राजनीति


‘मुलुकलाई लयमा फर्काउने माध्यम निर्वाचन’

‘मुलुकलाई लयमा फर्काउने माध्यम निर्वाचन’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी


नेपालखबर
फागुन १, २०८२ शुक्रबार १६:४८, काठमाडौँ

निर्वाचन आयोका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पछिल्लो राजनीतिक अस्थिरतापछि मुलुकलाई पुनः सही बाटोमा ल्याउने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन्। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) द्वारा १५ औँ विश्व रेडियो दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गत भदौ २३ र २४ गतेको 'जेनजी' आन्दोलनले मुलुकको लय र अनुशासन खल्बल्याएको उल्लेख गर्दै भण्डारीले त्यसलाई चिर्न आयोग निष्ठापूर्वक निर्वाचनको तयारीमा जुटेको जानकारी दिए। "मुलुक अहिले जुन अवस्थामा छ, यसलाई लयमा फर्काउने र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने माध्यम निर्वाचन नै हो," उनले भने, "यसका लागि आयोगले आफ्नो तर्फबाट गृहकार्य तीव्र पारेको छ।"

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यम, विशेष गरी सामुदायिक रेडियोहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले सहयोगका लागि आह्वान गरे । निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलाइने गलत, भ्रामक र हानिकारक सूचना (मिस-इन्फर्मेसन र डिस-इन्फर्मेसन) आयोगका लागि चुनौती बनेको उनको भनाइ थियो।

भ्रामक सूचना नियन्त्रणका लागि आयोगले प्रविधि कम्पनीहरूसँग सहकार्य थालेको उनले बताए। "सामाजिक सञ्जालको दुरुपयोग रोक्न टिकटकसँग समझदारी भइसकेको छ भने मेटा (फेसबुक) सँग पनि सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ," कार्यवाहक प्रमुख आयुक्त भण्डारीले थपे, "यस्ता सूचनाको सत्यतथ्य परीक्षण गर्न आन्तरिक मिडियाहरूसँग पनि समन्वय भइरहेको छ।"

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घले रेडियोकर्मीहरूका लागि तयार पारेको 'निर्वाचन आचारसंहिता' वाचन गरिएको थियो। भण्डारीले सङ्घले जारी गरेको आचारसंहिताबारे मातहतका सबै रेडियोबाट व्यापक प्रचारप्रसार गरी आम नागरिकमा निर्वाचनको जागरण फैलाउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad