हरेक निर्वाचनमा दोलखामा बुथ कब्जा हुनु र गोली चल्नु सामान्य जस्तै बनिसकेको छ। गणतन्त्रपछिको पहिलो चुनाव होस् वा पछिल्लो २०७९ को, दोलखामा गोली चलेकै छ, बुथ कब्जा भएकै छ।
बुथ कब्जा भएको आरोप दलहरूले मात्रै लगाएका होइनन्, निर्वाचन आयोगले नै यस्तो निष्कर्ष निकालेर यहाँ दोहोर्याएर चुनाव गरायो।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दोलखाका उम्मेदवार विशाल खड्का भन्छन्, ‘गोली नचलेको चुनावै छैन। बहुदलपछिका चुनावमा गोली नचलेको मलाई थाहा छैन। दोलखालीले चुनावमा गोलीको आवाज सुनेकै छन्। बुथ कब्जा भएकै छ।’
यसअघि बुथ कब्जाको आरोप कांग्रेस, एमाले र तत्कालीन माओवादीले एकअर्कालाई लाउँदै आएका थिए। अहिले पनि यी दल आफूले बुथ कब्जा गरेको स्वीकार गर्दैनन्। तर चुनावमा बुथ कब्जा हुने गरेको प्रस्ट स्वीकार्छन्।
नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का २०७९ को निर्वाचन नै दोलखामा बुथ कब्जा गर्ने असभ्यताको अन्तिम प्रदर्शन होस् भन्ने कामना गर्छिन्। जुन चुनावमा चार वटा मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै पुनः मतदान गराइएको थियो।
‘अहिले त नागरिक सरकारले चुनाव गराइरहेको छ। के बुथ क्याप्चर हुने ठाउँ देला त? पहिला पो दलको सरकार हुन्थ्यो, दलको पक्षधरता हुन्थ्यो। नागरिक सरकारलाई त जसले जिते पनि फरक परेन। चुनाव निष्पक्ष गराउनु पर्यो नि!’ खड्काले नेपालखबरसँग भनिन्, ‘अघिल्लो पटक १४ वटा बुथ क्याप्चर भएको हो। बुथ क्याप्चरको कुरा बाहिर भन्न पनि असभ्य लाग्छ। यसपालि त्यो तहमा नहोला भन्ने लागेको छ।’
दोलखामा केही ठाउँ गुण्डागर्दीका पुराना अखडा थिए। त्यो शैली अन्यत्र विस्तार हुँदै गयो। एउटा दलले थालेको यो असभ्य अभ्यास अरु दलले पनि सिके। निष्पक्ष निर्वाचन हुन नदिने यही अभ्यासका कारण दोलखाको चुनाव तनावपूर्ण बन्न थाल्यो। जसले मतदाताको मतबाट भन्दा पनि बुथ कब्जा गरेर चुनाव जित्ने प्रतिस्पर्धा बढायो।
खड्का भन्छिन्, ‘दुई हजार जनतालाई भोट माग्दा एक हजार मत आउँछ। बुथ क्याप्चर गर्यो भने त १९८४ मत आउँछ। अरु दुःख गर्ने भन्दा यो बाटो अपनाउने गरेको पाइएको छ। जसमा प्रशासनले पनि साथ दिएको पाइन्छ।’
नेपाली कांग्रेसका दोलखा सभापति बर्मा लामा भन्छन्, ‘यसपालिदेखि त्यस्तो हुँदैन। सबै शान्तिपूर्ण गर्ने भन्ने प्रशासनसँग सहमति भएको छ।’
दोलखामा ९५ वटा मतदान केन्द्र छन्। ती मध्ये ५२ वटालाई सुरक्षाका हिसाबले अतिसंवेदनशील मानिएको छ। २८ वटा संवेदनशील छन्। सुरक्षा अवस्था सामान्य रहने मतदान केन्द्र १५ वटा मात्रै आकलन गरिएको छ। विगतका घटना र अहिलेको परिस्थितिलार्र्र्र्र्र्ई मूल्यांकन गर्दै जिल्ला सुरक्षा समितिले मतदान केन्द्र वर्गीकरण गरेको हो।
दोलखामा यसपालि प्रतिस्पर्धी उम्मेदवारको संख्या पनि बढेको छ। दलका भन्दा बढी स्वतन्त्र उम्मेदवार छन्। १४ दल र १९ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ।
२०७९ को निर्वाचनमा ७ स्वतन्त्रसहित २१ जना उम्मेदवार थिए। दोलखाबाट अघिल्लो चुनाव माओवादीका गंगा कार्कीले जितेका थिए। तर उनलाई कांग्रेस र एकीकृत समाजवादीको पनि साथ थियो। यसपटक कांग्रेसका उम्मेदवार छुट्टै छन्। एकीकृत समाजवादी र माओवादी मिलेर नेकपा बनेको छ।
तीन पार्टी मिल्दा पनि जित्न एमालेका बालकृष्ण सिवाकोटीले हम्मेहम्मे बनाएका थिए। गंगा कार्कीले ३६ हजार ८२० मत पाउँदा एमालेका सिवाकोटीले ३६ हजार ५०५ मत ल्याएका थिए। तर अहिले यी दुवै उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने अघिल्लो चुनावकै उम्मेदवार दोहोर्याएको छ। यसपटक पनि रास्वपाबाट जगदीश खरेल नै उम्मेदवार छन्। उनले अघिल्लो चुनावमा ३ हजार ८०१ मत पाएका थिए। तर त्यो चुनावमा भन्दा अहिले रास्वपाको प्रभाव बढ्दो छ। अर्कोतर्फ गठबन्धन गर्दा रास्वपातिर लागेका मतदाता पुरानै पार्टीतिर फर्किने सम्भावना पनि उत्तिकै छ।
एमाले उम्मेदवार पार्वत गुरुङ २०७४ सालमा देशकै सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए। माओवादीसँगको गठबन्धनबाट उनले ५५ हजार ४५७ मत पाएका थिए। कांग्रेसका रुद्रबहादुर खड्काले त्यसको आधा पनि मत पाएनन्। उनले २४ हजार ८१३ मत मात्रै पाए। अरु दलको मत हजारमाथि कट्न सकेन।
गएको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस र एमालेको मतान्तर झण्डै चार हजार मात्रै छ। एमालेले ३० हजार ९८६ पाउँदा कांग्रेसले २७ हजार ७ मत ल्याएको थियो। तत्कालीन माओवादीको ११ हजार ५८२ र एकीकृत समाजवादीको २ हजार ३०१ मत आएको थियो। रास्वपाले ५ हजार ५६६ मत पाएको थियो।
२०७४ सालमा भन्दा एमाले र माओवादीको मत घटेको देखिन्छ। एमालेले त्यतिबेला ३८ हजार ७२० र माओवादीले १४ हजार ५८२ मत पाएका थिए। तर कांग्रेसको २० हजार ८३८ मत थियो।
२०७४ सालको चुनावमा पार्वतलाई कीर्तिमानी जित दिलाउन साथ दिएका विशाल खड्का यसपालि उनका प्रतिस्पर्धी हुन्। नेकपाका उम्मेदवार खड्का २०७४ मा दोलखाबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए।
अर्कोतर्फ कांग्रेसबाट पनि प्रतिस्पर्धी फेरिएका छन्। यसपालि अजयबाबु सिवाकोटी उम्मेदवार छन्। कांग्रेस केन्द्रीय सदस्य सिवाकोटीले पहिलो पटक निर्वाचन लड्न लागेका हुन्।
जितका दाबेदार चार पार्टीलाई मान्ने हो भने उनीहरू चारै पार्टीबीच पहिलो पटक एक्लाएक्लै प्रतिस्पर्धा हुँदैछ। एक्लाएक्लै चुनाव लड्दा दोलखामा एमाले बलियो रहेको केन्द्रीय सदस्य रचना खड्काको दाबी छ।
‘पुरानो मतले चाहिँ एक्लाएक्लै भिड्दा एमालेले सहजै जित्ने हिसाबकिताब छ। तर लहर कसरी आउँछ, त्यो हेर्न बाँकी छ। अन्तजस्तो यहाँ रास्वपाको वेभ छैन। दोलखामा कांग्रेस पहिल्यैदेखि बलियो होइन। नेकपाको पनि प्रतिस्पर्धी मत छैन,’ खड्काले भनिन्।
दोलखामा २०६४ मा माओवादीका देवी खड्का र हेम श्रेष्ठ विजयी भएका थिए। २०७० सालमा एमालेका पार्वत गुरुङ र आनन्द पोखरेलले नतिजा आफ्नो पक्षमा पारे।
दोलखामा २०५१ सालमा भीमबहादुर तामाङले जितेयताका सबै चुनावमा कांग्रेस निराश छ। गएको निर्वाचनमा माओवादीसँगको गठबन्धनमा प्रदेश सांसद जित्नुबाहेक संघमा सधैँ खालीहात छ। गठबन्धनबाट जितेका कुन्दनराज काफ्ले पनि राजीनामा दिएर फर्किएका छन्। अजयलाई कुन्दनको साथ कस्तो रहन्छ भन्ने कुराले कांग्रेसको नतिजामा अर्थ राख्ने धेरैको आकलन छ।
सभापति बर्मा लामा भने पार्टीका उम्मेदवारलाई जिताउन एक ढिक्का भएर लाग्ने दाबी गर्छन्। पछिल्ला चुनावमा कांग्रेसले मत बढाउँदै लगेको एमाले नेता खड्का स्वीकार गर्छिन्। एकढिक्का भएर लागे जित निकालिहाल्ने अवस्था नभए पनि एमालेको प्रतिस्पर्धी दल बन्ने उनको आकलन छ।
तर एमालेलाई पनि रास्वपाको माहोल कस्तो बन्ला भन्ने शंका छ। सबै दलका असन्तुष्ट रास्वपातिरै लागे अप्ठेरो पर्न सक्ने एमालेको आकलन छ।
नेकपाका उम्मेदवार विशाल खड्का भन्छन्, ‘म भोट मागेको माग्यै छु। सबैले मलाई नै दिन्छु भनेका छन्। एमाले र कांग्रेस बिग्रेकै कारणले यो चुनाव भएको हो। त्यही भएर अब जनताले उनीहरूलाई भोट दिँदैनन्।’
दलहरूले हारजितको हिसाब गरिरहँदा प्रशासनलाई भने सुरक्षाकै चिन्ता छ। डीएसपीको कमान्डमा रहने दोलखामा यसपालि एसएसपीको नेतृत्वमा छुट्टै बेस स्थापना गर्ने र सुरक्षाकर्मी बढाउने तयारी छ। यसपटक कुनै पनि हालतमा बुथ कब्जा गर्न नदिने दाबी प्रशासनको छ।
Shares

प्रतिक्रिया