काठमाडौँ क्षेत्र नम्बर २ मा सहरी, अर्ध सहरी र ग्रामीण भेग समेटिएको छ। पर्यटकीय र धार्मिक दृष्किोणले पनि महत्त्वपूर्ण छ यो क्षेत्र। यहाँ जरसिंहपौवा, शिवपुरी राष्ट्रिय निकुञ्ज, हिमाली दृश्यावलोकनका साथै ऐतिहासिक शंखरापुर सहर, बज्रयोगिनी, शालीनदी मेला, मौलिक वस्ती यहाँका विशेषता हुन्।
मुलुकको राजधानी काठमाडौँकै हिस्सा भए पनि उत्तरी भेग भौतिक विकासमा पछाडि छ।
तर विगतका चुनावलाई हेर्ने हो भने काठमाडौँ क्षेत्र नम्बर २ का मतदाता स्थिर देखिँदैनन्। जितेकालाई उनीहरू दोस्रो पटक जिताउँदैनन्। जसकारण उम्मेदवार समेत क्षेत्र परिवर्तन गर्न बाध्य हुन्छन्। त्यसको पछिल्लो उदाहरण हो, रास्वपाकी सांसद सोविता गौतमको क्षेत्र परिवर्तन।
२०६४ मा नेकपा माओवादीका झक्कुप्रसाद सुवेदीले १३ हजार ८५८ मत ल्याउँदा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल १२ हजार ३२५ मा रोकिए।
२०७० सालको निर्वाचनमा सुवेदी यो क्षेत्रमा लडेनन्। एमालेका नेपाल २१ हजार ७७४ मत सहित विजयी भए। नेपाल रौतहटबाट पनि विजयी भएका थिए। उनले गृह जिल्ला रोजे। अघिल्लो पटक नेपालसँग पराजित कांग्रेसका दीपकप्रसाद कुइकेल उपनिर्वाचनमा विजयी भए।
२०७४ मा नेपाल पुन सोही क्षेत्रबाट उम्मेदवार बने र कुइकेल पराजित भए। २०७९ मा नेपाल यो क्षेत्र पुन छाडेर रौतहट गए।
नयाँ दलको रुपमा उदाएको रास्वपाकी सोविता गौतम यो क्षेत्रमा विजयी भइन्। उनले पनि दोस्रो पटक दोहोरिने आँट गरिनन्। सो क्षेत्रमा रास्वपाले राप्रपा छोडेका सुनिल केसीलाई उम्मेदवार बनायो।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले बालेनसँग पार्टी एकीकरणपछि उम्मेदवारहरूको व्यवस्थापन गर्ने क्रममा यस्तो हुन पुगेको बताइन्।
‘एकीकरणपछि आउनुभएका साथीहरूको व्यवस्थापन गर्न यस्तो गरिएको हो,’ रावलले नेपालखबरसँग भनिन्, ‘तुलनात्मक रुपमा रास्वपाको माहोल कम हुँदा पनि जितेको क्षेत्र हो। यो पटक पनि जित्नेमा विश्वस्त छौँ।’
जनताको अपेक्षा अनुसारको काम गरिएको र अहिलेको उम्मेदवार पनि सक्षम भएकाले जित प्राप्त हुने उनी बताउँछिन्।
‘अघिल्लो सांसदले गर्नु भएको काम कारबाहीको मूल्यांकन, प्रस्तुति, त्यहाँको मुद्दाहरू उठाउनु भयो। रास्वपाको प्रस्तुतिले पनि मतदाता सन्तुष्ट हुनुहुन्छ। अब्बल सांसदको रुपमा परिचित हुनु भएको थियो। त्यो विषय पनि मूल्यांकन हुनेछ,’ उनले थपिन्।
विजयी दलले नयाँ उम्मेदवार समात्दा दोस्रो र तेस्रो स्थानका पार्टीले भने पुरानै उम्मेदवारलाई विश्वास गरेको देखिन्छ। नेकपा एमालेले मणिराम फुयाललाई उठाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले अभियन्ताका साथै उद्यमी कुन्तीदेवी पोखरेल (उपाध्याय)लाई दोहोर्याएको छ। उनीहरू दुवै रास्वपाकी सोवितासँग पराजित भएका हुन्।
सोविताले १५ हजार २३८ मत ल्याउँदा फुयाल ११ हजार ५६६ र पोखरेल ११ हजार २४ मतमा रोकिएका थिए।
यस क्षेत्रका उम्मेदवारहरूले चुनावी अभियान सुरु गरिसकेका छन्। एमाले उम्मेदवार फुयाल आफूले आन्तरिक भेला गरेको बताउँछन्।
‘निवार्चन परिचालन कमिटी बनाएर व्यवस्थित ढंगले प्रचारमा जाँदै छौँ। अहिले भेटघाट र छलफलमै छौँ,’ उनले भने।
चुनावकै प्रचारप्रसारका लागि एमाले क्षेत्र नम्बर २ का संयोजक महेन्द्रलाल श्रेष्ठ काठमाडौँको कर्णाली भनेर चिनिने शंखरापुरको वडा नम्बर २ पुगेको बताउँछन्। सो ठाउँ एमालेको गढमा पर्छ।
‘वामअर्प गर्न हामी आएको हो,’ उनले भने।
यसअघि रास्वपाले जिते पनि विकासमा माखो नमारेकोले स्थानीयले एमालेलाई भोट दिने श्रेष्ठ दाबी गर्छन्।
‘विकास र सामाजिक क्षेत्रमा योगदान गरेनन्। लाज छोप्न पनि गाह्रो परेकाले क्षेत्रै छोडेर रास्वपाका सांसद अन्यन्त्र गए। अहिले पनि भूगोल नचिनेको उम्मेदवार छ,’ उनले भने, ‘एमालेले उठाएको उम्मेदवार उत्कृष्ट हुनु हुन्छ।’
२०७९ मा चुनाव जित्ने भए पनि पार्टी विभाजन भएका कारणले गर्दा पराजित भएको एमाले निर्वाचन परिचालन संयोजक श्रेष्ठको भनाइ छ।
‘त्यतिखेर परिस्थिति बेग्लै थियो। पार्टीमा फुटको अवस्था थियो। हाम्रो मत बाँडिन पुग्यो। हिजो छोडेर जानु भएका फेसभ्यालु भएका साथीहरू पार्टीमै फर्किनुभएको छ। यो पनि चुनाव जित्ने आधार हो,’ उनले भने, ‘पहिला मतदातामा शंका थियो। सहरतिर एमालेविरुद्धको घेराबन्दी हटाउने अवस्थामा पुगेका छौँ।’
त्यति मात्र होइन, गत चुनाव हार्नुमा केही कमजोरी भएको उनले बताए।
गत चुनावीमा तेस्रो स्थानमा सीमित राप्रपाकी कुन्तीदेवी पोखरेल चुनाव हारे पनि यही क्षेत्रमा काम गरिरहेको बताउँछिन्।
‘अघिल्लो चुनावमा वाचा गरेको काम गर्दै हिँडिरहेको छु। यो क्षेत्रको दुर्भाग्य, जसलाई चुनाव जितायो त्यो फर्केर नआउने। उहाँहरू निर्वाचन क्षेत्र फेरेर अन्तै जाने प्रवृत्ति पनि छ,’ उनले भनिन्, ‘शंखरापुर नगरपालिकाका कतिपय स्थान अझै दुर्गम छन्। एम्बुलेन्स समयमा पाउन पनि गाह्रो छ। आलु किसानका लागि कोल्ड स्टोरको काम गर्नु पर्ने छ।’
पोखरेलले जित्नका लागि चुनावी रणनीति बदलेकी छिन्।
‘महँगो शिक्षा, स्वास्थ्य मुलुककै समस्याको हो। शिक्षा र स्वास्थ्य उपचारका लागि खल्ती छाम्नु नपरोस् भन्ने एजेन्डा सहित अघि बढेको छु,’ पोस फेसन नेपाल कपडा उद्योगकी सञ्चालक समेत रहेकी पोखरेल भन्छिन्, ‘देशको विकासका लागि उद्योगको आवश्यक पर्छ। औद्योगिक क्रान्ति ल्याउन सकिए युवाहरू ४०–५० हजार कमाउन विदेशिनु पर्दैन। रोजगारी सिर्जना गर्न उद्योग खोल्नु पर्छ।’
काठमाडौँ २ धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरी भएकाले आफू निवार्चित भएमा यो क्षेत्रको प्रबद्र्धनमा अझ बढी योगदान गर्न सक्ने उनी बताउँछिन्।
‘जहरसिंहपौवाबाट सुन्दर हिमाल देखिन्छ। प्रत्येक वर्ष शालीनदीमा मेला लाग्ने गर्छ। तर नेपालीहरू यहाँ आउनुभन्दा पनि भारतको महाकुम्भ जान्छन्। यहाँका सांसदहरूले यसको प्रबद्र्धन गर्न सकेका छैनन्। यो क्षेत्रले प्रधानमन्त्री पनि पाइसकेको छ। क्षेत्रमा भएको स्वर्गलाई चिनाउने काम भएन। त्यो काम म गर्छु। म यो काम नगरी छोड्दिनँ,’ उनी भन्छन्।
आमाबुवाहरू समूह बनाएर नै आफूलाई जिताउन लागेकाले जित निश्चित भएको उनको भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टीले युवा नेता नितेश पौडेललाई यस क्षेत्रमा अघि सारेको छ। सदनमा नहुँदा पनि स्थानीयका काम गरेको युवाका साथै राजनीति बुझेकाले आफू मतदाताको रोजाइमा पर्ने पौडेल बताउँछन्।
‘राजनीति नबुझेको मान्छे सांसद बन्दा राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिमा असर पर्छ। राज्य अहिले अप्ठेरो अवस्थामा छ। यसबाट जोगाउन पनि भूमिका खेल्न सक्छु,’ उनले भने।
साथै उनी जेनजी आन्दोलनका माग आफूले दशकौँदेखि उठाउँदै आएको र आफ्नो अगुवाइमा भ्रष्टाचार, बेथिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ मुद्दा दायर गरेको बताउँछन्।
‘भ्रष्टाचार निर्मूल पानु पर्छ भनेर लागेको अभियन्ता हो। सडकमा गरियो, अब सदनमा गएर कानुन बनाउनु पर्ने छ। आफूले नै भ्रष्टाचार गरे पनि समातिने कानुन निर्माण गर्नेछु। निष्पक्ष कानुन बनाउनु छ। विभेदकारी कानुन खारेज हुनु पर्छ। कानुनको नजरमा सबै बराबर हुनु पर्छ। गल्ती गर्ने सबै दण्डित हुनुपर्छ,’ उनले भने।
सहर, अर्धसहर र गाउँमा फैलिएको काठमाडौँ २ लाई विकास गर्ने मोडल आफूसँग भएको उनको दाबी छ।
‘शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज यस क्षेत्रमा पर्ने भएकाले यहाँ मानव र वन्यजन्तुबीच द्वन्द्व छ। पदयात्रा र वनलाई आयस्रोतको रुपमा जोड्न सकिन्छ। जहरसिंहपौवा खेल मैदानलाई फिफा स्ट्यान्डर्डको रंगशाला बनाउन सकिए यस क्षेत्रलाई इको पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिन्छ,’ उनी भन्छन्, ‘उत्तरी भेगबाट देखिने हिमालको प्रचारप्रसार गर्न सकिए उत्कृष्ट पर्यटकीय केन्द्र बनाउन सकिन्छ। हिजो केटाकेटी रहँदा पनि यहीँ रहेको छु। भोलि पनि रहने छु। यहीँको मान्छे हुँ।’
नेपाली कांग्रेसले यस क्षेत्रमा कविर शर्मालाई उठाएको छ। गठबन्धनका कारण २०७९ मा माओवादी नेतृ ओनसरी घर्तीलाई सघाएको कांग्रेसले समानुपातिकमा ७ हजार १६७ मत ल्याएको थियो।
Shares

प्रतिक्रिया