मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट प्रहरीले साना हतियार र सञ्चार सेटसहित दुई जनालाई पक्राउ गरेको छ।
सुन्दरहरैंचा–२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बूको घरमा हतियार लुकाइराखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले लिम्बूको कोठा खानतलासी गर्दा ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, दुई थान बाओफेङ ह्यान्डसेट र भरुवा बन्दुक जस्तो देखिने एक थान काठको हतियार बरामद गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा उक्त हतियारहरू सुन्दरहरैंचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङबाट लिएको खुलेपछि प्रहरीले उनलाई पनि घरैबाट पक्राउ गरेको हो।
हाल पक्राउ परेका दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया