राजनीति


देउवाबिनाको चुनावमा सुदूरका १६ सिटको हिसाब-किताब

कांग्रेस नेता भन्छन् : देउवा आए कांग्रेसको १० सिट, नत्र ६
देउवाबिनाको चुनावमा सुदूरका १६ सिटको हिसाब-किताब

लोकेन्द्र भट्ट
फागुन ३, २०८२ आइतबार २२:२, काठमाडौँ

सुदूरपश्चिमको संसदीय राजनीतिमा बहुदलपछि एकछत्र राज गरेका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपालिको चुनावमा मैदानबाहिर छन्। 

२०४८ को आम चुनावमा देउवाको नेतृत्वमा कांग्रेसले सुदूरपश्चिमको दार्चुलाबाहेक सबै क्षेत्रमा जित हासिल गरेको थियो। ०५६, ०७० र ०७९ मा देउवाले सुदूरलाई कांग्रेसको किल्ला बनाए। २०५१ को मध्यावधि, ०६४ को माओवादी उभार र ०७४ को वाम गठबन्धनका बेला भने देउवाको खासै जोर चलेन। यद्यपि, उनी डडेलधुराबाट निरन्तर निर्वाचित भइरहेका थिए। डडेलधुराका अतिरिक्त देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि निर्वाचित भएका थिए। 

पुस २७–३० मा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि अहिले देउवा टिकटविहीन मात्रै होइन, पार्टीविहीन जस्तै छन्। यता कम्युनिस्ट घटक नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि एकअर्काविरुद्ध मैदानमा छन्। माओवादी केन्द्रमा एमालेबाट विभाजित एकीकृत समाजवादी र भीम रावल समूह मिसिएर नेकपा बनेपछि सुदूरपश्चिमको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सिर्जना गरेको लहरबाट सुदूरपश्चिम अछुतो छैन। रास्वपा थपिँदा चुनावी मैदानमा चार शक्ति देखिएका छन्।

२०७९ को निर्वाचनमा अधिकांश क्षेत्रमा जमानत जोगाउन नसकेको रास्वपाको जबर्जस्त प्रवेशले सुदूरका १६ क्षेत्रमा थप चुनावी रौकन थपिदिएको छ। २०७९ को निर्वाचनमा कैलालीका ५ मध्ये ३ सिट जितेर कांग्रेस र एमालेलाई चकमा दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने छिन्नभिन्न भएको छ। नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको राजनीतिक बाटो नै फरक भएको छ।

रेशमले नाउपा नेपाल दल गठन गर्दा रञ्जिता नेकपामा प्रवेश गरेकी छन्। तत्कालीन नाउपाका केही नेता रास्वपामा प्रवेश गरेका छन्। यस्तो अवस्थामा रेशमको नाउपा नेपालले कैलाली र कञ्चनपुरको थारुबाहुल्य क्षेत्रमा कस्तो उपस्थिति जनाउँछ भन्ने कुराले पनि सुदूरका १६ सिटको चुनावी नजिता प्रभावित गर्ने छ।

दलहरूको हिसाब–किताब
गत निर्वाचनमा सुदूरपश्चिमका १६ सिटमा कांग्रेसले ८, एमालेले २, नाउपा र तत्कालीन एकीकृत समाजवादीले ३–३ सिट जितेका थिए। २०७९ मा सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ जना मतदाता रहेकोमा ८ लाख ९६ हजार ३९५ सदर मत खसेको थियो। अहिले सुदूरपश्चिममा १७ लाख १६ हजार ७२० मतदाता छन्। सुदूरप्रश्चिमका १६ क्षेत्रमा फागुन २१ को निर्वाचनका लागि ५८ हजार ७ सय १६ मतदाता थपिएका छन्।  

समानुपातिक प्रणालीमा सिङ्गो देशलाई एउटा क्षेत्र मानेर राजनीतिक दलले १६५ निर्वाचन क्षेत्रबाट पाएको मतको एकमुस्ट रूपमा गणना हुन्छ। समानुपातिक सिटका लागि कुल खसेको मतको ३ प्रतिशत मत कटाउने दलले मात्र सिट सुरक्षित गर्न सक्छन्। 

३ प्रतिशत मत नपाउने दलले समानुपातिकतर्फको सिट नपाउने व्यवस्था छ भने सो मत सिटका लागि गणना नहुने व्यवस्था छ। विगतको मतदानको अनुपात हेर्दा यहाँ ९ लाख मत खसेको अवस्थामा सुदूरपश्चिम प्रदेशले १०–११ जना समानुपातिक सांसद पठाउने देखिन्छ।

सुदूरपश्चिमका १६ क्षेत्रमध्ये समानुपातिक मतमा कांग्रेस ८, एमाले ५ र नाउपा ३ सिटमा पहिलो देखिन्छ। बाजुरा, अछाम–१ र २, डोटी, डडेलधुरा, कञ्चनपुर २ र ३ मा कांग्रेस, एमाले र नेकपाको क्रमशः मत देखिन्छ भने बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर १, कैलाली ४ मा एमाले, कांग्रेस र नेकपाको मत छ।

यस्तै, कैलाली १ र ३ मा नाउपा, कांग्रेस र नेकपा, २ मा नाउपा, एमाले र कांग्रेसले प्रतिस्पर्धी मत पाउँदा कैलाली ५ मा कांग्रेस, एमाले र नाउपाले क्रमशः मत पाएको देखिन्छ। कांग्रेसले २ लाख ८१ हजार १० मत पाउँदा एमालेले २ लाख ५७ हजार ७ सय ७ मत पाएको थियो। १६ क्षेत्रमा कांग्रेस र एमालेले पाएको समानुपातिक मत जोड्दा २३ हजार ३०३ मत कांग्रेसले बढी भएको थियो।

तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेकपाको समानुपतिक मत १ लाख ६५ हजार २२५ छ भने नागरिक उन्मुक्ति पार्टीले ९९ हजार ३९२ मत पाउँदा रास्वपाले ४५ हजार १६ मत मात्र पाएको थियो। 

सुदूरपश्चिममा विगतमा गठबन्धनमार्फत जितेका ८ सिटमा २–४ सिट थपिने कांग्रेस नेता तथा कञ्चनपुर–२ का उम्मेदवार नारायणप्रकाश (एनपी) साउदको दाबी छ। 

‘चुनाव प्रचार खुला भएपछि भोलिबाट थप चुनावी माहोल बढ्छ। अहिले हामी घरदैलोमै व्यस्त छौँ। चुनाव राम्रै लागिरहेको छ,’ उनी भन्छन्, ‘हामी विगतमा जितेका सिट सुरक्षित गरेर २–४ सिट थप्ने दिशामा अगाडि बढेका छौँ। सुदूरपश्चिममा कांग्रेसको अवस्था सुदृढ नै छ।’

कम्युनिस्ट घटक एमाले र नेकपा एक्लाएक्लै चुनावी मैदानमा रहँदा सुदूरपश्चिममा कांग्रेसलाई जित निकाल्न सहज भएको साउदको आकलन छ। कांग्रेसका निवर्तमान सभापति देउवा सुदूरपश्चिम आइदिँदा मात्र पनि पार्टीलाई थप राहत हुने उनले बताए। 

‘विचार समूहको रुपमा आन्तरिक मतभेद देखिए पनि अन्य दलसँगको लडाइमा कांग्रेस एकताबद्ध हुन्छ। राजनेता शेरबहादुर देउवा सक्रिय भइदिँदा देशमै कांग्रेसलाई स्वभाविक रुपमा चुनावी लाभ हुन्छ। सुदूरपश्चिममा हुने नै भयो। पार्टीको विद्यमान नेतृत्वले गएर आग्रह गर्दा राम्रो हुन्थ्यो भन्ने हो,’ साउद भन्छन्।

फागुन २१ अघि देउवा कैलालीको धनगढीमा आएर चुनावी अभियानमा जोडिँदा मात्र पनि १० सिट जित्न सकिने कांग्रेसको आकलन छ। कैलाली २, ५, कञ्चपुर २ र ३, डडेल्धुरा, बैतडी, डोटी, बाजुरा, अछाम १ र २ जित्न सकिने कांग्रेसको बुझाइ छ। बाँकी क्षेत्रमा कांग्रेस मुख्य प्रतिस्पर्धी अवस्थामा रहेको नेताहरू बताउँछन्।

देउवा चुनावी अभियानमा नजोडिँदा ६ सिटभन्दा माथि जित्न कठिन हुने कांग्रेस नेताहरू बताउँछन्। 

यता एमाले उपमहासचिव तथा कैलाली–४ का उम्मेदवार लेखराज भट्टले सुदूरपश्चिमको १०–१२ सिट एमालेको पोल्टामा आउने दाबी नेपालखबरलाई सुनाए। 

उनले भने, ‘राष्ट्रियताको पक्षमा र भदौ २४ को आगजनीविरुद्ध एमाले उभिँदा जनता हाम्रो साथमा हुनुहुन्छ। २०७९ को निर्वाचनमा आन्तरिक समस्याले २ सिट मात्र जितेका थियौँ। पार्टीको ११ औँ महाधिवेशनपछि अहिले हाम्रो एकता सुदृढ छ। आन्तरिक समस्या छैन।’ 

१८ पार्टी मिलेर नेकपा बनेको भनिए पनि एमालेलाई खासै असर नपर्ने भन्दै एमालेले राम्रो परिणाम ल्याउने भट्टको भनाइ छ। 

‘हिजो आन्तरिक समस्या र पाँच दलीय गठबन्धन हुँदा हामी हारेका हौँ। अहिले त्यस्तो छैन। हाम्रो राम्रो परिणाम आउँछ,’ उनी भन्छन्। 

यद्यपि एमाले नेताहरूसँग अनौपचारिक संवाद गर्दा अहिलेसम्मको अवस्थामा एमालेले ६ सिट जित्न सक्ने हिसाब सुनाए। एमालेले कञ्चनपुर १, ३, कैलाली ४, दार्चुला, अछाम–२ र बझाङलाई सम्भावित क्षेत्रका रुपमा हेरेको छ। बाँकी क्षेत्रको प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको एमाले नेताहरू बताउँछन्।

नेकपाका नेता तथा अछाम–१ का उम्मेदवार भीम रावलले चुनावी माहोल आफूहरूको पक्षमा देखिएको बताए। 

‘वडा र पालिकामा घरदैलो कार्यक्रम गर्दा जनताको उत्साहजनक सहभागिता, साथ र समर्थन पाएका छौँ। नेकपाका नेता कार्यकर्ता चुनावी अभियानमा सक्रिय रुपमा लाग्नुभएको छ,’ उनले नेपालखबरलाई भने, ‘सुदूपश्चिमका निर्वाचन क्षेत्रको अवस्था भन्न सकिने अवस्था छैन। कहाँ कसरी ध्रुवीकरण भएको छ भनेर जानकारी लिन पाएको छैन। यसको जानकारी लिएपछि भनौँला।’

नेता रावलले धेरै कुरा नखुलाए पनि कम्तीमा ३ र बढीमा ६ सिट जित्ने नेकपाको आकलन छ।

नेकपाका एक नेताले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लामा कांग्रेस, एमाले र नेकपाबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसको आन्तरिक लफडा र एमालेप्रतिको मोहभंग भएको अवस्था देखिन्छ। यस्तोमा हामी प्रतिस्पर्धामा अहिले नै पुगिसकेका छौँ। फागुन २१ सम्म अवस्था थप बदलिन्छ। १६ मा ६ सिट त कसो नजितिएला भन्ने हो।’

नेकपाले कैलाली १, ३, कञ्चनपुर १, ३ अछाम–१ र डोटीलाई ‘ग्रिन जोन’मा राखेको छ। बाँकी क्षेत्रमा प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको नेकपाको बुझाइ छ। गत निर्वाचनमा निष्प्रभावी देखिएको रास्वपा यस पटक सुदूरपश्चिममा स्थापित दल बन्ने दौडमा छ। रास्वपाका नेता तथा कञ्चनपुर २ का उम्मेदवार दीपक बोहराले सुदूपश्चिममा ‘क्लिन स्विप’ गर्ने दाबी गरे। 

‘हाम्रो देशव्यापी लहर छ। यहाँ हामी क्लिन स्विप गर्छौँ। जनता परिवर्तनको पक्षमा उभिसक्नु भएको छ,’ उनी भन्छन्।

रास्वपाले कञ्चनपुर २, डडेल्धुरा, अछाम–२ गरी तीन क्षेत्रमा प्रतिस्पर्धा सहज ठानेको छ। फागुन ५ मा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढीमा आउँदा कैलाली २, ४ र ५ को चुनावी माहोल बन्ने रास्वपाको आशा छ। 

२०७९ को निर्वाचनमा कैलालीका ३ क्षेत्र जितेर तहल्का मच्चाएको तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले छिन्नभिन्न अवस्थामा छ। नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठसहितका केही नेता नेकपातिर लाग्दा केही नेताहरू रास्वपा पुगेका छन्।

केही नेताहरू रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालमा छन्। नाउपानेका संरक्षक रेशम चौधरी विगतमा जितेको सिट सुरक्षित राख्ने योजना रहेको बताउँछन्। गत निर्वाचनमा नाउपाले कैलाली १, २ र ३ मा जित हासिल गरेको थियो। अहिले कैलाली १ मा रेशम चौधरीको उम्मेदवारी खारेजी भएपछि नाउपानेले स्वतन्त्र उम्मेदवार फागुराम थारुलाई समर्थन गरेको छ। 

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडिन टेकराज पन्तले अहिलेको चुनावको परिणामबारे यसै भन्न नसकिने अवस्था रहेको बताए। 

‘भदौ २३ र २४ को दुर्घटनापछि माहोल फेरिएको छ। नयाँले मौका पाउँछन् कि भन्ने मान्छेले कल्पना गरेका छन्। फागुन २१ सम्म त्यो टिक्छ कि टिक्दैन, भन्न गाह्रो छ। चुनावी परिणाम अनुमान गर्न सकिने परिस्थिति छैन,’ उनी भन्छन्, ‘केही दिनमा दृश्य क्लियर हुन्छ होला। अन्य ठाउँमा पुराना दललाई निरुत्साहित गर्न खोजे जस्तो देखिए पनि सुदूरपश्चिममा त्यस्तो छैन। पुराना पार्टीको आफ्नो ठाउँ सुरक्षित जस्तै देखिन्छ।’ 

यद्यपि हिजोको जस्तो क्षेत्र तोकेर कांग्रेस र एमालेले जित्छन् भन्न सक्ने अवस्था नरहेको पन्तले विश्लेषण सुनाए। जेनजी आन्दोलनबाट कांग्रेसका निवर्तमान सभापति देउवालाई राजनीतिक र सामाजिक रुपमा धक्का लाग्दा सुदूरपश्चिममा कांग्रेस घायल बनेको उनको भनाइ छ।

‘हिजो सुदूरपश्चिमबासीले आफ्नो मतमा प्रधानमन्त्री देख्नुहुन्थ्यो। अहिले त्यो छैन। देउवालाई राजनीतिक र सामाजिक रुपमा धक्का लागेको छ। उहाँ निष्क्रिय हुँदा यहाँ चुनावी माहोल पनि हिजोको जस्तो देखिएको छैन,’ उनी भन्छन्। 

देउवाको निष्क्रियताको लाभ एमाले र नेकपालाई हुने सक्ने पन्तको विश्लेषण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad