राजनीति


अमेरिकामा ६ वर्ष राजदूत रहेका कार्की संखुवासभामा कांग्रेससँग टक्कर लिँदै

अमेरिकामा ६ वर्ष राजदूत रहेका कार्की संखुवासभामा कांग्रेससँग टक्कर लिँदै

उजिर कार्की
माघ २४, २०८२ शनिबार २०:४०, काठमाडौँ

संखुवासभाको चुनावमा राजेन्द्र गौतमले २०७४ मा जसरी हराए, ५ वर्षपछि उसैगरी बदला लिए दीपक खड्काले। अघिल्लो चुनावमा माओवादीसँगको गठबन्धनबाट एमाले उम्मेदवार गौतमले मात्रै एक हजार मतान्तरमा कांग्रेसका खड्कालाई पराजित गरेका थिए।  

२०७९ मा खड्काले त्यही माओवादीसँग मिलेर गौतमसँग बदला लिए अनि सांसद र मन्त्री समेत बने। तर, यसपटक न खड्का प्रतिस्पर्धामा छन्, न त गौतम नै। दुवै जना एकसाथ संसदीय प्रतिस्पर्धाबाट पाखा लागे। 

नेपाली कांग्रेसले दीपक खड्कालाई टिकट दिएन। राजेन्द्र गौतमको हालत पनि एमालेले त्यस्तै बनाइदियो। 

अघिल्ला दुई चुनाव जितेका यी दुवै उम्मेदवार पाखा लाग्दा संखुवासभाको राजनीतिमा अमेरिकाका लागि पूर्वराजदूत अर्जुन कार्कीले मौका पाए। एक लाख १९ हजार ६३० जना मतदाता रहेको संखुवासभामा एमालेबाट उम्मेदवार बनेका कार्कीले एक स्वतन्त्रसहित १५ उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु पर्नेछ।

कार्कीले सन् २०१५ देखि २०२१ सम्म ६ वर्ष संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतका रूपमा काम गरेका थिए

यीमध्ये पनि कार्कीको चुनौती भने पुरानै दलका नयाँ उम्मेदवार बन्न सक्ने आकलन गरिएको छ। नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य दिपनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिमा लागेका उनी कांग्रेसको जिल्ला कार्य समितिका पूर्वसभापति हुन्। 

अर्का बलियो प्रतिस्पर्धी हुन् नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापा। १७ वर्ष शिक्षण पेसामा आबद्ध थापा त्यसपछि प्रदेश सांसद बनिन्। ५ वर्ष कोसी प्रदेश सभा सदस्य हुँदा उनी सामाजिक विकास समितिकी सभापति थिइन्। 

तर २०७९ को निर्वाचनमा भने उनी प्रदेश (ख) बाट २३९ मतले एमाले उम्मेदवार विदुरकुमार लिंथेपसँग पराजित भएकी थिइन्। अहिले उनलाई नेकपाले प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङमा शेर्पा उम्मेदवार छन्। पर्वतारोही शेर्पा पर्यटन व्यवसायमा आबद्ध छन्। उनी नेपाली कांग्रेस छाडेर रास्वपातिर लागेका हुन्। 

यसअघिको निर्वाचनलाई आधार मान्ने हो भने जिल्लामा सबैभन्दा बलियो एमाले र त्यसपछि कांग्रेस देखिन्छ। अरु दलको मत कम छ। समानुपातिकमा दलहरूले पाएको मत हेर्दा २०७९ मा एमालेले २५ हजार १३८ र कांग्रेसले २२ हजार २६ मत पाएका छन्। 

तत्कालीन माओवादीको ७ हजार ५२ र नेकपा (एकीकृत समाजवादी) को २ हजार ५४८ मत थियो। अहिले माओवादी र एकीकृत समाजवादीसहितका दलहरू मिलेर नेकपा बनेको छ। मिल्दा पनि नेकपाको मत कांग्रेस र एमालेको भन्दा आधा छ। 

तर, नेकपाकी उम्मेदवार सरिता थापा भन्छिन्, ‘पुरानो अंकगणितले काम गर्दैन। उम्मेदवार फेरिएका छन्। दलहरूको अवस्था पनि धेरै फेरबदल छ। अब जनताले कांग्रेस र एमालेलाई भोट दिँदैनन्। म चुनाव जित्छु।’

यसअघि जिल्लाको पहिलो दल बनेको एमालेले त झन् जितको दाबी गर्ने नै भयो। एमालेका उम्मेदवार अर्जुन कार्की अहिले पनि जिल्लामा एमालेको अवस्था उत्साहजनक नै रहेको बताउँछन्।

‘एकदम उत्साहजनक छ, नयाँ उम्मेदवार, प्रोफेसनल ब्याकग्राउन्डजस्ता कारणले सकारात्मक प्रतिक्रिया पाइरहेको छु,’ लामो समय आर्थिक सामाजिक विकासको क्षेत्रमा काम गरेर पछि अमेरिकाको लागि ६ वर्षसम्म राजदूत रहेका कार्कीले भने, ‘मैले विगतमा निर्वाह गरेको भूमिकाका कारण पनि सबै साथीहरू एकजुट भएर मलाई जिताउन लागिरहनु भएको छ।’

अमेरिकामा रहँदा गैरआवासीय राजदूतको रूपमा पानामा, कोस्टारिका, मेक्सिको, होन्डुरस र ग्वाटेमाला लगायतका देशमा उनले काम गरेका थिए। राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव भए पनि कार्कीलाई जिल्लामा भने मतदाताले कम चिन्ने प्रतिस्पर्धीको आरोप छ। 

कांग्रेस उम्मेदवार दिपन श्रेष्ठले भने, ‘अर्जुन कार्की अन्तर्राष्ट्रिय मान्छे हो। तर तल (जिल्लामा) नभिजेको। अहिले कार्यकर्तासँग चिनजान गर्दै हिँड्दै हुनुहुन्छ।’

कार्की भने संखुवासभाका १० वटै पालिकामा विकासका लागि र आपतविपतमा राहत उपलब्ध गराउन आफ्नो भूमिका रहेको दाबी गर्छन्।

त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी गरेका कार्कीले कृषि अर्थशास्त्र र विज्ञान संकायमा स्नातकोत्तर पूरा गरेका छन्। युनिभर्सिटी अफ म्यानचेस्टर, इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट विकास परियोजनाहरूको व्यवस्थापन र कार्यान्वयनमा पीएचडी गरेका छन्। 

कम विकसित देशहरूको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर पैरवी गर्दै आएका कार्की विकास, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। ग्रामीण पुनर्निर्माण नेपालका अध्यक्ष रहेका उनी गैरसरकारी संस्थाहरूमा उत्तिकै सक्रिय छन्। 

कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका संखुवासभाबाट निर्वाचित एमाले सांसद विदुरकुमार लिंथेपले कार्कीको उम्मेदवारीले जिल्लामा एमाले थप बलियो बनेको बताए। 

कांग्रेस छाडेर मिङ्मा शेर्पा रास्वपाबाट उठ्दा कांग्रेसको बढी मत काट्ने र एमालेलाई झन् सहज भएको लिंथेपको भनाइ छ। 

तर कांग्रेसका उम्मेदवार दिपन श्रेष्ठ भने रास्वपामा गएका शेर्पाले सामान्य मात्रै असर पार्ने बताए। 

‘उहाँ पहिले माओवादीमा हुनुहुन्थ्यो, त्यसपछि एमालेमा र पछि हाम्रो पार्टीमा पनि आउनुभएको थियो। राजनीतिक मान्छे होइन, व्यवसायी हो। उहाँले खासै असर पुर्‍याउन सक्नुहुन्न। कांग्रेसको प्रतिस्पर्धा एमालेसँगै हो,’ श्रेष्ठले भने। 

यसअघिका दुई चुनाव जितेका कांग्रेसका दिपक खड्का र एमालेका राजेन्द्र गौतम नहुँदा अन्य दलका उम्मेदवार पनि उत्साहित छन्। 

खड्का र गौतमले गठबन्धनविरुद्ध उत्रिँदा पनि राम्रो मत ल्याएका थिए। २०७४ सालको निर्वाचनमा गौतमले ३२ हजार ७६९ मत पाउँदा खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए। 

२०७९ को निर्वाचनमा खड्का ३२ हजार १६१ मतसहित निर्वाचित भए। तर गौतम २६ हजार ७२१ मतमा रोकिए। पार्टीभित्रको आन्तरिक राजनीतिको असर यी दुवै जनाले भोग्न पर्‍यो। नेकपा एमालेको ११ औँ महाधिवेशनमा गौतमले एमाले अध्यक्ष ओलीसँग असन्तुष्ट हुँदै उपमहासचिवमा उम्मेदवारी दिए। तर ओलीको विश्वासमा पर्न नसकेपछि उम्मेदवारी फिर्ता लिए र केन्द्रीय सदस्य बने। तत्कालीन प्रचार विभाग प्रमुख गौतमले पार्टीभित्र मात्रै अध्यक्षको भरोसा गुमाएनन्, संसदीय टिकट पनि पाएनन्।  

यता कांग्रेसमा दीपक खड्काको हालत पनि उस्तै भयो। शशांक कोइराला र शेरबहादुर देउवानिकट खड्कालाई पनि पार्टीभित्रको बदलिँदो शक्तिले छेउ लायो। उनलाई नवनिर्वाचित सभापति गगन थापाले टिकट दिएनन्। जसकारण संखुवासभाले यसपटक नयाँ सांसद चुनेर पठाउने निश्चित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad