नेपालमा जारी आम निर्वाचन र यहाँको 'जेनजी' लहरलाई विश्वका प्रभावशाली सञ्चारमाध्यमहरूले प्रमुखताका साथ कभरेज गरेका छन्। विशेषगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को 'र्यापर' पहिचान र युवा मतदाताको उत्साहलाई अन्तर्राष्ट्रिय मिडियाले बढी रुचि देखाएका हुन्।
कतारस्थित अलजजिराले बालेन शाहको मतदानलाई लिएर ‘र्यापर टर्न्ड पोलिटिसियन भोट्स इन नेपाल इलेक्सन’ (राजनीतिज्ञ बनेका र्यापरद्वारा नेपालको निर्वाचनमा मतदान) शीर्षकमा समाचार प्राथमिकताका साथ राखेको छ।
भारत, अमेरिका र बेलायतका प्रमुख अनलाइन पोर्टलहरूले पनि बालेनलाई ‘र्यापर’ विशेषणसहित नै चिनाएका छन्।
बीबीसीको विश्लेषण
बीबीसी विश्व समाचारले आफ्नो 'अप्टिमो' सिस्टममार्फत नेपालको चुनावको विस्तृत लाइभ ब्लगिङ गरेको छ। 'अब्जेक्ट-बेस्ड' यो प्रणालीमार्फत पत्रकारहरूले फिल्डबाटै तत्काल फोटो, भिडियो र विश्लेषण अपडेट गरिरहेका छन्।
बीबीसीको लाइभ ब्लगमा विश्लेषक अमिस मुल्मीले नेपालको निर्वाचनलाई त्रिकोणात्मक भू-राजनीतिक स्वार्थसँग जोडेका छन्। "नयाँ बन्ने सरकारले चीनसँगको संलग्नता कम गरोस् भन्ने चाहना अमेरिकाको देखिन्छ," उनको विश्लेषण छ। चीन, भारत र अमेरिकाका लागि नेपालको यो चुनावी नतिजा फरक-फरक कारणले महत्त्वपूर्ण रहेको बीबीसीले उल्लेख गरेको छ।
भारतले पछिल्लो दशकमा नेपालसँगको आर्थिक संलग्नतालाई अझ गहिरो बनाएको उल्लेख गर्दै बीबीसीले भनेको छ, 'सत्तामा जोसुकै आए पनि कनेक्टिभिटी र आर्थिक सहकार्य जारी रहनेछ भन्ने उसको आशा हुनेछ। पुराना दलहरूले नियमित रूपमा गर्दै आएको भारत-विरोधी पपुलिज्मको सीमालाई नयाँ दलहरूले बुझ्नेछन् भन्ने पनि भारतले अपेक्षा हुनेछ।'
युवा सहभागिता
भारतको प्रतिष्ठित टाइम्स अफ इन्डिया (टीओआई) ले आफ्नो 'कोलम्बस' सीएमएस प्रयोग गरी हरेक ५ मिनेटमा नेपालको चुनावी अपडेट गरेको छ। टीओआईले काठमाडौँ क्षेत्र नं. ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सिनाको भनाइ उद्धृत गर्दै यस पटक युवाहरूको सहभागिता अभूतपूर्व रहेको उल्लेख गरेको छ।
यद्यपि, काठमाडौँबाटै प्रकाशन हुने र विगतमा नेपालबारे विस्तृत कभरेज गर्ने न्युयोर्क टाइम्स र चीनको ग्लोबल टाइम्सले भने मतदान प्रक्रियाबारे अहिलेसम्म कुनै सामग्री प्रकाशित गरेका छैनन्।
एबीसी न्युज, योमोरी सिम्बुन र सीएनएन जस्ता सञ्चारमाध्यमहरूले भने रोयटर्स, एएफपी र एएनआई जस्ता समाचार एजेन्सीका सामग्रीलाई आधार बनाएर नेपालको अपडेट दिइरहेका छन्।
Shares

प्रतिक्रिया