नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनप्रति उदासीन देखिन्छन्। गत भदौ २३–२४ को जेनजी विद्रोहबाट उत्पन्न राजनीतिक संकटले निम्त्याएको प्रतिनिधिसभा निर्वाचनमा देउवाले आफूलाई फड्के किनाराको साक्षीमा सीमित राखेका छन्।
२०४८ को आम निर्वाचनदेखि संसदीय राजनीतिको चतुर खेलाडीको छवि बनाएका देउवा फागुन २१ को निर्वाचनमा निष्क्रिय दर्शक भएर महाराजगञ्जको एकतले घरमै रोकिएका छन्। जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट सख्त घाइते भएका देउवाको बुढानीलकण्ठस्थित निवास पनि आगजनी भएपछि अहिले अस्थायी बसाइ महाराजगन्जमा छ। अनायस आन्दोलनको भेलले आगामी असारमा सत्तारोहणको सहमति र पार्टी सभापति पद बगाइदिँदा उनी राजनीतिक रूपमा पनि घायल छन्।
भेटघाटका लागि महाराजगन्ज पुग्ने पार्टी कार्यकर्तासँग पनि देउवा निरीह सुन्छिन्। नेपालखबरकर्मी माघ २६ गते बिहान साढे १० बजे देउवा निवास पुग्दा त्यहाँ सुनसान जस्तै थियो। कैलाली–५ का निवर्तमान सांसद डिल्लीराज पन्तसहित ५–७ जना कांग्रेस कार्यकर्ता बैठक कक्षमा देउवासँग गफगाफ गरिरहेका थिए।
पन्तले आसन्न निर्वाचनमा आफू टिकटबाट वञ्चित भएको गुनासो सुनाउँदा देउवाबाट जवाफ र आश्वासन होइन, प्रश्न आयो– ‘म के गर्न सक्थेँ र?’
सधैँजसो देउवाबाट अवसर र आश्वासन प्राप्त गर्ने कार्यकर्ता अहिले प्रश्न बोकेर फर्किन्छन्।
फागुन २१ को निर्वाचनमा देउवाको राजनीतिक उपस्थितिका लागि आग्रह गर्दै मुख्यतः उनको गृहजिल्ला डडेल्धुराका कार्यकर्ता दिनहुँ महराजगन्ज पुग्छन्। देउवालाई सात पटक चुनाव जिताएका डडेल्धुराका कांग्रेसी फागुन २१ को निर्वाचनमा उनको प्रतीक्षामा छन्। डडेल्धुरामा कांग्रेसबाट नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर उम्मेदवार छन्।
उम्मेदवार महर र डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउद चुनावमा देउवालाई डडेल्धुरामा उभ्याउने प्रयासमा छन्। यद्यपि देउवाले सर्वोच्च अदालतमा पार्टी अधिकारिकताको विचाराधीन मुद्दा देखाएर चुनावी सहभागितामा सहमति जनाएका छैनन्।
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिने निर्णय गरेपछि वैधानिकताको प्रश्न उठाउँदै निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का रिट लिएर सर्वाेच्च पुगेका थिए। सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले तामेली बुझ्न आनाकानी गर्दा उक्त रिटमाथिको सुनुवाइ आगामी चैतअघि हुने सम्भावना न्यून छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार देउवा र खड्काको रिटमा कांग्रेस केन्द्रीय कार्यालय रातोपुल उल्लेख भएकाले तामेली बुझ्ने विषयमा विलम्ब भएको थियो।
‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मात्र छ। रातोपुलको ठेगाना उल्लेख भएकाले कसरी तामेली बुझ्ने भन्ने थियो। अहिले तामेली बुझ्न साथीहरूले आग्रह गरेपछि म आइतबार सर्वोच्च पुगेर तामेली बुझेर आएको छु,’ उनी भन्छन्।
पार्टीको आधिकारिताको विवाद फागुन २१ पछि धकेल्न ढिला जवाफ पेस गर्ने कांग्रेसको रणनीति देखिन्छ।
दुलालले थपे, ‘तामेली बुझेको दिनबाट १५ दिनभित्र जवाफ पेस गर्नुपर्ने भन्ने छ। त्यसमा १५ दिन समय पनि लिन पाउने व्यवस्था छ। हामी लिखित जवाफ पेस पनि गर्छौं।’
लिखित जवाफ पेस गरेको १५ दिनपछि मात्र सुनुवाइ सुरु हुने भएकाले सर्वोच्च अदालतबाट कांग्रेसको विवाद निरूपण चैत दोस्रो साता पुग्ने पक्का छ। देउवानिकट कानुन व्यवसायीहरू सर्वोच्च अदालतबाट सकारात्मक फैसला आउनेमा आशावादी देखिए पनि निर्वाचनअघि मुद्दाको निरूपण नहुनेमा प्रस्टै छन्।
सिंगो कांग्रेस चुनावमा डोर्याउने देउवाको त्यो प्रस्ताव
निर्वाचन आयोगले माघ २ मा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि सोही दिन साँझ देउवा निवास महाराजगन्जमा उनीपक्षीय नेताहरूको रणनीतिक बैठक बसेको थियो। उक्त बैठकमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआउँदाको अवस्थामा देउवाले तीन वटा विकल्प आफ्नो समूहसामु राखेका थिए।
कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरमा देउवाको तीन विकल्पपछि सिंगो कांग्रेस चुनावमा होमिएको नेपालखबरलाई सुनाए।
‘शेरबहादुर देउवा सिधासिधा कुरा गर्ने मान्छे हो। अस्ति पनि तीन वटा विकल्प राख्नुभएको थियो,’ उनको भनाइ थियो।
पहिलो विकल्प थियो– फागुन २१ को निर्वाचन बहिष्कार गर्ने। दोस्रो विकल्पमा देउवाले कुनै पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिने प्रस्ताव राखेका थिए। त्यस्तै, तेस्रो विकल्प सभापति थापाबाट टिकट लिएर चुनाव लड्ने थियो।
निर्वाचन बहिष्कार गर्नेमा नेताहरू एकमत भएनन् भने दोस्रो विकल्पमा छलफल नै भएन। तेस्रो विकल्प रोजेको देउवा पक्षले सभापति थापासँग संवाद गर्न नेता रमेश लेखकलाई खटाएको थियो।
५ माघको मध्यरातसम्म देउवा आफै सभापति थापाकै हस्ताक्षरबाट चुनाव लड्नका लागि टिकट खोजिरहेका थिए। गृहजिल्ला डडेलधुराबाट देउवाको एकल नाम सिफारिस भएको थियो। देउवा समूहले टिकट पाउन माग गरेको ८५ जनाको सूचीमा देउवाको नाम नै पहिलो नम्बरमा थियो। माघ ५ को मध्यरातसम्म देउवा टिकटको प्रतीक्षामा थिए। सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा टिकट दिन सकारात्मक नभएपछि देउवाबाट उम्मेदवार नहुने घोषणा भयो।
त्यसपछि डडेल्धुरामा नयाँ उम्मेदवारको खोजी हुँदा देउवा दम्पती र नेता बालकृष्ण खाणले नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरको नाम अगाडि सारे। सभापति थापाले जिल्लाको सिफारिस मागेपछि डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउदले ‘शेरबहादुर देउवा उम्मेदवार नभएको अवस्थामा नैनसिंह महरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको’ पत्र पठाए। ७ वटा चुनाव जितेर ५ पटक प्रधानमन्त्री र २ कार्यकाल पार्टी सभापति भएका देउवालाई मतदानको दिनसम्म भए पनि डडेल्धुरामा उभ्याउने डडेल्धुरा कांग्रेसको जोडबल थियो।
उम्मेदवार महर पनि देउवालाई चुनावमा डडेलधुराबासीले देख्न चाहेको बताउँछन्। तर अब त्यो परिस्थिति पार भइसक्यो। अहिले भने देउवा सर्वोच्च अदालतमा दायर रिटका कारण चुनावी गतिविधिमा नदेखिएको उनका स्वकीय सचिव भानु देउवा बताउँछन्।
‘अदालतको निर्णय आएपछि चुनावमा जाने कुरा भइहाल्छ नि। अदालतमा रिट दायर गरेर चुनावी प्रचारमा जाने कुरा भएन,’ उनी भन्छन्, ‘अरु त्यस्तो कुरा छैन। यहाँ आउनेहरूलाई पार्टीका उम्मेदवार जिताउन भनिराख्नु भएको छ। डडेल्धुराका सन्दर्भमा त हामी यहाँबाट सबै लागिराखेका छौँ।’
निर्वाचन आयोगको निर्णय मान्न विवश देउवा सभापतिमा गगन थापालाई स्वीकार्न भने सकिराखेका छैनन्। सर्वोच्चबाट अन्तरिम आदेश नआएपछि सभापतिको हैसियतमा कुनै गतिविधि भने देउवाले देखाएका छैनन्।
माघ ५ मा सभापतिकै हैसियतमा सोनाम ल्होसारको शुभकामना दिएयता देउवा अहिले मौन छन्। विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई २ माघमा निर्वाचन आयोगले अद्यावधिक गरेर दिएको मान्यतालाई चुनौती दिएका देउवा सर्वोच्च पुगेर रोकिएका छन्।
देउवाको फेसबुक र एक्सको एकाउन्टमा सभापतिको हैसियत कायमै छ। तत्कालीन संस्थापन पक्षको विमतिका बाबजुद २७–३० पुसमा भएको विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरी थापाको नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेको छ।
देउवाले सभापति चयन भएपछि अहिलेसम्म थापालाई बधाई समेत दिएका छैनन्। सभापति थापाले अनौपचारिक संवाद भइरहेको बताए पनि देउवालाई भेटेका छैनन्। कांग्रेस नेताहरू भने थापाले देउवासँग भेटेर एकताको सन्देश दिन ढिलो भइरहेको बताउँछन्।
Shares

प्रतिक्रिया