गत पुस ३० गतेअघि कर्णाली फागुन २१ को चुनावपछि प्रधानमन्त्रीको सम्भावना देखिरहेको थियो। कर्णालीले देखेको यो सम्भावनालाई नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भत्काइदिएको छ।
पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कर्णालीको सुर्खेत निवासी कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको राजनीतिमा ‘पूर्ण विश्राम’ लाग्न पुग्यो। कांग्रेसको तत्कालीन संस्थापन पक्षबाट पार्टी सभापतिको मुख्य दाबेदारका रूपमा हेरिएका पूर्णबहादुरको राजनीतिसँगै कर्णालीले पहिलो प्रधानमन्त्री पाउने सम्भावनामा पनि तत्काललाई पूर्णविराम लागेको छ।
२०३१ सालबाट राजनीतिक यात्रा सुरु गरेका खड्का कांग्रेसको भ्रातृ संस्था नेविसंघको केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म भएका थिए। पार्टी राजनीतिमा कांग्रेस सुर्खेतको सभापति, कांग्रेस केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री र उपसभापतिसम्मको सिँढी उनी सहजै चढेका थिए।

यता सरकारमा पनि युवा तथा खेलकुद (दुई पटक), सञ्चार, उद्योग वाणिज्य, गृह र उपप्रधान तथा रक्षामन्त्रीसम्म बनेका खड्कालाई कर्णालीले प्रधानमन्त्रीको रूपमा हेरेको थियो। खड्का यतिबेला सुर्खेतको चुनावी मैदानमा नगई कांग्रेसको आधिकारिताको विवाद बोकेर रामशाहपथस्थित सर्वोच्च अदालतमा अल्झिएका छन्।
२०४८, २०५१, २०५६ मा सुर्खेत १ बाट चुनाव जितेका खड्का २०६४ सालमा समानुपातिक सांसद बनेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा जितेका खड्का २०७४ मा भने पराजित भोगे। गठबन्धनबाट २०७९ को चुनावमा सुर्खेत १ बाट निर्वाचित उनी अहिले चुनावी मैदानमा छैनन्। खड्काको क्षेत्रमा उनका भाइ विष्णु खड्का कांग्रेसको उम्मेदवार छन्। माओवादीको १० वर्षे सशस्त्र युद्धको आधार इलाका कर्णालीमा पूर्वसहयोद्धाबीचको चुनावी भिडन्तले पनि रौनक थपेको छ।
तत्कालीन माओवादीका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध अहिले तत्कालीन माओवादी नेताहरू नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपा माओवादी र जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी पनि चुनावी प्रतिस्पर्धामा छ। त्रिपक्षीय (नेकपा, कांग्रेस र एमाले) भिडन्त हुने क्षेत्रमा विप्लव र जनार्दनको पार्टीको प्रवेशले चुनावी अंकगणित फेरबदल हुने अड्कल गरिन थालेको छ।
यता नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कर्णालीमा जनाधार निर्माणको रणनीतिक चालबाजी बुनिरहेको छ। रास्वपा आफ्नो चुनावी घोषणापत्र नै कर्णालीको राजधानी सुर्खेतमा सार्वजनिक गर्ने तयारीमा छ। रास्वपाले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको उपस्थितिमा फागुन ७ गते सुर्खेतमा घोषणापत्र सार्वजनिक गरेर कर्णाली प्राथमिकतामा रहेको सन्देश दिन खोजेको छ।
२०७४ र २०७९ को निर्वाचनमा गठबन्धन गरी मतदाताको दैलोमा पुगेका दलहरू एक्लाएक्लै चुनावी मैदानमा हुनुले पनि कर्णालीको परिणाम चासोको विषय बनेको छ। रास्वपाले प्रचार शैलीलाई आक्रामक रूपमा अगाडि बढाउँदा पुराना दललाई विरासत जोगाउने चुनौती थपिएको छ।
दलीय हिसाब–किताब
कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा दुई–दुई र ८ जिल्लामा एक–एक गरी १२ निर्वाचन क्षेत्र छन्। त्यहाँ २०७४ मा एमाले–माओवादी गठबन्धनसँग कांग्रेस र २०७९ मा कांग्रेस–माओवादीसहितको गठबन्धनसँग एमाले निल भएको थियो। २०७४ मा तत्कालीन वाम गठबन्धनमा एमाले ६, माओवादी ५ र एक स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। २०७९ मा कांग्रेस–माओवादीसहितको गठबन्धनमा माओवादी ५, कांग्रेस ४ र एकीकृत समाजवादी ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक सिट जितेको थियो।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेको १ लाख ८३ हजार १३३, कांग्रेसको १ लाख ८० हजार ९०९ र नेकपाको १ लाख ६१ हजार ५१ मत थियो। रास्वपाको २० हजार १६७ मत थियो भने राप्रपाको १९ हजार २६१। बाँकी दलको १० हजार मत कटेको थिएन।
आसन्न निर्वाचनमा कर्णालीका १० लाख ३७ हजार २५० मतदाताले भाग लिँदैछन्। २०७९ मा ९ लाख ८ हजार ४३३ मतदाता रहेको कर्णालीमा १ लाख २८ हजार ८१७ मतदाता थपिएका छन्। गत निर्वाचनमा करिब ६ लाख मत खसेकोमा यसपटक कर्णालीमा साढे ६ लाख मत खस्ने अनुमान छ। त्यो हुँदा करिब ८ जना समानुपातिक सांसद कर्णालीले दिने छ।
फागुन २१ को निर्वाचनका लागि सबै एक्ला–एक्लै मैदानमा हुँदा प्रत्यक्षतर्फ कसले बाजी मार्छ आकलन गर्न कठिन छ। कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही यसपटक कांग्रेसप्रति जनताको आकर्षण देखिएको बताउँछन्।
‘कांग्रेस पुरानो, विश्वासिलो र भरिलो पार्टी हो’, शाहीले भने, ‘कांग्रेस कर्णालीमा पहिलो दल बन्छ।’
संसदीय राजनीतिका स्थापित नेता खड्का र हृदयराम थानीले चुनावी मैदान छाडेपछि गत चुनावमा गठबन्धनको बलमा जितेका ४ सिट जोगाउन हम्मेहम्मे छ। कांग्रेसले हुम्ला, सुर्खेत–१ र जाजरकोट जित्ने आन्तरिक आकलन गरेको छ। सुर्खेत–२, दैलेख– १ र २ डोल्पा, मुगु, सल्यान, कालिकोट र जुम्लामा चुनौतीपूर्ण प्रतिस्पर्धा देखिएको कांग्रेसको बुझाइ छ।
यता एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह सबै दल एक्ला–एक्लै चुनावमा होमिँदा जित्न सहज देखिएको बताउँछन्। सुर्खेत २ र दैलेखका दुवै निर्वाचन क्षेत्र र मुगुमा जित्न सकिने एमालेको आकलन छ। बाँकी क्षेत्रमा प्रतिस्पर्धामा हेरिएको एमाले नेताहरू बताउँछन्। रुकुम पश्चिममा भने एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाएको छ।
नेकपाका नेता कालीबहादुर मल्लले १२ मध्ये ९ वटा निर्वाचन क्षेत्रमा जित्ने दाबी गरे।
‘पूर्वमाओवादीका नेताहरूको कुनै असर पर्दैन। १२ मध्ये ९ निर्वाचन क्षेत्रमा नेकपाको जित हुन्छ,’ मल्लले भने, ‘अन्यमा संघर्ष गरिरहेका छौँ।’
नेकपाले रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोटमा चुनाव जित्ने आकलन गरेको छ।
यस्तै, रास्वपा कर्णाली प्रदेश प्रवक्ता हरिप्रसाद अधिकारीले जनताले परिवर्तनको पक्षमा मत दिने बताए।
‘१२ वटै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवार मजबुत छन्। जनताले पनि मत परिर्वतन गर्न चाहेका छन्,’ उनले भने, ‘सबै निर्वाचन क्षेत्रमा हाम्रा नेताहरू रवि लामिछाने र बालेन शाह जाने कार्यक्रम छ। यसले थप उर्जा थप्नेछ।’
कर्णालीमा ८ सिट जित्ने सुनाए पनि क्षेत्रगत हिसाब तय भइनसकेको रास्वपाको नेताहरूको भनाइ छ।
यस्तै राप्रपा भने कर्णालीका १२ मध्ये जुम्लामा जित दोहोर्याउनेमा ढुक्क देखिन्छ। राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही यसपटक पनि चुनाव जित्नेमा ढुक्क रहेको बताउँछन्। प्रवक्ता शाहीले कर्णालीमा तीन वटा सिटमा जित हासिल गर्न सकिने बताए।
‘जुम्लामा विगतभन्दा यसपटक मेरो पक्षमा जनआधार उर्लिएको छ। राप्रपाले कर्णालीका जुम्ला, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र सल्यान जित्ने सूचीमा छ,’ शाहीले भने, ‘दैलेख–१ मा पनि हाम्रो उपस्थिति बलियो छ। सबै ठाउँमा युवा उम्मेदवारहरू हुनुहुन्छ।’
रुकुम पश्चिममा एमालेको समर्थन पाएका प्रलोपाका जनार्दन शर्मा विरासत कायम राख्नेमा विश्वस्त देखिन्छन् भने कालीकोटमा विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावी मैदानमा छन्। कालीकोटमा उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। राजीनितिक विश्लेषक भने आसन्न चुनावमा पनि कर्णालीमा पूरानै दलको दबदबा देखिएको बताउँछन्।
मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन तथा राजनीतिक विश्लेषक पीताम्बर ढकालले भने, ‘म केही समयअघि पूर्वी नेपालका केही जिल्लाहरूमा कामको सिलसिलामा पुगेको थिए। प्रायः सहरी क्षेत्रहरूमा रास्वपा, राप्रपा लगायतका दलहरूले प्रचार–प्रसार गरेको देखिन्छ। कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाहेक अन्य जिल्लामा हालसम्म त्यस्तो देखिएको छैन। कर्णालीका हिमाली जिल्लाहरूमा त पुरानै दलबरुबीच प्रतिस्पर्धा हुने देखिन्छ।’
ढकालले सुर्खेत जिल्लाका दुवै निर्वाचन क्षेत्रमा एमाले, कांग्रेस, नेकपा, रास्वपा र राप्रपाबीच नै प्रतिस्पर्धा हुने देखिएको विश्लेषण सुनाए।
उनले भने, ‘पछिल्लो समय सुर्खेतको चुनावी सरगर्मी हेर्दा नयाँमा उत्साह देखिए पनि पुरानै दलहरूको प्रभाव देखिन्छ। नयाँ पिँढीले रास्वपा भन्ने गरेको सुनिन्छ। तर, ती भन्नेहरू कतिको मतदाता नामावलीमा नाम नहुन पनि सक्छ।’
फागुन ७ गते चुनावी सभा लिएर रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह कर्णाली आएपछि देखिने प्रभावले थप परिदृश्य बुझिने ढकालको बुझाइ छ। ढकालले पछिल्लो समय नागरिकमा राजनीतिक चेतनाको विकास भएको देखिए पनि कर्णालीमा पुनः पुरानै दलहरूले प्रभाव देखिन सक्ने विश्लेषण दोहोर्याए।
(सुर्खेतबाट दिनेश बुढाको सहयोगमा)
Shares

प्रतिक्रिया