राजनीति


कालापानी नजिकका छाङरु र तिंकरका बासिन्दा ‘कुञ्चा’ सरे, खलंगाबाटै गर्नेछन् मतदान

कालापानी नजिकका छाङरु र तिंकरका बासिन्दा ‘कुञ्चा’ सरे, खलंगाबाटै गर्नेछन् मतदान

२०७९ सालको निर्वाचनमा दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ को छाङ्ग्रु र तिङ्करमा हेलिकप्टरबाट निर्वाचन सामग्री लिएर जाँदै सुरक्षाकर्मी। नेपालतिर बाटो नहुँदा छाङ्ग्रु र तिङ्करमा सुरक्षाकर्मी र निर्वाचन सामग्री लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो।


गोकुल जोशी
फागुन १७, २०८२ आइतबार १७:५३, काठमाडौँ

कालापानी क्षेत्र नजिकका सामरिक महत्त्वका दुई बस्ती छाङरु र तिंकर अहिले पूर्णतः सुनसान छन्। मंसिरको चिसो छल्न यहाँका बासिन्दा ६ महिनाका लागि सदरमुकाम खलंगा ओर्लिएपछि गाउँ मानवविहीन बनेका हुन्। गाउँ खाली भएपछि सोमबार हुने मतदानका लागि निर्वाचन आयोगले सदरमुकाममै मतदान केन्द्रको व्यवस्था मिलाएको छ।

व्याँस गाउँपालिका–१ मा पर्ने यी बस्तीका बासिन्दा हिउँदभर पशुचौपायासहित खलंगा बसाइँ सर्ने गर्छन्, जसलाई स्थानीय भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ। गाउँका घरहरूमा ताल्चा लागेका छन् भने विद्यालय र सरकारी कार्यालयका कामकाज पनि अहिले सदरमुकामबाटै भइरहेका छन्।

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीका अनुसार अहिले गाउँमा घर कुर्ने ‘चौकीदार’ बाहेक कोही छैनन्। ‘छाङरु र तिंकरबासी अहिले खलंगामा छन्, चिसो छल्न उनीहरू बर्सेनि यसरी नै झर्ने गर्छन्,’ अध्यक्ष धामीले नेपालखबरसँग भने, ‘पञ्चायतकालदेखि नै यस्तो चलन छ, गाउँमा हुँदा त्यतै र सदरमुकाम झरेका बेला यतैबाट मतदान हुने गरेको छ।’

छाङरु र तिंकरमा ६ सय १९ मतदाता छन्। उनीहरूका लागि सदरमुकाम खलंगामै मतदानको प्रबन्ध मिलाइएको छ। जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीका अनुसार छाङरुस्थित कैलाशवती आधारभूत विद्यालयका ३ सय ७५ र तिंकरको मोती महिला संघ आधारभूत विद्यालयका २ सय ४४ मतदाताले खलंगाबाटै भोट हाल्नेछन्।

"उनीहरू खलंगामा रहेको कैलाशवती र मोती महिला संघ विद्यालयकै भवनमा खडा गरिएको मतदान केन्द्रबाट सहभागी हुनेछन्," प्रमुख धामीले बताए। हिउँदमा गाउँका विद्यालय पनि सदरमुकाममै सञ्चालन हुने भएकाले सोही भौतिक संरचना प्रयोग गर्न लागिएको हो।

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा जारी भएपछि चर्चामा आएका यी बस्तीका बासिन्दालाई आफ्नै सदरमुकाम आउजाउ गर्न अझै पनि भारतीय बाटोको भर पर्नुपर्ने बाध्यता छ। नेपाली भूमिबाटै खलंगा पुग्न चार दिनको जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्छ। तर, भारतले निर्माण गरेको सडक प्रयोग गर्दा एकै दिनमा सदरमुकाम पुगिने भएकाले स्थानीयले भारतीय प्रशासनको अनुमति मागेर आउजाउ गर्ने गरेका छन्।

नेपाली सेनाले महाकाली करिडोरअन्तर्गत बाटो निर्माण गरिरहेको भए पनि चट्टानी भूगोलका कारण छाङरु र तिंकरसम्मको सहज पहुँच अझै जोडिन सकेको छैन।

दार्चुलाभर निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाभरका १ सय १२ मतदान स्थलमा १ सय ४३ स्थायी मतदान केन्द्र तोकिएका छन्। यसबाहेक कैदीबन्दी र कर्मचारीका लागि २ वटा अस्थायी मतदान केन्द्र पनि राखिएको छ। सोमबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले निर्वाचन सामग्रीसहित कर्मचारीहरू मतदान केन्द्रतर्फ खटिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad