राजनीति


आचारसंहिता उल्लंघन भएको भन्दै कांग्रेसले आयोगलाई बुझायो ध्यानाकर्षण पत्र

आचारसंहिता उल्लंघन भएको भन्दै कांग्रेसले आयोगलाई बुझायो ध्यानाकर्षण पत्र

नेपालखबर
फागुन १७, २०८२ आइतबार १५:४८, काठमाडौँ

नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

कांग्रेसले विभिन्न ठाउँमा आचार संहिता उल्लंघन भएको विषयमा आइतबार आयोग कार्यालय पुगेर आचारसंहिता उल्लंघन सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको हो। 

कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेको नेतृत्वमा आयोग गएको टोलीले चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

ती बुँदाहरूमा राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको, निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको रहेका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालसम्म ११ सय भन्दा बढी आचार संहिता उल्लघंनको घटना भएको उजुरी परेको र आयोगले प्रमाण संकलन गरिरहेको बताए। उनले विभिन्न ठाउँमा रकमसमेत बाँडिएको पाइएको भन्दै अध्ययन गरी कारबाही गरिने बताए। 

उनले आचार संहिता उल्लंघनको घटनामा आयोग संवेदनशील रहेको भन्दै कांग्रेसको ध्यानाकर्षणप्रति आभार व्यक्त गरे। उनले स्वच्छ निर्वाचनका लागि आयोग कटिबद्ध रहेको समेत बताए। 

कांग्रेसले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि निर्वाचन आचार संहिता पालना गर्न गराउन ध्यानाकर्षण पत्र बुझाएको हो। 

टोलीमा प्रवक्ता चालिसेसँगै केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी, कांग्रेस युवा नेता मनोजमणि आचार्य, कांग्रेस केन्द्रीय कार्यालयका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलाल, कांग्रेस मिडिया सेन्टरका संयोजक जीवन भण्डारीलगायत सहभागी रहेका थिए।  
  
यस्तो छ कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्रः

नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो। लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ। कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्छ। कांग्रेस विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमानदारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, मानव अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति प्रतिबद्ध रहेको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचार संहिता उल्लंघन गर्दै चुनाव प्रचार–प्रसार गरिरहेका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भइरहेका छन्। यसतर्फ पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि निर्वाचन आचार संहिता पालना गर्न गराउन लिखित रूपमा निम्न विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ।

१) राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको खुलेआम दुरुपयोग गरिरहेको।
२) राजनीतिक दलहरुले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको।
३) निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको।
४) मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad