नेपाली कांग्रेसका सभापति गगन थापाले कोसीको चुनावी रणनीति बनाएर फर्किएका छन्। सोमबार दिउँसो विराटनगर आएका थापाले प्रदेशस्तरीय अन्तरक्रियामा सहभागी भएपछि उम्मेदवार, पदाधिकारी तथा प्रदेश तहका नेताहरूसँग बसेर छलफल गरेका थिए।
विराटनगरस्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा भएको भेटमा थापाले जसरी पनि आफ्नो निर्वाचन जित्ने गरी क्षेत्र, जिल्लासहित प्रदेशले नीति बनाउने केन्द्रले तथ्यमा रहेर निर्वाचन लक्षित प्रतिबद्धता पत्र ल्याउनेबारे विषयहरू छलफल गरेका थिए।
बैठकमा नेपाली कांग्रेसले विगतका चुनावी गतिविधिलाई परिमार्जन गर्दै आगामी निर्वाचनका लागि परम्परागत शैलीलाई त्याग्दै नयाँ चुनावी रणनीति अख्तियार गर्ने विषयमा छलफल भएको थियो।
१४ जिल्लाका पदाधिकारीहरू सहितको बैठकमा कांग्रेस सभापति थापाले अब पार्टीले ठूला आमसभा र जुलुसभन्दा पनि ‘ग्रास रुट’ (तल्लो तह)का जनतासँगको प्रत्यक्ष संवाद र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने गरी काम थाल्न भनेका थिए। मोरङका उपसभापति भक्तिनाथ माझीका अनुसार, बैठकमा चुनावी अभियानलाई व्यवस्थित र आधुनिक बनाउन सबै जिल्लाहरू लाग्नु पर्नेमा छलफल भएका थिए।
छलफलको मुख्य एजेन्डा सामाजिक सञ्जालको सदुपयोगका विषयहरू उठेका थिए। विपक्षी दलहरूले सामाजिक सञ्जालमार्फत फैलाएका अनावश्यक आरोप र भ्रमलाई चिर्न कांग्रेसले सामाजिक सञ्जालबाट नै आक्रामक रणनीति लिने गरीको यो तयारी बैठकमा छलफल भएको थियो।
‘विपक्षले नगरेका कुराहरू पनि क्लेम गरिरहेका हुन्छन्, त्यस्ता अनावश्यक कुरा र आरोपलाई चिर्न हामीले सामाजिक सञ्जाललाई सही रूपमा उपयोग गर्नुपर्छ भन्ने विषय बैठकमा छलफल भएका थिए,’ माझीले भने।
जिल्ला तहका अध्यक्ष तथा पदाधिकारीहरूसँग बसेर चुनावी रणनीति बनाउँदा डाटा (तथ्याङ्क) सङ्कलन र विश्लेषणलाई जोड दिइएको छ। कुन क्षेत्रमा मतदाताको चाहना के छ, भन्ने कुरा तथ्याङ्कका आधारमा विश्लेषण गरी सोही अनुसारको घरदैलो कार्यक्रम तय गरिनेछ।
यस पटकको चुनावमा नेताहरू जनताको घरमा पुग्ने, गफगाफ गर्ने र उनीहरूसँगै बसेर वास्तविक समस्या सुन्ने योजना बनाइएको छ। छलफलको क्रममा चुनावी प्रचारप्रसारमा पार्टीको अनुशासन र निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्ने विषयहरू पनि उठेको थियो।
सबै तहका कार्यकर्तालाई एकजुट बनाएर परिचालन गर्ने विषयमा पनि छलफल भएको थियो। बैठकमा मोरङ र आसपासका जिल्ला सभापतिहरू तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। पहाडी जिल्लाका केही उम्मेदवारहरू सहभागी भए पनि उनीहरू आफ्नै क्षेत्रको चुनावी चटारोका कारण छिट्टै कार्यक्षेत्रमा फर्किएका थिए।
विराटनगरमा रातीसम्म नै बसेका थापा बास बस्नको लागि सुनसरी पुगेका थिए। सुनसरीको इटहरी स्थित एक होटलमा थापाले सुनसरीका केही नेताहरूसँग भेट गरेका थिए।
सुनसरी सभापति केदार भण्डारी र सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार राजीव कोइरालासँग निक्कै बेर छलफल गरेका थिए। गोप्य छलफलमा सुनसरी जिल्लाका चार वटै निर्वाचन क्षेत्रको वस्तुस्थितिबारे गम्भीर समीक्षा भएको थियो।
उक्त भेटमा सहभागी सुनसरी जिल्ला सभापति भण्डारीले पार्टीले पुराना गल्ती सुधार्दै र नयाँ जोसका साथ अगाडि बढ्ने रणनीति अख्तियार गरेको बताए।
विशेष गरी नयाँ राजनीतिक दलहरूको बढ्दो चर्चा र त्यसले पार्न सक्ने प्रभावबारे ‘थ्रेट एनालाइसिस’ गरिएको थियो। ‘इतिहास, बलिदान र योगदान विना चर्चामा रहेका नयाँ शक्तिहरूलाई चिर्न काँग्रेसले आफ्नो परिवर्तनकारी एजेन्डा जनतासम्म लैजानुपर्ने निष्कर्ष निकालिएको छ,’ भण्डारीले भने।
नेपाली कांग्रेसले ‘घरघर जाने, जनताको खुट्टा समातेर भए पनि मत माग्ने र विकासको ग्यारेन्टी गर्ने’ कार्य योजनाका विषयमा छलफल भएको थियो। जनताको आकाङ्क्षा तीव्र विकासमा रहेकाले सोही अनुसारको प्रतिबद्धता लिएर टोल–टोलमा पुग्ने तयारी कांग्रेसको छ। ‘हामी परिवर्तन भएर आएका छौँ भन्ने कुरा बुझाउनु नै हाम्रो मुख्य काम हो,’ छलफलको क्रममा सभापति थापाले भनेका थिए,’ उनले भने।
सोमबार दिउँसो विराटनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि उनले आगामी चुनावी रणनीति घरघर जाने र नागरिकसँग आफ्ना कुरा संवादको माध्यमबाट राख्ने बताएका थिए।
कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको पहिलो दिन नागरिकका सामु उभिएर आफ्नो कामको लक्ष्य सार्वजनिक गर्ने र महिनाको अन्त्यमा कति उपलब्धि हासिल भयो भन्ने फेहरिस्त पेस गर्ने, पाँच वर्षलाई ‘डेलिभरी’ र ’पर्फोर्मेन्स’ को वर्ष बनाइने योजना लिएर जान उनले आग्रह गरे।
पालिका, प्रदेश र सङ्घलाई आपसमा जोडेर लैजाने, शिक्षा, स्वास्थ्य, किसानका लागि मल र स्वास्थ्य बिमा जस्ता आधारभूत समस्या समाधानका लागि स्पष्ट योजना सहित अघि बढ्ने उनको योजना छ। पुस्ता र समुदायबिच बढ्दै गएको दूरीलाई मेटाउने, युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर लैजाने, भ्रष्टाचारमुक्त देश र सुरक्षित समाज निर्माण गर्ने उनको योजना छ।
उनको योजनामा हरेकका घर घरमा नमस्कार मात्रै गर्ने नभई बसेर संवाद गर्ने गरी चुनावी अभियान चलाउन थापाले नेता कार्यकर्ताहरूलाई भनेका छन्। थापा मध्यान्ह सुनसरी हुँदै सप्तरी तथा सिराहा तर्फ लागेको नेपाली कांग्रेस सुनसरी सचिव वीरेन्द्र साहले जानकारी दिए।
Shares

प्रतिक्रिया