धित विषयको कार्यदिशा बन्नेछ । दुई वा बहु घटकबीच बन्ने सहमति उनीहरूको साझा कार्यदिशा बन्नेछ छ ।
३) सांस्कृतिक रूपान्तरण र पुनःसंस्कार सम्बन्धी न्यूनतम आचारसंहिता निर्माण गरी सबै घटकले लागू गर्ने ।
४) कम्युनिस्ट मान्यताहरू व्यापक रूपमा नयाँ पुस्तामा प्रचार गर्न साझा कार्ययोजना लागू गर्ने ।
५) संघमा आबद्ध प्रत्येक घटकबीच आलोचनाको स्वतन्त्रता सम्बन्धी विधि बनाई लागू गर्ने ।
(ग) सङ्घर्षका क्षेत्रमा
१) ‘कम्युनिस्ट पुनर्जागरण अभियान’ अन्तर्गत ‘नेपाल कम्युनिस्ट संघ’ मा आबद्ध घटकहरुले साझा तोकिएका सङ्घर्षका विषयमा ‘नेपाल कम्युनिस्ट संघ’ कै नेतृत्वमा सङ्घर्ष गर्ने, ती साझा सहमतिका विषयमा आआफ्नो घटकबाट संघर्षका वा अन्य कार्यक्रम नगर्ने ।
२) ‘नेपाल कम्युनिस्ट संघ’ को साझा विषयबाहेकका मुद्दामा घटकहरू आआफ्नो कार्यक्रम गर्न स्वतन्त्र रहने ।
यो ‘कम्युनिस्ट पुनर्जागरण अभियान’ तीन वर्षीय संयुक्त मोर्चाको विशिष्ट कार्ययोजना हुनेछ । यसले तीन वर्षभित्र नेपालको कम्युनिस्ट आन्दोललाई नयाँ आधारमा नयाँ एकता हासिल गर्ने मूल लक्ष्यलाई प्राप्त गर्नेछ । यस अवधिमा तोकिएको उद्देश्य हासिल गर्न सबैले योजनाबद्ध काम गर्नुपर्दछ । घटकहरुले थप छलफल र सहमतिमा यस प्रस्तावलाई थप परिमार्जन गर्दै जानु पर्दछ ।
प्रस्तावक
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल
Shares

प्रतिक्रिया