राजनीति


राजनीतिक प्रतिवेदनमा रविको आत्ममूल्यांकन- शून्यबाट उठ्यौँ, चक्रव्यूह तोड्यौँ

राजनीतिक प्रतिवेदनमा रविको आत्ममूल्यांकन- शून्यबाट उठ्यौँ, चक्रव्यूह तोड्यौँ

नेपालखबर
असार ९, २०८३ मंगलबार २२:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी राजनीतिक कार्यदिशा स्पष्ट पार्नुका साथै चार वर्षे राजनीतिक यात्राको आत्ममूल्यांकन पनि प्रस्तु गरेका छन्। 

चार वर्षको छोटो अवधिमा सिंहदरबारको बागडोर सम्हाल्न आइपुग्दा अनेकौ कठिनाइ झेल्नु परेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। 
पार्टी स्थापना गर्दा कसैले नेतृत्व लिन नमानेको अवस्थादेखि निर्वाचनबाट राजनीतिक बागडोर सम्हाल्ने अवस्थासम्मको चित्रण उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। 

यसअघिका सरकारले आफू र पार्टीलाई समेत सिध्याउने प्रयास गरेको र जनताको समर्थनले त्यो असफल भएको लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छन्। 

चार वर्षमै शून्यबाट सिंहदरवारसम्म

रास्वपाले चार वर्षको अवधिमै शून्यबाट सिंहदरबार पुगेको तथ्यलाई रवि लामिछानेले महाधिवेशन प्रतिवेदनमा रेकर्ड गराएका छन्। 

पार्टी सुरु गर्ने समयमा नेता र सदस्य बन्ने व्यक्तिसम्म नपाएको तथ्य स्मरण गर्दै लामिछानेले प्रतिवेदनमा लेखेका छन्, ‘हरेक राजनीतिक आन्दोलनका संस्थापकहरूले जस्तै हामीले पनि ठूलो अविश्वास, आलोचना र उपहास ब्यहोर्यौं। सदस्य त परको कुरा भयो, नेता बनिदिन पनि कोही तयार थिएनन्।’

त्यसबेला मानिसहरू स्थापित राजनीतिक दल र पुरानो राजनीतिक संरचनालाई पहाडसँग तुलना गर्ने गरेको र पहाडसँग कुहिनो जुधाउने रहर नगर्न सल्लाह दिएको लामिछानेले प्रतिवेदनमा लेखेका छन्। 

रास्वपा सुरु गर्ने बेलामा बरु पुरानै दलको हिस्सा बन्न सल्लाह पाएको उनले खुलाएका छन्। उनले अगाडि लेखेका छन्, ‘हामी सम्झाउन खोज्थ्यौ, यी अब पहाड रहेनन्, फोहरका थुप्रामा परिणत भइसके, यी रहिरहे भने अब यो देश रहन्न। तर समाजका प्रभावशाली व्यक्तिहरू, बुद्धिजीवी, सञ्चारकर्मी वा चर्चित व्यक्तिहरू मान्न होइन, सुन्न पनि तयार थिएनन्। जनता तयार थियो तर जान्ने–सुन्ने मानिएकाहरू तयार थिएनन्।’

‘नयाँ शक्ति’को प्रयास र ‘विवेकशील’ अभियानको नागरिक केन्द्रित हस्तक्षेपले राजनीतिलाई तरंगित पारेको भए पनि बदल्न भने नसकेको रविले प्रतिवेदनमा उल्लेख गरेका छन्। 

प्रतिवेदनमा लेखिएको छ, ‘तर, दलहरूको अपराजेय मानिएको सिन्डिकेटलाई हराएर काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाहको विजयले देखायो, परम्परागत दलहरूप्रति जनता अब विद्रोहका लागि तयार छ।’

आफू र पार्टीलाई सिध्याउने प्रयास
रास्वपाका सभापति लामिछानेले यसअघिको सरकारले आफ्नो पार्टीलाई सिध्याउन राज्यको तीनवटै अंगको दुरुपयोग गरेको दावी गरेका छन्। 

उनले पार्टीको पहिलो महाधिवेशनको बन्द सत्रमा पेस गरेको प्रतिवेदनमा २०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र उनीमाथि नाङ्गो राजनीतिक प्रतिशोध सुरु भएको उल्लेख गरेका छन्। 

प्रतिवेदनमा लेखेका छन्, ‘२०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र ममाथि नाङ्गो राजनीतिक प्रतिशोध सुरु भयो र त्यसका लागि संस्थागत संयन्त्रहरू प्रयोग भए।’ 

संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता अनुचित आरोपहरू लगाइएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। 

‘एकपछि अर्को गरी नयाँ मुद्दा थपेर अभियोजन विस्तार गरियो। रातारात जेल स्थानान्तरण गरियो, ‘अन्तिम इच्छा’ सोधियो,’ प्रतिवेदनमा लेखिएको छ, ‘हामीविरुद्ध राज्यका तीनै अंगको दुरुपयोग गरियो।’

कुटिल र जटिल कानुनी चक्रव्यूह 
तत्कालीन एमाले र कांग्रेसको सरकारले पार्टी नेतृत्वको रुपमा आफूलाई जटिल कानुनी चक्रव्यूहमा फसाउने प्रयास गरेको दाबी लामिछानेले महाधिवेशन प्रतिवेदनमा उल्लेख गरेका छन्। 

प्रतिवेदनमा उनले लेखेका छन्, ‘हाम्रो पार्टी र नेतृत्वलाई यति कुटिल र जटिल कानुनी, राजनीतिक र संस्थागत चक्रव्यूहमा फसाइएको थियो कि षड्यन्त्रकारीहरू रास्वपा सकियो भन्ने निष्कर्षमा थिए। सबै ढोकाहरू बन्द भएपछि हामी जनताको अदालतमा गयौं। चालीस लाखभन्दा बढी नागरिकले यो राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर नै गरेर ऐक्यबद्धता जनाए।’

तत्कालीन सरकारले व्यवस्थापिकामा संसदीय छानबिन समितिको निर्णयलाई राजनीतिक उपकरण बनाएको लामिछानले उल्लेख गरेका छन्।

‘कार्यपालिका त अत्याचारको कारखाना नै भयो, न्यायपालिकासमेतको दुरुपयोग भयो। चयनात्मक न्याय भयो,’ उनले भनेका छन्, ‘त्यो षड्यन्त्र नै थियो, राजनीतिक प्रतिशोध नै थियो र यो हाम्रा बिरुद्ध देशकै सबैभन्दा ठूलो सङ्गठित राजनीतिक अपराध थियो भनेर सिंगो देशले मान्यो किनकि त्यो षड्यन्त्रमा सहभागी लगभग कोही पनि अहिलेको संसदमा दोहोरिएर आउन सकेनन्।’

बलिदानप्रति कृतज्ञ, भविष्यप्रति विश्वस्त
राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघिका सबै आन्दोलनको उपलब्धीलाई सम्मान गर्ने बताएको छ।

चितवनमा जारी पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘एक शताब्दीभन्दा लामो निरंकुश शासनविरुद्ध आवाज उठाएको २००७ सालको क्रान्ति हाम्रा लागि कम पवित्र छैन। उपलब्धिको जस जोसुकैले पाएपनि २०४६ सालको आन्दोलनप्रति हामीलाई सम्मान र गर्व छ। २०६२/०६३ को आन्दोलन र त्यसका सार्थक उपलब्धिको रक्षा गर्दै, वलिदानको अवमूल्यन हुन दिने छैनौँ।’

प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी ती सबै बलिदानहरूको सम्मान गर्छ, ती सबै शहीदहरूप्रति, ती सबै आन्दोलनकारीहरूप्रति कृतज्ञता व्यक्त गर्छ, जसले आफ्नो जीवनको कुनै न कुनै हिस्सा राष्ट्रका लागि समर्पित गरे।’ 

गत भदौमा भएको जेन–जी विद्रोहको चेतना र ऊर्जा समेत पार्टीको आगामी यात्राको मार्गदर्शक बन्ने भनिएको छ।

 ‘आजको उपलब्धि, चेतना र परिवर्तनको आधार तयार गरेका हिजोका त्याग, संघर्ष र योगदानलाई उच्च सम्मान गर्दै हामी यो संकल्प गर्दछौं कि, कुनै वलिदान खेर जाने छैन। भविष्यले न्याय, सुशासन, समावेशिता र समृद्धि पर्खेको छ। हामी देशलाई त्यहाँ पुर्‍याउनेछौं,’ लामिछानेले प्रतिवेदनमा भनेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad