समाज


मनमैजुको घरभित्रै छिर्‍यो चितुवा, दुई जनालाई झम्टियो, ४ घण्टापछि 'डार्ट' गरेर उद्धार

मनमैजुको घरभित्रै छिर्‍यो चितुवा, दुई जनालाई झम्टियो, ४ घण्टापछि 'डार्ट' गरेर उद्धार

नेपालखबर
फागुन १०, २०८२ आइतबार २०:२०, काठमाडौँ

 

काठमाडौँको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित एक घरमा चितुवा पसेर आतंक मच्चाएको छ। शनिबार अपराह्न स्थानीय अनोजमणि अधिकारीको घरभित्र पसेको चितुवाले दुई जनालाई आक्रमण गरी घाइते बनाएको छ।

पछिल्लो समय काठमाडौँ उपत्यका वरपरका जङ्गलहरूमा डढेलो लाग्ने र मानव अतिक्रमण बढ्दा वन्यजन्तु आहारको खोजीमा बस्ती पस्ने क्रम बढेको छ। तारकेश्वर र नागार्जुन क्षेत्रका जङ्गलबाट चितुवाहरू पटक-पटक मानव बस्तीमा छिरेर पशुचौपाया र मानिसलाई समेत आक्रमण गर्ने गरेका छन्। जङ्गलसँग जोडिएका बस्तीहरूमा सुरक्षा सतर्कताको अभाव र वन क्षेत्रको खुम्चिँदो अवस्थाले यस्ता घटना निम्तिने गरेको विज्ञहरूको तर्क छ।

घरभित्रै झम्टिएपछि भागाभाग
स्थानीयका अनुसार चितुवा एक्कासि अधिकारीको घरको कोठामा पसेको थियो। चितुवाको आक्रमणबाट स्थानीय दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि तत्कालै नजिकैको अस्पताल लगिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी दिँदै भने, “मनमैजु मन्दिर नजिकैको घरमा चितुवा पसेर दुई जनालाई घाइते बनाएको सूचना पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरिएको थियो। घरभित्रै रहेको चितुवालाई वन कार्यालयको प्राविधिक टोलीको सहयोगमा नियन्त्रणमा लिइएको छ।”

४ घण्टा लाग्यो
प्रहरी र वन कार्यालयको टोलीले झन्डै चार घण्टा लामो प्रयासपछि मात्र चितुवालाई नियन्त्रणमा लिन सफल भएको थियो। काठमाडौँ डिभिजन वन कार्यालयका प्राविधिकहरूले चितुवालाई 'डार्ट' (बेहोस बनाउने सुई) हानेर उद्धार गरेका हुन्।

चितुवा नियन्त्रणमा खटिएका एक प्राविधिकका अनुसार, “मानव बस्तीमा छिरेर त्रसित भएको चितुवा निकै आक्रामक थियो। हामीले सुरक्षित तवरले डार्ट गरेर उसलाई बेहोस बनायौँ र थप व्यवस्थापनका लागि जावलाखेलस्थित सदर चिडियाखाना लैजादैछाैँ।”

अहिले मनमैजु क्षेत्रको अवस्था सामान्य भए पनि स्थानीय बासिन्दा त्रसित छन्। साँझको समयमा जङ्गल छेउका बस्तीमा एक्लै नहिँड्न र घरका झ्यालढोका थुनेर बस्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad