कारोबार


नेपाल पुनर्बीमाका अध्यक्ष पौडेलसहित ‘ग्याङ एट’विरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

नेपाल पुनर्बीमाका अध्यक्ष पौडेलसहित ‘ग्याङ एट’विरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

नेपालखबर
माघ १८, २०८२ आइतबार १६:४५, काठमाडौँ

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक एवं नेपाल पुनर्बीमा कम्पनीका हालका अध्यक्ष सुरेन्द्र कुमार पौडेल उदयपुर सिमेन्टको भ्रष्टाचारमा तानिएका  छन्। 

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक रहेका पौडेलसहित ८ जनाविरुद्ध क्लिंकर खरिदमा हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

पौडेलसहित तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेश प्रसाद काफ्ले, तत्कालीन उत्पादन महाशाखा प्रमुख सञ्जय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, तत्कालीन क्लिंकर उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख रामबहादुर जीसीविरुद्ध मुद्दा दायर गरिएको छ। 

उनीहरुले आर्थिक वर्ष २०७४/०७५ देखि क्लिंकर आयात गरेको परिमाणभन्दा धेरै देखाएर कुल ४६ करोड  ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ सार्वजनिक सम्पत्ति क्लिंकर हिनामिना, हानि नोक्सानी तथा मासेको तथ्य स्थापित भएको अख्तियारले जनाएको छ। सोही कारण उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार कसुरजन्य कार्य भएकाले मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। 

अख्तियारले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ, साहविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ, काफ्लेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १ सय ६८ रुपैयाँ र लाल, साह, पौडेल, अधिकारी र जीसीविरुद्ध जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ बिगो दाबी गरिएको छ। 

आयोगका अनुसार प्रतिवादीहरूले आफूलाई लाभ र सरकारलाई हानि गराउन आपसी मिलेमतो तथा योजनाअनुसार नै भ्रष्टाचार गरेका हुन्।

नेपाल सरकार/सार्वजनिक संस्था/उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई हानि पुर्‍याउने बदनियतले उनीहरूले आफ्नो जिम्माको सार्वजनिक सम्पत्ति राष्ट्रसेवक पद तथा ओहदाको दुरूपयोग गरी गराई बदनियत राखी क्लिङ्करको मासिक तथा वार्षिक मौज्दात अभिलेख, भौतिक परीक्षणबाट देखिएको परिमाण, महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौँको छानबिन प्रतिवेदन समेतका आधारमा घटी देखिएको आयोगको भनाइ छ।

आ.व. २०७४/०७५ को  ११२९ मेट्रिक टन क्लिङ्करको लागत मूल्य १,१४,१०,३४० रुपैयाँ ११ पैसा, आर्थिक वर्ष २०७५/०७६ को १०२०० मेट्रिक टन क्लिङ्करको लागत मूल्य ११ करोड ३३ लाख ११ हजार ९०२ रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ को १३२५ मेट्रिक टन क्लिङ्करको लागत मूल्य १ करोड ६२ लाख ४६ हजार ७१२ रुपैयाँ ७५ पैसा  र २०७७ साउन १ देखि २०७७ पुस मसान्तसम्मको २६ हजार ११५ मेट्रिक टन क्लिङ्करको लागत मूल्य ३२ करोड ४३ लाख ५ हजार ४ सय ७१ रुपैयाँ १४ पैसा गरी कुल जम्मा ३८ हजार ७६९ मेट्रिक टन क्लिङ्करको लागत मूल्य ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ २६ पैसा सार्वजनिक सम्पत्ति क्लिङ्कर हिनामिना, हानिनोक्सानी तथा मासेको तथ्य स्थापित भएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad