मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण स्थान, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी स्थानमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
तर मनसुन कमजोर अवस्थामा रहेकाले वर्षाको सम्भावना भने खासै देखिएको छैन। यही असार ५ गते कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन हिजो (असार ८) मात्र लुम्बिनी प्रदेशसम्म फैलिएको हो। यद्यपि हाल यो कमजोर अवस्थामा रहेको मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। कोसी प्रदेशका तराई भूभागका थोरै स्थान र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने आज तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ।
यस्तै राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। कोसी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छ कि छैन?
आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
तर त्यो सम्भावना अलि कम रहेको मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।
‘मध्याह्नपछि बादल बढ्दै गएर काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना त छ’, उनले आज बिहान नेपालखबरसँग भने, ‘तर सम्भावना अलि कम छ।’
मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत मात्र छ।
‘किनिक मनसुन भए पनि कमजोर अवस्थामा छ’, उनले भने।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया