मौन अवधि सुरु हुन लाग्दा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्भावित परिणाम के होला उत्सुकता उत्कर्षमा पुगेको छ। सुरक्षा निकायहरुले गरेको सर्वेक्षणको आधारमा तयार एक रिपोर्टले नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मुख्य प्रतिस्पर्धा हुने देखाएको छ।
फागुन १८ गते नेपालखबरलाई प्राप्त सर्वेक्षणको रिपोर्टमा प्रत्यक्षतर्फ कांग्रेस र समानुपातिकमा रास्वपा पहिलो हुने उल्लेख छ। प्रत्यक्षतर्फ कांग्रेस ४१ सिटमा अगाडि र ७ सिटमा तलमाथि हुने अवस्थामा छ। कांग्रेसले समानुपातिकमा २०–२५ लाख मत पाउने उल्लेख छ।
यद्यपि, कांग्रेसले चाहिँ आसन्न निर्वाचनमा प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्ने र समानुपातिकतर्फ मत बढ्ने आन्तरिक विश्लेषण गरेको छ।
कांग्रेसले गत निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको थियो। गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपासँग गठबन्धन गरी प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा मात्र उम्मेदवारी दिएको थियो। आसन्न निर्वाचनमा कांग्रेसले आन्तरिक सर्वेक्षणमा प्रत्यक्षतर्फ ५० सिट आसपास र समानुपातिकमा ३० लाख आसपास मत प्राप्त गर्ने आकलन गरेको छ।
अहिले १६५ क्षेत्रमै उम्मेदवारी दिएको कांग्रेस प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्नेमा आशावादी देखिएको हो। सोमबार कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भने प्रत्यक्ष र समानुपातिकमा कांग्रेस पहिलो बन्ने दाबी गरे।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चुनावी दौरानमा सातै प्रदेशका विभिन्न जिल्ला पुगेर आएको छु। नेपाली कांग्रेसमा देखिएको ऊर्जा, बढेको जाँगर र जनताको बढेको विश्वासले फागुन २१ को निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा आउँदैछौँ। प्रत्यक्षबाट पनि आउँदैछ, समानुपातिकबाट पनि आउँदैछ।’
वडादेखि केन्द्रसम्ममा रहेका अन्य दलका नेता–कार्यकर्ताको प्रवेशले कांग्रेसमा उत्साह थपिएको उनको भनाइ छ।
‘कसले जित्नेभन्दा पनि कसले सम्हाल्ने भन्ने कुरा हो। त्यो सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अगाडि बढिरहेको छ,’ कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक शर्मा भन्छन्।
चुनावी रिपोर्टमा प्रत्यक्षतर्फ पहिलो दल बन्न कांग्रेससँग रास्वपाको कडा प्रतिस्पर्धा रहेको पछिल्ला विश्लेषणहरूले देखाएको छ। सुरक्षा निकायहरुले गरेको सर्वेक्षण रिपोर्टमा १६३ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको रास्वापा ३५ सिटमा अगाडि छ भने ३ सिट तलमाथि हुने देखिएको छ।
यद्यपि प्रत्यक्षतर्फ ६० भन्दा बढी सिट र समानुपातिकतर्फ ६० लाख मत ल्याउने रास्वपाको पछिल्लो आन्तरिक विश्लेषण छ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको देशव्यापी चुनावी अभियानपछि आफ्नो पक्षमा माहोल झन् बढेको रास्वपाका नेताहरूको विश्लेषण छ। गत निर्वाचनमा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको रास्वपा यसपाली उस्तै परे बहुमत नै प्राप्त हुनेमा आशावादी सुनियो।
रास्वपाका नेता विराजभक्त श्रेष्ठले भने, ‘लहर परिवर्तनको पक्षमा देखिएको छ। परिणाम नआउँदासम्म भन्न सकिँदैन। चुनौती र अवसरको अवस्थामा पुगेका छौँ। बहुमत भेट्छ भन्नेमा आशावादी छौँ।’
पुराना राजनीतिक दलले केही ठाउँमा तालमेल गर्ने देखिएको भन्दै यसलाई मतदाताले कसरी लिन्छन् भन्ने कुराले पनि परिणाम तय हुने श्रेष्ठको भनाइ छ।
यता एमालेको प्रत्यक्षतर्फ सिट र समानुपातिक मत घट्ने सुरक्षा निकायहरुले गरेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ। सर्वेक्षण रिपोर्टमा एमालेले प्रत्यक्षमा ३४ सिट जित्ने आकलन छ भने समानुपातिकमा ५ देखि ८ लाख मत गुमाउने देखिन्छ। गत निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जित्दा समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत पाएको थियो। तत्कालीन पाँच दलीय गठबन्धनको मुकाबिला गरेको एमाले अहिले सबै दल एक्लाएक्लै चुनावी मैदानमा हुँदा पनि रक्षात्मक देखिएको रिपोर्टले देखाउँछ। एमाले अध्यक्ष केपी शर्मा ओली भने एमाले प्रमुख दल बन्ने दाबी गर्छन्।
‘भरसक हाम्रो बहुमत नै आउन सक्छ। यदि आएन भने हामी उल्लेख्य सिट संख्याका साथ प्रमुख पार्टी हुन्छौँ। यसमा म ढुक्क छु,’ उनले नेपालखबरसँग भने।
यद्यपि, एमालेको आन्तरिक विश्लेषणमा भने प्रत्यक्षतर्फ सिट बढ्ने र समानुपातिकतर्फ केही मत घट्ने देखिन्छ। प्रत्यक्षतर्फ ५० आसपास सिट जित्ने र समानुपातिकमा मत घटेपनि २३ लाखभन्दा तल नझर्ने एमालेको आन्तरिक आकलन छ। यो विश्लेषणबाट एमालेले ७५ सिट आसपास परिणाम निकाल्ने आकलन गरेको छ।
१९ वटा राजनीतिक दल र दलहरूबाट फुटेका समूह जोडिएर बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) २३ सिटमा अगाडि देखिन्छ भने ३ सिट तलमाथि हुन सक्ने सुरक्षा निकायहरुले गरेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ। १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको नेकपाले प्रत्यक्षतर्फ सिट र समानुपातिकमा मत बढ्ने आन्तरिक विश्लेषण गरेको छ। नेकपाले प्रत्यक्षतर्फ ३८ सिट र समानुपातिकमा १७ लाख आसपास भोट ल्याउने आन्तरिक विश्लेषण गरेको छ।
२०७९ को चुनावमा कांग्रेससहित पाँच दलीय गठबन्धनमा सामेल तत्कालीन माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिएको थियो। जसमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा ११ लाख ७२ हजार मत पाएको थियो। अहिले नेकपामा रहेको तत्कालीन एकीकृत समाजवादीले गठबन्धनमार्फत प्रत्यक्षमा १० सिट जित्दा समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन। एकीकृत समाजवादीले समानुपातिकमा पाएको २ लाख ९८ हजार ३९१ मतको गणना भएन।
फागुन २१ को निर्वाचनमा कुनै पनि दलले बहुमत नपाउने निष्कर्षमा रहेको नेकपा पनि आफू पहिलो दल बन्न सक्ने दाबी गर्छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोमबार नेपालखबरसँग भने, ‘कसैको बहुमत आउने अवस्था म देख्दिनँ। यो चुनावमा हाम्रो पार्टी, नेपाली कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। हामी पहिलो पार्टी बन्छौँ। हामी उत्साहित छौँ।’
प्रमुख चार दलको सर्वेक्षण र दाबीमा तादम्यता देखिँदैन। त्यसमाथि अन्य दलका नेता र क्षेत्रगत प्रभाव कायमै छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी लगायतले केही ठाउँमा प्रमुख दललाई चुनौती दिएको सुरक्षा निकायहरुले गरेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७–१० सिट जित्ने सर्वेक्षण रिपोर्टले देखाउँछ। गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ लाख ८८ हजार ८४९ मत पाएको थियो। सर्वेक्षण रिपोर्ट अनुसार श्रम संस्कृति, उज्यालो नेपाल, जसपा, जनमत, आजपा र स्वतन्त्र उम्मेदवार गरी २० सिट जित्ने देखिन्छ भने ४ सिट तलमाथि हुने उल्लेख छ।
प्रत्यक्षको १६५ सिटका लागि दल र स्वतन्त्र गरी ३ हजार ४ सय ६ जना चुनावी मैदानमा छन् भने समानुपातिकको ११० सिटका लागि ६६ दलबीच प्रतिस्पर्धा छ। चुनावी सर्वेक्षण र दलको दाबीमाथि फागुन २१ गते हुने मतदानबाट फैसला आउने छ।
Shares

प्रतिक्रिया