राजनीति


किन गरेनन् दुई ठूला दलले ठूला आमसभा?

बदलिँदो चुनावी रणनीति कि घट्दो जनसर्थनको डर
किन गरेनन् दुई ठूला दलले ठूला आमसभा?

नेपालखबर
फागुन १७, २०८२ आइतबार १७:५८, काठमाडौँ

निर्वाचनको बेला प्रत्येक राजनीतिक दलले आयोजना गर्ने आमसभालाई उनीहरुप्रति जनताको समर्थन र शक्ति प्रदर्शनको महत्वपूर्ण हिस्साको रुपमा लिईन्छ । तर यस पटक देशका दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनस्तरमा उनीहरुको समर्थन देखिने गरी ठूला आमसभा गरेनन् । 

निर्वाचन प्रचार प्रसारको अन्तिम घडि चलिरहँदासम्म पनि उनीहरुले यस्ता आमसभा गरेका छैनन् । प्रचार प्रसारका लागि बाँकी रहेको दुई दिनभित्र पनि यस्तो आमसभा गर्ने उनीहरुको कुनै योजना छैन । अर्का ठूला दल नेपाली कांग्रेस तथा नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीले समेत देशका विभिन्न स्थानमा ठूला ठूला आमसभा गरेर आफूप्रति मतदाताहरुको आकर्शण देखाइरहँदा दुई ठूला दलले आमसभा किन गनेन त? 

ती दलका नेताहरु आफ्नो चुनावी रणनीति बदलिएको कारण आमसभा आयोजना नगरिएको बताउँछन् । यद्यपी कतिपयले यसलाई उनीहरुले आयोजना गर्ने आमसभामा मतदाताको सहभागिता कम हुने भएकोले पछि हटेको विश्लेषण गरिरहेका छन् । विगतमा शक्ति प्रर्दशनकै लागि भनेर पनि उनीहरुले राजधानी लगायत देशका विभिन्न ठाउँमा धेरै जिल्लाका कार्यकर्ता तथा समर्थक एकै ठाउँ भेला गरेर आमसभा आयोजना गर्थे । 

कतिपयले यस्तो भेलामा सहभागीलाई ‘झोले’ वा ‘भाडामा ल्याईएका समर्थक’ भनेर चर्को खिसिट्यूरी गर्थे । गाडिबाट ओसारिने यस्ता नेता कार्यकर्ताको भेलाले विशेष अर्थ पनि राख्ने गरेको थियो । तर यस पटक एमाले र नेकपाले कुनै पनि स्थानमा यस्तो बृहत्तर सभा गरेनन् । 
के आम जनताको आकर्शण घटेकै कारण ती दलले ठूला आमसभा नगरेका हुन् त? निर्वाचनका लागि एमालेका प्रचार प्रसार विभाग प्रमुख मिनबहादुर शाही भन्छ्न, ‘त्यस्तो कदाचित हैन । हामीले निर्वाचन प्रचार प्रसारको नीति बदलेका हौँ । अहिले हामीलाई अन्य दलजस्तो ठूलो आमसभाको जरुरी पनि छैन । अरुलाई आफूप्रति जनताको ठूलो समर्थन छ भन्ने प्रमाणित गर्न त्यस्ता आमसभा आवश्यक होला । विगतमा यस्ता धेरै वटा आमसभा गरेर आम नेपाली जनताको समर्थन हामीलाई छ भन्ने देखाईसकेका छौँ ।’ 

त्यसो त कतिपय विश्लेषकहरुले गत भदौको जेनजी आन्दोलनपछि पूराना दलहरुप्रति जनसमर्थन नरहेको र ठूला आमसभा आयोजना गर्दा नयाँ भनिएका दलहरु जतिको जनमास उतार्न सम्भव नभएको कारण पनि उनीहरु ठूला आमसभा गर्न हच्किएको बताईरहेका छन् । तर नेकपाका प्रचार प्रसार विभाग प्रमुख अग्नि सापकोटा त्यसमा कुनै सत्यता नरहेको बताउँछन् । ‘स्रोत साधन  र समयको कारण त्यस्ता ठूला आमसभाभन्दा अहिलेको बदलिँदो परिस्थितिमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने देखियो,’ उनी भन्छन्, ‘त्यहीँ भएर हामीले पहिल्यैदेखि ठूला आमसभाभन्दा प्रत्येक जनताको घर दैलोमा पुग्ने र उनीहरुको कुरा सुन्ने रणनीति लियौँ । आमसभा आयोजना गर्दा बृहद ढंगले जनता उतार्न नसक्ने भन्ने कदापी हैन । यो चुनावभन्दा अगाडिका हाम्रा आससभाहरुले नै देखाइसकेको छ ।’ 

जेन जी आन्दोलनपछि मुख्य तारो पुराना पार्टी र वृद्धा नेताहरु बनेका छन् । यद्यपी नेकपा एमालेका शाही अहिले पनि आफ्ना सबै नेता कार्यकर्ता मतदाताहरुकै माझ रहेको उल्लेख गर्दै आफ्नो पार्टी र पार्टीका नेताहरुलाई जनस्तरमा कुनै प्रकारको ‘सुरक्षा थ्रेट’ नरहेको बताउँछन् । एमालेले चुनाव प्रचार प्रसारमा बदलिँदो प्रविधिलाई महत्व दिएको उल्लेख गर्दै शाही अन्य कतिपयलाई जस्तो एमालेलाई जनताबीच हामी को हौँ भन्ने चिनाइराख्न जरुरी नभएको बताउँछन् । 

नेकपाका प्रचार विभाग प्रमुख सापकोटा आफ्ना नेता कार्यकर्ताहरु मतदाताको घरघरमा पुगिरहेको उल्लेख गर्दै ठूला आमसभा आयोजना गरेर ठूलो मास प्रदर्शन गर्नु नै आफूप्रति मतदाताको आकर्शण रहेको प्रमाणित गर्नु नहुने बताउँछन् । प्रतिष्पर्धी दलहरुले ठूला ठूला आमसभा गरेर आफूप्रति बृहत्तर जनसमर्थन रहेको प्रमाणित गर्न खोजिरहेका दल वा घरघर पुगेर मतदाता रिझाइरहेका दलको चुनावी रणनीति प्रभावकारी होला यो भने केहि दिनभित्रै प्रष्ट हुने छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad