राजनीति


बालुवाटारमा ओलीका पाँच आशंका र तीन प्रतिबद्धता

बालुवाटारमा ओलीका पाँच आशंका र तीन प्रतिबद्धता

लोकेन्द्र भट्ट
माघ २२, २०८२ बिहिबार १९:१६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आसन्न फागुन २१ को निर्वाचनका विषयमा छलफल भएको छ।

एमाले अध्यक्ष ओली नेता विष्णु रिमाललाई साथमा लिएर बिहीबार बिहान १० बजे प्रधानमन्त्री कार्कीसँगको भेटवार्ताका लागि बालुवाटार पुगेका थिए। बालुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच भएको ४५ मिनेटको संवादमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी थिए। 

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले हिमाली क्षेत्रमा निर्वाचन दोस्रो चरणमा गर्न पनि सकिने भनि दिएको अभिव्यक्तिप्रति ओलीको पहिलो चासो थियो। ‘चुनाव एकै चरणमा होस्। कुनै कारण स्थगित हुँदा वा दोहोर्‍याएर चुनाव गर्नुपर्ने अवस्था आउँदा एउटा चुनाव र अर्को चुनावको बीचमा ग्याप धेरै नहोस्,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

दोस्रो, अध्यक्ष ओलीले मतदान सम्पन्न हुनासाथ तत्कालै मतगणना गर्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री कार्कीको ध्यानकर्षण गराएका थिए। तेस्रो, मतदानस्थलको सुरक्षामा जोड दिएका थिए। 

चौथो, अध्यक्ष ओलीले चुनावी सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका थिए। पूर्वप्रधानमन्त्री ओलीको पाँचौ चासो निर्वाचनमा सेनाको परिचालबारे थियो। 

ओलीको भनाइ उद्धृत गर्दै एमाले निकट स्रोतले भन्यो, ‘नागरिकको सुरक्षा हुनुपर्छ। मतदानस्थलको पनि सुरक्षामा कमी नहोस्। मलाई निर्वाचनमा धाँधली हुनसक्ने आशंका छ। नेपाली सेनालाई निर्वाचनको अग्रभागमा नराखियोस्। नेपाली सेना ब्याक फोर्समा रहोस्।’ 

जवाफमा प्रधानमन्त्री कार्कीले कतैबाट पनि प्रश्न नउठ्ने गरी स्वतन्त्र, भयरहित, निष्पक्ष वातावरणमा चुनाव हुने बताएकी थिइन्। ‘शान्तिपूर्ण तरिकाले निर्वाचन गराउनका लागि तपाईं हामी सबैको भूमिका हुन्छ। अहिलेसम्म तपाईहरू पनि जिम्मेवार ढंगले प्रस्तुत भइरहनु भएको छ,’ उनले भनिन्, ‘हामीहरू सन्तुष्ट छौँ। हामी शान्तिको लागि काम गरिराखेका छौँ। शान्ति कायम गर्न, शान्तिपूर्ण ढंगले रुपान्तरण गर्न र यो अध्यायलाई सही ढंगले विसौनीमा पुर्‍याएर नयाँ अध्यायको ढोका खोल्नका निम्ति तपाईहरू पनि लाग्नुहोस्। यो हामी सबैको जिम्मेवारी हो।’

प्रधानमन्त्री कार्कीले फागुन २१ मा सबै ठाउँको चुनाव गराउने बताएकी थिइन्। चुनावको बीचमा कुनै चाडपर्व वा सजिला, अप्ठ्यारा आए पनि धैर्यपूर्वक सबै मिलेर सामना गर्नुमा प्रधानमन्त्री र अध्यक्ष ओली सहमत रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतको भनाइ छ। ‘अप्रत्यासित रुपमा आइलागेको जिम्मेवारी हो। सबै मिलेर पूरा गरौँ। पात्र हेरेर निर्धारण गरिएको कुरा होइन। यो आपतकालीन अवस्थामा हो। यसलाई आपतकालीन रुपमै हेर्नुपर्छ, बुझ्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो।

कुराकानीका क्रममा ओलीले माघ २३ मा झापा जान लागेको बताउँदै अशान्ति, आचारसंहिता उल्लंघन र बुथ कब्जा आफूबाट नहुने प्रतिबद्धता व्यक्त गरेका थिए। ‘भोलि म झापा जाँदै छु। एमाले ध्वंसमा विश्वास गर्दैन। शान्तिमा विश्वास गर्छ। एमाले कही पनि आचारसंहिताको उल्लंघन गर्दैन। झापामा मेरो क्षेत्र (झापा-५) मा अहिलेसम्म बुथ कब्जा भएको रेकर्ड पनि छैन। मेरो पक्षबाट शान्ति सुरक्षामा असर पर्ने गतिविधि हुँदैन। प्रधानमन्त्रीज्यू पनि ढुक्क हुनुहोस्,’ ओलीको प्रतिबद्धता थियो। 

छलफलमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच पुरानो सम्बन्ध र विषयवस्तुमा पनि अनौपचारिक कुराकानी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad