एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई 'बनाउने र भत्काउने' शक्तिबीचको जनमतसंग्रहका रूपमा चित्रण गरेका छन्।
फागुन ७ को अवसर पारेर पार्टीको चुनाबी घोषणापत्र सार्वजनिक गर्दै उनले भदौ २३ र २४ का घटनालाई नियोजित हुण्डरीको संज्ञा दिए, जसले मुलुकको लोकतान्त्रिक प्रणाली र संरचनामाथि नै धावा बोलेको उनको जिकिर छ।
भदाै २३, २४ मा ओली प्रधानमन्त्री थिए। आन्दोलनका कारण उनको सरकार ढलेको थियो।
''अहिले सिङ्गो समाज प्रश्नैप्रश्नको घेरामा छ, उनले भने, ''जसरी आममतदाताको हामीसहित स्थापित राजनीतिक दल र नेताहरूप्रति प्रश्न छ, त्यसैगरी मेरा पनि केही प्रश्नहरू छन्।''
यी हुन्, ओलीले सोधेका ४ प्रश्न:
(१) भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो, कि देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो?
(२) भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो? शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो?
(३) भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध? निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो, आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो?
(४) सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा जेनजी प्रदर्शनकारीका कुनै माग थिएनन्। हुँदै नभएको माग पूरा गरेझैं प्रणालीमाथि नै धावा बोल्नेगरी प्रतिनिधि सभाको विघटन किन गरियो? यी र यस्तै अरु धेरै प्रश्नहरू छन्।
यी प्रश्न कसलाई सोधेको हो, उनले खुलाएका छैनन्। भनेका छन्, ‘संविधान, व्यवस्था र हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न हामीले यिनको जवाफ खोज्नै पर्छ।’ प्रश्नको जवाफ कसले दिनुपर्ने भनेर केही उल्लेख गरेनन्।
Shares

प्रतिक्रिया