आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र काभ्रे-२ बाट एकल सिफारिस भएर पनि टिकट नपाएका नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटा महेश बर्तौला दोहोरिएको क्षेत्र मकवानपुर-२ मा गएर भावुक भएका छन्।
पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले आइतबार बिहानै मकवानपुरको थाहा नगरपालिकामा खिचिएको ताजा तस्बिरसहित आफूलाई ‘जनपरित्यक्त पात्र’को उपमा दिएका हुन्।
काभ्रे-२ बाट २०७४ र २०७९ मा लगातार चुनाव जितेका बास्कोटालाई एमाले निर्वाचन क्षेत्रीय कमिटीले तेस्रोपटक उम्मेदवारमा एकल सिफारिस गरेको थियो।
तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई रोक्दै धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई यो पदबाट राजीनामा गर्न लगाईकन टिकट दिए।
यसपछि हालैको अन्तर्वार्तामा ओलीले यसपटक बास्कोटाले ‘कार्यकर्ता विभाजित बनाएको’ आरोप लगाउँदै सोही कारण टिकट नदिइएको बताएका थिए। जसविरुद्ध बास्कोटाले पनि कडा टिप्पणी गरेका थिए।
उता मकवानपुर-२ मा भने विघटित प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौला एकल सिफारिस भएका थिएनन्। उनीसँगै संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम पनि सिफारिस गरिएको थियो।
र, पनि बर्तौला फेरि टिकट पाउन सफल भए।
यस्तो अवस्थामा उनकै क्षेत्रमा गएर बास्कोटाले ‘जनपरित्यक्त पात्र’ भन्नु ओलीप्रतिको आक्रोश भएको सहजै बुझ्न सकिन्छ।

उनले फेसबुकमा लेखेका छन्, ‘शुभ बिहान! थाहा नगर जाँदा हामी। नेताको नजरमा एक जनपरित्यक्त पात्रको बयान- अग्लो ठामबाट परको हिमाल आफूभन्दा होचो र धुर्मैलो देखियो। अझ तलको थानकोट चन्द्रमाको क्रेटर। र, मानिस नि? ए, ती त केवल कमिलाजस्ता। राजनीति र प्रकृतिको दृष्टिभ्रमको मज्जाको समिश्रण भनौँ न यसलाई। तर महेश सानदार जित्छन्।’
Shares

प्रतिक्रिया