नेपाली कांग्रेसका सभापति गगन थापाले स्टन्ट गरेर देशको प्रणाली सुधार नहुने बताएका छन्।
विगतमा आफू निर्वाचित हुँदै आएको काठमाडौँ ४ मा शनिबार आयोजिक निर्वाचन परिचालन समितिको कार्यक्रममा थापाले स्टन्ट, जादु वा चटक गरेर प्रणालीमा सुधार नहुने बताएका हुन्।
‘हाम्रा सार्वजनिक संस्था, निकायबाट हुने कारोबारमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने कुरा हामी सबैले चाहेका छौँ नि,’ थापाले भने, ‘तर त्यसको निम्ति म जादु गर्छु, चटक गर्छ, डण्डा बोकेर जान्छु, म स्टन्ट देखाउँछु भनेर हुँदैन। सिस्टम बनाउनुपर्छ।’
उनले ठिक कानुन बनाएर प्रक्रियामा गएपछि मात्रै प्रणालीमा सुधार आउने तर्क गरे।
‘कांग्रेस सिस्टम बनाउने कुरामा विश्वास गर्छ, प्रक्रियाहरू बनाउने कुरामा विश्वास गर्छ,’ उनले भने, ‘हामी यहाँबाट परिणाम दिन चाहन्छौँ। सबै ठाउँ, चाहे विश्वविद्यालयमा भागबण्डा गरेको होस्, चाहे संवैधानिक निकायमा भागबण्डा गरेको होस्। चाहे निजामती कर्मचारीको राजनीतिकरण गरेको होस्। हामी सबै कुराहरु बन्द गर्छौँ। यो कांग्रेसको संकल्प भयो।’
उनले मतदातासमक्ष कांग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश लिएर निर्वाचनमा जान पनि कार्यकर्तालाई अपिल पनि गरे।
‘भर्खरै विशेष अधिवेशनबाट बदलिएर आएको कांग्रेस नै नयाँ दल हो,’ उनले भने, ‘तपाईँहरू घरघर गएर भन्दैगर्दा यदि कसैले भन्छ-म यसपटक पुरानो पार्टीलाई भोट दिन्न, नयाँ पार्टीलाई भोट दिन्छु। एकछिन अडिएर जवाफ दिनुहोला। पुरानो र नयाँको परिभाषा के हो? पुरानो र नयाँबिचको भेद के हो? तपाईँहरू त्यहाँ अडिएर प्रश्न गर्नुहोला।’
उनले नयाँ नै खोजेको भए कांग्रेस नै नयाँ भएको सन्देश दिन पनि कार्यकर्तालाई आग्रह गरे। ‘फागुन ६ गतेभन्दा अघि अधिवेशन गरेर आफू नेतृत्वमा आएको कांग्रेस नै नेपालको सबैभन्दा नयाँ पार्टी हो। यो कुरा मतदातासमक्ष लैजानूस्,’ थापाले भने।
अहिलेको कांग्रेसभन्दा नयाँ पार्टी अर्को नभएको दाबी पनि उनले गरे। ‘नेतृत्वको अनुहार बदलेर मात्रै कांग्रेस बद्लिएको भन्दा अपूरो हुन्छ,’ उनले भने, ‘नेतृत्वसँगै कांग्रेसको सोच र शैली पनि बदलिएको छ। हामी आज बदलिएर देश र जनताको अगाडि उभिएका छौँ।’
उनले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचनअघि पार्टीको १५ औं महाधिवेशन हुने बताए। आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने उनको भनाई थियो।
Shares

प्रतिक्रिया