आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ।
निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति रोक्न आयोगले बुधबार टिकटकसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।
आयोगको सचिवालयमा आयोजित कार्यक्रममा सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका प्रतिनिधि फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको उपस्थितिमा भएको यो सम्झौताले निर्वाचनको मौन अवधि र प्रचारप्रसारका क्रममा टिकटकमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ।
भ्रामक प्रचार रोक्ने कडा नीति पछिल्ला निर्वाचनहरूमा टिकटक जस्ता प्लेटफर्ममा उम्मेदवारविरुद्ध चरित्र हत्या गर्ने र झुटा दाबी गरिएका भिडियोहरू भाइरल हुने चुनौती थपिएको छ।
समझदारी अनुसार, अब टिकटकले निर्वाचन आचारसंहिता विपरीतका सामग्रीलाई प्राथमिकताका साथ हटाउनेछ। आयोगले आफ्ना कर्मचारीलाई टिकटकको ‘कन्टेन्ट मोडरेसन’ सम्बन्धी तालिम दिने र निर्वाचन विशेष सूचना प्रवाहका लागि छुट्टै संयन्त्र बनाउने योजना पनि अघि सारेको छ।

यसअघि २०७९ को आम निर्वाचनमा पनि आयोगले मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एपको मातृ कम्पनी) सँग सहकार्य गरेको थियो। नेपालमा करिब ८० प्रतिशत इन्टरनेट प्रयोगकर्ताले कुनै न कुनै सामाजिक सञ्जाल प्रयोग गर्ने तथ्याङ्क रहेकाले निर्वाचनको स्वच्छता कायम गर्न यी प्लेटफर्म सबैभन्दा चुनौतीपूर्ण मानिँदै आएका छन्।
Shares

प्रतिक्रिया