खेल


टी-२० विश्वकप: भारतीय कप्तान यादवद्वारा पाकिस्तानसँग खेल्न टिकट काटिसकेको खुलासा

टी-२० विश्वकप: भारतीय कप्तान यादवद्वारा पाकिस्तानसँग खेल्न टिकट काटिसकेको खुलासा

पत्रकारका प्रश्नको जवाफ दिँदै भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादव।


लक्ष्मी जि.सी
माघ २२, २०८२ बिहिबार १९:२०, मुम्बइ, भारत

भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले आगामी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानसँगको खेललाई लिएर आफ्नो टोली पूर्ण रूपमा स्पष्ट रहेको बताएका छन्। राजनीतिक खिचातानीका कारण भारत र पाकिस्तानबीचको खेल हुने वा नहुने अन्योल चिर्दै कप्तान यादवले आफूहरू खेल्न तयार रहेको र सबै प्रक्रिया अघि बढिसकेको खुलासा गरेका हुन्।

एसियाली क्रिकेटका दुई महारथीबीचको खेललाई लिएर लामो समयदेखि बहस भइरहेका बेला सूर्यकुमारको यो भनाइले क्रिकेट वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ।

'पाकिस्तानसँगको खेलका लागि हामी स्पष्ट छौँ,' उनले बिहीबार मुम्बइमा सञ्चारकर्मीसँग भने, 'अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)बीचको सल्लाहबमोजिम नै तटस्थ स्थानमा खेल तय गरिएको हो।'

भारत सरकारले सुरक्षाको कारण देखाउँदै पहिले टोलीलाई पाकिस्तान पठाउन अस्वीकार गरेपछि पाकिस्तानले पनि भारतमा खेल्न छाडेको थियो। यी दुई देश सहभागी हुने प्रतियोगिता 'हाइब्रिड मोडल'मा हुन थालेको हो। एक अर्काको देशमा नखेल्ने भएपछि तेस्राे देशमा खेल आयोजना गर्ने सहमती भएको थियो। 

'हामीले नखेल्ने भनेका छैनौँ, हामी खेल्न सधैँ तयार छौँ,' यादवले थपे, 'टोलीभित्र यस विषयमा कुनै द्विविधा छैन। हामी फेब्रुअरी ७ को खेलपछि दिल्ली जानेछौँ र त्यहाँबाट कोलम्बो जानका लागि टिकटसमेत काटिसकेका छौँ।'

राजनीतिको छायामा क्रिकेट
पछिल्लो समय  भारत र पाकिस्तानबीचको द्विपक्षीय क्रिकेट प्रतियोगिताहरू ठप्प छन्। यी दुई टोली केवल आईसीसी र एसीसीका बहुपक्षीय प्रतियोगितामा मात्र खेल्ने गर्छन्। आईसीसी टी-२० विश्वकपमा यो पटक मैदानभित्रको प्रतिस्पर्धाभन्दा मैदानबाहिरको कूटनीति  हाबी देखिएको हो। 

भारतीय कप्तानको भनाइले खेल रद्द हुने वा भारत सहभागी नहुने अन्योल हटाइदिएको छ। फेब्रुअरीको दोस्रो साता कोलम्बोको आर प्रेमादासा रंगशालामा हुने भनिएको यो भिडन्तको प्रतीक्षामा विश्वभरका क्रिकेट प्रेमी रहेका छन्। आईसीसी टी-२० विश्वकप माघ २४ गतेदेखि सुरु हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad