राजनीति


मोरङ ३ : ०७९ मा एमालेको किल्ला भत्काएका सुनिल यसपटक आफैँ असुरक्षित

मोरङ ३ : ०७९ मा एमालेको किल्ला भत्काएका सुनिल यसपटक आफैँ असुरक्षित

सुमन सुस्केरा
माघ १८, २०८२ आइतबार ९:५४, विराटनगर

मोरङ क्षेत्र नम्बर ३ मा चुनावी रस्साकस्सी चुलिँदैछ। चुनावी प्रचार प्रसार चुलिँदै जाँदा दलका नेताहरू कतिपय भेटघाटमा, कतिपय घरदैलोमा व्यस्त छन्। 

पथरी शनिश्चरे नगरपालिकाको १–४ र ७–१०, कानेपोखरी गाउँपालिकाको ४–७, बेलबारी नगरपालिकाको १–४ र ८–११ तथा सुन्दरहरैचा नगरपालिकाको वडा १ र ८–१२ समेटिएको यो क्षेत्रको चुनावी माहोल निक्कै रोमाञ्चक हुने देखिएको छ। 

यी सबै पालिका एमालेले जितेर पनि यस अघिको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका सुनिल शर्माले २२ हजार बढी मत ल्याएर जितेको क्षेत्र हो यो। 

यस पटक मोरङ ३ मा कसले बाजी मार्ला मतदाताले विभिन्न अनुमान लगाइरहेका छन्। 
 

एमालेले यो क्षेत्रबाट इरनकुमार राईलाई उम्मेदवार बनाएको छ। 

राई बेलबारी क्षेत्रका स्थापित सामाजिक व्यक्ति हुन्। २०३५ सालदेखि बेलबारीमा बसोबास गर्दै आएका उनले अंग्रेजी साहित्यमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्। 

शैक्षिक संस्थाहरूमा लामो समय काम गरेका राई यसअघि निजी विद्यालयको संस्थापक र प्रधानाध्यापकको भूमिकामा थिए। 

बेतना सिमसार संरक्षण समिति तथा वन उपभोक्ता समितिको संस्थापक अध्यक्ष र सचिव भएर पनि काम गरेकोले उनी यस क्षेत्रको सबैसँग सम्बन्ध स्थापित भएको नेताको रुपमा चिनिन्छन्। उनले १५ वटा साहित्यिक कृति पनि प्रकाशित गरेका छन्। 

अहिले मत माग्दै गर्दा राईले सार्वजनिक खरिद ऐन झन्झटिलो भएका कारण यसलाई सरल बनाउने एजेन्डा अघि सारेका छन्। पथरी–शनिश्चरे लगायतका क्षेत्रमा रहेको जग्गाको दोहोरो स्वामित्वको समस्यालाई कानुन संशोधन मार्फत समाधान गर्ने उनको अर्को एजेण्डा छ। 

त्यसैगरि तमोर–चिसाङ डाइभर्सनलाई राष्ट्रिय गौरवको आयोजना बनाउँदै यसबाट झापा, मोरङ र सुनसरीमा सिँचाइ, पिउने पानी र जलविद्युतको सुविधा पुर्याउने योजना पनि उनले मतदातालाई सुनाइरहेका छन्।  

पूर्व–पश्चिम राजमार्गलाई प्राकृतिक र सांस्कृतिक रूपमा सौन्दर्यकरण गरि पर्यटन प्रवद्र्धन गर्ने तथा बेतना सिमसार जस्ता क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्ने उनको अर्को योजना छ। त्यसैगरि शैक्षिक सुधारका एजेन्डा पनि उनले अघि सारेका छन्। 

‘विद्यार्थीहरू स्नातक तह पढ्न विदेश जाने ट्रेन्डलाई रोक्न स्थानीय क्याम्पसहरूको गुणस्तर सुधार गर्ने र कमाउँदै पढ्दै गर्ने वातावरण बनाउनु पर्छ,’ उनले भने, ‘जसले रोजगारी पनि सिर्जना गर्छ। वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उद्योग खोल्नका लागि सरकारले मुआब्जा दिएर वा बाँझो जमिन व्यवस्थापन गरेर निशुल्क वा सस्तोमा जमिन उपलब्ध गराउने नीति ल्याउनुपर्छ।’

स्वास्थ्यको नारा बेच्दै शर्मा
नेपाली कांग्रेसका नेता एवम् मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार सुनिल शर्माले २०७९ सालको निर्वाचनमा नेकपा एमालेका नेता भानुभक्त ढकाललाई पराजित गर्दै पहिलोपटक प्रतिनिधी सभाको यात्रा तय गरेका थिए। 

उनै शर्मा अहिले मतदाता र कार्यकर्तासँग भेटघाट गर्दै मत मागिरहेका छन्। 

कांग्रेसका नेता कार्यकर्ता पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावको प्रभाव मोरङ ३ मा नरहेको दाबी गर्छन्। 

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति गणेश खड्काले उम्मेदवारलाई प्रत्यक्ष नचिनिएका कारण व्यक्तिको भन्दा पनि देशभर चलेको लहरले गर्दा समानुपातिकतर्फ केही मत जान सक्ने भए पनि प्रत्यक्षतर्फ रास्वपाको प्रभाव राम्रो नरहेको दाबी गरे। 

कांग्रेसले शर्मालाई जनताको मर्का बुझ्ने र उपचार नपाएर कसैलाई मर्न नदिने सहज नेताका रूपमा प्रचार गर्दै मत मागिरहेका छन्। 

मतदातालाई फकाउन विरानगरमा आफूले संचालन गर्दै नोबेल मेडिकल कलेजमा उपचारमा छुट दिने, शिविर संचालन गर्ने लगायका काम गर्दै आएका छन्।  

खानेपानी, बाटोघाटो, सिँचाइ र विशेषगरी मेडिकल कलेजमार्फत स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानलाई शर्माले चुनाव जित्ने प्रमुख आधार मानेका छन्। 

यद्यपि, मतदाता र कार्यकर्ताले भने शर्मा युवा मैत्री हुनु पर्ने मत अघि सारेका छन्। शर्माले निर्वाचित भएर गएपछि सुकुम्बासी समस्यालाई बेवास्ता गरेको आरोप लाग्ने गरेका छ। 

त्यसैगरि औद्योगिक विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा बेवास्ता गरेको भन्दै मतदाताले उनको आलोचना गर्दै आएका छन्। 

२०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट एमालेका भानुभक्त ढकालले ४२ हजार ४१३ मत ल्याउँदा शर्मा ४० हजार ५०७ मत ल्याएर पराजित भएका थिए। उनले त्यो हारको बदला २०७९ सालमा लिए। 

एमालेका ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गर्दै उनी त्यतिबेला विजयी भएका थिए। 

डा.शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८९५ मत पाएका थिए। 

त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार भएकी रेखा थापाले १० हजा ९८८ मत प्राप्त गरेकी थिइन्। 
 
सुकुम्बासीका एजेण्डा बोक्दै रास्वपा
यस क्षेत्रका अर्का प्रतिस्पर्धी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की।  मोरङको पथरी शनिश्चरे–४ मा जन्मिएर त्यहीँ पढेका कार्की दमक बहुमुखी क्याम्पसबाट साइन्स र अस्कल क्याम्पस (काठमाडौँ) बाट बी.एससी.गरेका छन्। 

त्यसैगरि पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञानमा एमएससी गरेका उनले केही समय ताप्लेजुङको सरकारी स्कुलमा विद्यार्थी पनि पढाए। 

त्यसैगरि उनले विगतमा केही महिना मेडिकल रिप्रिजेन्टेटिभ (एमआर)को रूपमा पनि काम गरेका थिए। पानीफोटो डट कम मार्फत ब्लगरको रूपमा चिनिएका उनी पथरी एफएमको संस्थापक मध्येका एक हुन्।

विभिन्न टीभी सिरियलहरूको निर्माता भएर पनि उनले काम गरेका छन्। 

अध्ययनका लागि ७ वर्ष नर्वेमा बसेर नेपाल फर्किएका कार्की ०७९ को निर्वानमा बालेन शाहले काठमाडौँको मेयरमा उम्मेदवारी दिँदा उनको प्रचारकको रुपमा खटिएका थिए। 

हाल रास्वपाको केन्द्रीय सदस्य रहेका कार्की आफु  रास्वपाको घोषणापत्र लेख्ने मुख्य तीन जनामध्ये एक भएको दावी गर्दै अहिले मत मागिरहेका छन्। 

क्षेत्र नम्बर ३ का मतदातासँग भोटका लागि जाँदै गर्दा सुकुम्बासी र जग्गाको दोहोरो स्रेस्ताको समस्या समाधान गर्ने नारा उनले यो चुनावमा अघि सारेका छन्। 

त्यस्तै बेतना सिमसार र वन क्षेत्रलाई वातावरणमैत्री हिसाबले दिगो विकास गरी पर्यटनमा जोड्ने, राजवंशी लगायत सबै जातजाति र धर्मको सांस्कृतिक सम्पदा संरक्षण गर्ने र पूर्वाञ्चल विश्वविद्यालय सहित अस्पताल र सरकारी विद्यालयहरूको अवस्था सुधार गर्ने आफ्नो मुख्य एजेण्डा रहेको कार्की बताउँछन्। 

सार्वजनिक स्थलको सरसफाइ, मर्निङ वाकका लागि ससाना पार्क, व्यायाम गर्ने ठाउँहरूको निर्माण गर्ने तथा धुलोरहित बाटो र खानेपानीको व्यवस्था जस्ता नारा पनि उनका चुनावी एजेण्डा हुन्।  

मान्छेहरू पैसा कमाउन मात्र नभई यहाँको सिस्टम र सरकारी कार्यालयमा हुने सास्तीका कारण विदेशिएको भन्दै उनले मतदतालाई आफूप्रति आकर्षित गरिरहेका छन्। 

नागरिकको आत्मसम्मान फिर्ता ल्याउन सके विदेशिने क्रम घट्ने उनको तर्क छ।  उनी भन्छन्, ‘म स्थानीय हुँ। सबै क्षेत्र हाम्रो पकडमा रहेको कारण  सबैको साथ र सहयोगले चुनाव जित्छु।’

यी हुन उम्मेदवार
मोरङ ३ बाट नेपाली कम्युनिष्ट पार्टीका डा. देउमान सम्वाहाम्फे, राष्ट्रिय ऊर्जाशील पार्टीबाट भुवन कुमार वाग्ले, नेपाल मजदुर किसान पार्टीका परशुराम विश्वास थारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिल्ली बहादुर जबेगू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का खड्ग बहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम प्रसाद सुवेदी पनि उम्मेदवार छन्। 

त्यसैगरि मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, संयुक्त नागरिक पार्टीका विदुर अधिकारी, श्रम संस्कृति पार्टीका अमिर मगर, जनता समाजवादी पार्टी नेपालका मजेवुल रहमान, आम जनता पार्टीका कमल कुमार राई, जय मातृभूमि पार्टीका नवराज मास्के, उज्यालो नेपाल पार्टीका मित्रसेन योन्जोनले पनि मोरङ ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

त्यसैगरि स्वतन्त्रमा गणेश मिश्रा र तेज प्रसाद भण्डारी पनि मैदानमा छन्। यी सबै उम्मेदवारले निर्वाचन आफूले नै जित्ने दाबी गर्दै मत मागिरहेका छन्। 

तर, मोरङ ३ मा मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र रास्वपाबीच नै हुने आँकलन गरिएको छ। 

मोरङ ३ मा पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालि पर्छन्। यी सबै पालिका एमालेले जितेको छ। 

बेलवारीमा उपप्रमुख मात्रै कांग्रेसले जितेको छ। 

पालिकाहरुमा दलीय उपस्थिति एमालेको बलियो देखिएपनि आगामी फागुन २१ गते हुने निर्वाचनमा भनेँ फरक आँकलन गर्न थालिएको छ। 

यो क्षेत्रमा सुनिल शर्माले यसअधि जसरी सहजै जित हाँसिल गरेका थिए, यसपटक त्यो नहुने कांग्रेसका स्थानीय नेता कार्यकर्ता नै बताउँछन्। 

पथरी बजार क्षेत्रमा रास्वपाको चर्चा धेरै देखिन्छ। बेलवारी बजार क्षेत्रमा नेकपा एमाले, रास्वपा र कांग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ भने कानेपोखरीमा एमालेले आफ्नो पकड क्षेत्रको रुपमा दावी गर्दै आएको छ। 

त्यस्तै सुन्दर हरैँचाका केही वडालाई रास्वपाले आफ्नो एकलौटी दाबी गर्दै आएको छ। यसअघिको निर्वाचनमा यहाँका केही वडामा एमाले, कांग्रेस र रास्वपाले बराबरी जस्तै मत पाएका थिए। 

यो पटक सुनिल शर्मालाई विगतमा आफूले पाएका भोट सुरक्षित गर्न निकै सकस  हुने आँकलन गरिएको छ। यही मौकामा रास्वपा मोरङ ३ बाट आफ्ना उम्मेदवार निर्वाचित हुने दाबी गर्दै मत मागिरहेको छ। 

नेकपा एमाले भने यहाँ विगतको आफ्नो विरासत फर्काउने दाउमा छ। पथरी शनिश्चरेका केही वडा र कानेपोखरीको एउटा वडामा श्रम संस्कृति पार्टीको पनि उपस्थिति राम्रै रहेको स्थानीय बताउँछन्। 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले प्राप्त गरेको थियो। 

त्यतिबेला एमालेले २७ हजार २७८, कांग्रेसले २५ हजार ३८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १७ हजार ७६१ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले ८ हजार ८२२ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)६ हजार ५१५ मतप्राप्त गरेको थियो। 

अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले यो क्षेत्रमा गठबन्धन गरेका थिए। गठबन्धनकै बलमा त्यतिबेला सुनिल शर्माले झण्डै ९ हजार मत तत्कालीन नेकपा माओवादीको प्राप्त गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad