बेलायत र क्यानडाका नागरिकले अब भिसाविना नै चीन भ्रमण गर्न पाउने भएका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार फेब्रुअरी १७ (फागुन ५) देखि लागू हुने गरी दुवै देशका नागरिकलाई ३० दिनसम्मका लागि 'भिसा फ्री' प्रवेश अनुमति दिइने भएको हो।
बीबीसीका अनुसार घुमफिर, व्यापार तथा परिवार र साथीभाइसँगको भेटघाटका लागि चीन जान चाहनेहरूले यो सुविधा पाउनेछन्। यो नीति प्रारम्भिक रूपमा आगामी डिसेम्बर ३१ सम्मका लागि लागू गरिएको चीनले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चीनले यसअघि नै फ्रान्स, जर्मनी, इटाली, अस्ट्रेलिया र जापानसहित विश्वका ५० देशलाई यस्तै सुविधा दिइसकेको छ।
बेलायती प्रधानमन्त्री सर केइर स्टारमरको गत महिना भएको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भ्रमण नियमहरू खुकुलो बनाउने सहमति भएको थियो। प्रधानमन्त्री स्टारमरले यो सहमतिले बेलायती व्यवसायीहरूलाई चीनमा आफ्नो व्यापार विस्तार गर्न सहज हुने बताएका छन्।
यद्यपि, बेइजिङसँगको सम्बन्ध सुधार्ने 'डाउनिङ स्ट्रिट' (बेलायती प्रधानमन्त्रीको कार्यालय)को यो कदमको आलोचना पनि सुरु भएको छ।
Shares

प्रतिक्रिया