राजनीति


बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैन: गगन थापा

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैन: गगन थापा

नेपालखबर
माघ २१, २०८२ बुधबार १९:४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब सत्ताका लागि जोसँग पनि नमिल्ने बताएका छन्। 

बुधबार भिडिओ सन्देश जारी गर्दै विगतका कमिकमजोरीको समीक्षा गर्दै कांग्रेस बदलिएको बताए।  कांग्रेसलाई बदल्न धेरै मेहेनत गर्नु परेको उनको भनाइ छ। उनले भनेका छन्, ‘सजिलो थिएन तर, यो गर्नेपर्ने थियो। हामी अहिले कांग्रेसलाई बदलेर आएका छौँ।’

कांग्रेस बदलिएको मतलब अनुहार मात्रै नफेरिएको उनको जिकिर छ। ‘यो पुरानो कांग्रेस होइन नयाँ, बदलिएको कांग्रेस हो। बदलिएको भनेको एउटा अनुहार, नेतृत्वको अनुहार मात्र बदलिएको होइन,’ थापाले भनेका छन्। 

अब बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि नमिल्ने उनको भनाइ छ। ‘बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै पनि राख्दैन। सिद्धान्तसँग सम्झौता गर्नुपरे बरू यसले छाड्छ। जे छाड्न परे त्यो छाड्छ। सत्तामा पुग्न र सत्ता टिकाउनका लागि जे पनि गर्ने र जोसँग पनि मिल्ने यसले गर्दैन’,’ थापाले भनेका छन्। 

बरु सरकार बाहिर बस्ने तर सम्झौता नगर्ने उनले बताएका छन्। कांग्रेस स्थापना गर्दा अंगालेका नीतिमा पार्टीलाई फर्काउने उनको भनाइ छ। ‘पार्टी भनेको चुनाव मेसिनजस्तो चुनाव लड्ने मात्र होइन। हाम्रा संस्थापकहरूले पार्टी स्थापना गर्दा पार्टी भनेको सामाजिक आन्दोलन हो भन्ने सोच्नुभयो, हामी फेरि कांग्रेसलाई त्यही ट्र्याकमा ल्याउँछौँ,’ उनले भने। 

बदलिएको कांग्रेस भनेको पुरानासँग अलग भएको भन्ने अर्थ नलगाउन पनि उनले आग्रह गरेका छन्। ‘हिजोको सबै नेताहरू खराब हुन् भन्ने होइन। बदलिएको भनेको हामी नयाँ सोचका साथ आएका छौँ, नयाँ भन्नुको मतलब पुरानासँग सम्बन्धविच्छेद भएको भन्ने पटक्कै होइन’, उनले भनेका छन्। 

कांग्रेसका आधारस्तम्भ अंगिकार गर्ने उनले बताएका छन्। थापाले भनेका छन्, ‘डेमोक्रेसी, सोसल जस्टिस, डाइभर्सिटी यो त हाम्रो आत्मा हो, हाम्रो जरा हो। नयाँ कांग्रेसले यो जरालाई त अझ फैलाउने हो।’

कांग्रेसले जेनजीका मुद्दा सम्बोधन गर्ने बताएका छन्। जेनजीका मुद्दा अनुसार कांग्रेस बदलिएको अब कार्यान्वयनका लागि सरकारमा जाने अवसर पाउने उनको विश्वास छ। 

‘तपाईंको आह्वानका आधारमा कांग्रेस बदलिएको छ, अब तपाईंसहितको विश्वासले बदलिएको कांग्रेसले देश बदल्नेछ’, सभापति थापाले भनेका छन्, ‘तपाईंले यो सन्देश जनजनमा पुर्‍याइदिनुपर्छ। हरेक नागरिकमा यो सन्देश दिएर देशको परिवर्तनको नेतृत्वका लागि काम गर्ने अवसर दिनुपर्छ।’

कांग्रेसले युवालाई विश्वासमा लिएर अघि बढ्ने उनले जिकिर गरेका छन्। ‘आजको नेपाली कांग्रेस युवालाई विश्वास र साथ लिएर सँगसँगै हिँडाउन चाहन्छ। एकछिन सुन्नुभयो भने तपाईं रुख चिह्नमा मत हाल्न तयार हुनुहुनेछ,’ थापाले भनेका छन्, ‘अरुलाई पनि रुख चिह्नमा मत हालेर नयाँ युगको आवश्यकता सम्बोधन गर्ने पार्टीलाई साथ दिन तयार हुनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad