राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावका लागि ‘नागरिक करार-पत्र’ ल्याउने बताएका छन्।
रास्वपाले चुनावी घोषणपत्रको ठाउँमा वाचापत्र भन्ने गरेको छ। रास्वपाको वाचापत्र फागुन पहिलो साता आउँदै छ। त्यसअघि नै ‘नागरिक करारपत्र’ ल्याउने लामिछानले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
‘फागुनको पहिलो साता हामीले सार्वजनिक गर्ने वाचापत्रअघि करार–पत्र सार्वजनिक हुन्छ र यससँगै वाचा गरिने बुँदाहरू प्रष्ट रुपमा सार्वजनिक हुँदै जान्छन्,’ उनले भनेका छन्।
करारपत्रमा वाचा पूरा नगरेर सजायको व्यवस्था हुने उनले बताएका छन्। ‘भाषण, घोषणा, वाचाभन्दा माथि उठेर हामी यसपटक नागरिकसँग करार गर्न चाहन्छौँ, जहाँ गरेको वाचा पूरा गर्न नसके सजायको प्रष्ट व्यवस्था होस्,’ लामिछानेले भनेका छन्।
उनले आरोपप्रत्यारोपबाट माथि उठेर करारपत्र ल्याउन लागेको दाबी गरेका छन्। ‘कसले के भन्छ भन्ने चिन्ता, आरोपहरूको खण्डन, तथ्य जाँच र सवाल जवाफभन्दा माथि उठेर हामी आफ्ना कुरा नागरिकलाई प्रष्ट राख्दै जान्छौँ। नागरिकसँग आफूले भनेका कुरामा करार गर्छौं र फैसला गर्ने जिम्मा तपाईंको हातमा छोड्छौँ,’ उनले भनेका छन्, ‘जति सक्छौँ त्यति भन्छौँ, जति भन्छौँ त्यति गर्छौं। समृद्धिका लागि नागरिक करार छिट्टै सार्वजनिक हुनेछ।’
उनले फागुन २१ को चुनाव सामान्य नभएको बताएका छन्। ‘फागुन २१ कुनै सामान्य मिति होइन, मुलुकको भाग्य र भविष्य बदल्न सकिने कोशेढुङ्गो हो,’ उनले भनेका छन्।
Shares

प्रतिक्रिया