आगामी प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगले फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आउँदो फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। त्यसका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भइसकेको भट्टराईले बताए।
यस कार्यक्रमअनुसार, देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने भएको छ। त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराउनेछन्।
हरेक निर्वाचनमा आयोगले सबै स्थानीय तहमा एक-एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको छ। यस पटक पनि सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको रूपमा तोकेको छ।
मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम माघको अन्तिमसम्म सकिने उनले बताए।
Shares

प्रतिक्रिया