नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मुलुकको कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने प्रस्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका महासचिव विप्लवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थामा जोड दिएर आफ्नो पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको बताएका हुन्।
घोषणा पत्रमा प्रतिनिधि सभा पूर्ण समानुपातिक हुनुपर्ने र सरकारमा विज्ञहरूको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ।
महासचिव विप्लवले प्रतिनिधि सभामा सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व गराउनेगरी पूर्णसमानुपातिक हुनुपर्ने प्रश्ताव गरिएको बताए। उनले सरकारमा विज्ञहरूको उपस्थितिलाई बलियो बनाउने कुरालाई घोषणा पत्रमा प्राथमिकता दिइएको बताए।
उनले भने, ‘संविधान पुनर्लेखन गरिनेछ। विभिन्न जाति, क्षेत्र र लिंगका मानिसहरुको अधिकारलाई सुनिश्चित गरिनेछ। शासकीय स्वरुपमा नेपालको कार्यकारी प्रमुख राष्ट्रपति प्रणालीमा जानुपर्छ भनेर हामीले यहाँ प्रस्ताव गरेका छौँ। त्यो राष्ट्रपतीय प्रणालीमा जाँदा संविधानको नयाँ व्यवस्था र राज्यको नयाँ पुनर्संरचनासहित जाँदा शासकीय स्वरुप राष्ट्रपति र त्यसको त्यसको निर्वाचन प्रत्यक्ष जनताद्वारा हुने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो दोस्रो व्यवस्था छ। प्रतिनिधिसभा पूर्ण समानुपातिक हुनुपर्छ। विज्ञसहितको कार्यपालिका हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ।’
घोषणा पत्रमा युवाहरूको विदेश पलायनलाई रोक्नका लागि देशभित्रै रोजगारीको अवस्था सिर्जना गर्ने, भारतसँग गरिएको कुनैपनि खालका असमान सन्धि सम्झौता खारेज गर्ने लगायतका बुँदा समावेश गरिएका छन्।
महासचिव विप्लवले आर्थिक क्षेत्रको विकासका लागि आम जनतालाई उत्पादनमा जोडनेगरी काम गर्नुपर्ने प्रतिवद्धता पनि आफूहरुको रहेको बताए। संविधान पुनर्लेखनको विषयलाई घोषणा पत्रमा उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया