निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसले संगठन सुदृढीकरण र भ्रातृ सम्बन्ध विस्तारमा आक्रामक रणनीति अख्तियार गरेको छ। मुलुकको जेठो लोकतान्त्रिक दलले पछिल्लो समय अन्य राजनीतिक दलका शीर्ष तहका नेतादेखि कार्यकर्तासम्मलाई भित्र्याउने अभियानलाई तीव्रता दिएको हो।
सत्ता समीकरणको फेरबदल र आगामी निर्वाचनको गणितलाई ध्यानमा राख्दै कांग्रेसले 'घर फर्क' अभियान र ध्रुवीकरणलाई प्राथमिकतामा राखेको छ। ऐतिहासिक रूपमा संकटका बेला मुलुकलाई निकास दिएको दाबी गर्ने कांग्रेसले यसपटक वामपन्थी र नयाँ भनिएका दलहरूबाट असन्तुष्ट समूहलाई समेट्ने प्रयास गरिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले निर्वाचनको मुखमा पार्टीप्रति जनलहर चुलिएको दाबी गरे। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ठूलो संख्यामा कार्यकर्ताहरू कांग्रेसमा समाहित भइरहेको उनले बताए।
प्रवक्ता चालिसेले भने, “रास्वपाका संस्थापक सदस्यदेखि उच्च तहका नेता, प्रदेश सदस्य र हजारौँको संख्यामा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका छन्। यो आँकडा पार्टीको अभिलेखमा सुरक्षित छ। पूर्वमन्त्रीदेखि संविधानसभाका सदस्य र कतिपय जिल्ला कमिटी नै कांग्रेसमा समाहित भएको स्थिति छ ।”
कतिपय जिल्ला सभापतिहरूले पार्टीको आन्तरिक कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएर कांग्रेस प्रवेश गर्नेहरू बढेका हुन्। प्रवक्ता चालिसेले जुनसुकै दलमा रहेका भए पनि लोकतन्त्रप्रति आस्था राख्नेहरूका लागि कांग्रेसको ढोका सधैँ खुला रहेको स्पष्ट पारे।
“निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रतिको आकर्षण चुलिएको छ, हामी सबैलाई लोकतन्त्रको हकदार बनाउन चाहन्छौँ,” चालिसेले थपे, “विभिन्न कारणले घर छाडेका पुराना साथीहरूलाई पनि ससम्मान फर्कन आग्रह गर्दछु, कांग्रेस अब बहुमतको दिशामा अघि बढिसक्यो।”
Shares

प्रतिक्रिया