समाज


बिहेको उल्लास घर नपुग्दै सकियो, बेहुला र बेहुलीको गाउँ शोकमग्न

बिहेको उल्लास घर नपुग्दै सकियो, बेहुला र बेहुलीको गाउँ शोकमग्न

बैतडी बस दुर्घटनामा मृत्यु भएका बेहुला र बेहुलीका आफन्तजन।


नेपालखबर
माघ २३, २०८२ शुक्रबार २०:२, कञ्चनपुर

बैतडीको पुर्चौडी नगरपालिका-७, भौने गाउँ बिहीबार बिहेको उल्लासमा थियो। दिनभर बिहेको कामकाज सकेपछि बेलुकीतिर बेहुलीलाई घरबाट बिदाइ गरियो। 

बेहुलीको घर भौते गाउँबाट बझाङको बित्थडचिर गाउँपालिका-७, लघुणासा लागि हिडेको केहीबेरमा बिहेको उल्लास शोकमा परिणत भयो। जन्ती बोकेको बस पुर्चौडी-७ बढ्गाउँमा दुर्घटना भयो। 

यो घटनाले भौने र लघुणासा गाउँलाई शोकमा डुबाएको छ। बेहुला-बेहुलीसँगै जीपमा बेहुलीका भाइ सोमराज थिए। पछि पछि हुँइकिरहेको पवनदूत यातायातको सु.प्र. ०२९००१ ख १११९० नम्बरको बसमा अर्का भाइ सुशिल र जन्ती चढेका थिए। 

बस जन्तीले खचाखच भरिएको थियो। बिहेको खुशी लिएर यात्रा सुरु भएको १५ मिनेट मात्र भएको थियो, मढगाउँ मोडमा पुग्दा उकालोमा बस एक्कासी बन्द भयो। पछाडि गुड्दै भीरबाट खस्यो।

‘चालकले प्रयास गर्दा पनि बस रोकिएन। पछाडि गुडेर भीरबाट बस खस्यो,’ बसबाट हाम फालेर ज्यान जोगाएका अम्मरराज जोशी भन्छन्, ‘उत्तिसको रुख रहेछ, त्यहीँ अड्किएँ।’

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थल, २ जनाको कोटिला स्वास्थ्य चौकी र अन्य ५ जनाको डडेल्धुरा अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको हो।

घाइते ३४ जनामध्ये ९ जनालाई डडेल्धुरा अस्पतालबाट रेफर गरिएको छ। डडेल्धुरा अस्पतालबाट १२ जना घाइते डिस्चार्ज भएका छन् भने ११ जना उपचाररत छन्। 

४ जना घाइतेको बझाङको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मृतक र घाइते बेहुला र बेहुली पट्टीका आफन्त, इष्टमित्र धेरै छन्। दुर्घटनामा घाइते बेहुलीका भाइ सुशीलको उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। 

बित्थडचिर-७ लघुणासाका बुवाछोरा र दाजुभाइले नै दुर्घटनामा ज्यान गुमाएका छन्। ४० वर्षीय केशवराज जोशी र उनका १३ वर्षीय छोरा अशोकले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जन्ती गएका नरेन्द्र र विष्णु जोशी दाजुभाइ पनि घर पुग्न पाएनन्। ४२ वर्षीय नरेन्द्र र उनका भाइ ४१ वर्षीय बिष्णुको दुर्घटनामा मृत्यु भयो। 
बेहुलाका काका नाता पर्ने उनीहरू ढलेपछि परिवारमाथि बज्रपात परेको छ। नरेन्द्र बित्थडचिर-६ का वडा सचिव थिए भने विष्णु बित्थडचिरको लीमस्थित महादेव माध्यमिक विद्यालयमा शिक्षक थिए। 

उनीहरूका भतिज (दाजुका छोरा) ३५ वर्षीय वसन्तराज जोशीको पनि घटनास्थलमै मृत्यु भएको छ। उनी कृषि प्राविधिक थिए। 

केदारस्युँ गाउँपालिका-४ का ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका-७ का ४० वर्षीय बसन्तराज रतला र पुर्चौडी नगरपालिका-७ की ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको थियो। 

वित्थडचिर-७ लाघुणासाका १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी र केदारस्युँ गाउँपालिका-७ का २७ वर्षीय केशवराज भट्टको पनि मृत्यु भएको थियो। लाघुणासाका मात्रै ८ जनाले ज्यान गुमाए। 

जन्तीको पर्खाइमा रहेका गाउँले शोकमा डुबेका छन्। बित्थडचिर गाउँपालिका-७ का वडाध्यक्ष दिनेश अधिकारीका अनुसार दुर्घटनामा मृत्यु भएका गाउँलेको शव देउलेख पुर्‍याइएको छ। अहिले गाउँ लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad