राजनीति


गगन थापालाई प्रधानमन्त्री बनाउन घोडा चढेर भोट माग्दै हिँडिरहेका श्रीप्रसाद

गगन थापालाई प्रधानमन्त्री बनाउन घोडा चढेर भोट माग्दै हिँडिरहेका श्रीप्रसाद

सुभाष कर्ण
माघ १५, २०८२ बिहिबार २१:५६, धनकौल, सर्लाही

गत सोमबार साँझ पर्नै लागेको बेला सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को धनकौल गुञ्जायमान थियो– ‘नेपाली कांग्रेस जिन्दावाद!’ र ‘अब की बार गगन सरकार!’ को को नाराले। धनकौल गाउँपालिका कार्यालयनजिक रहेको नेपाली कांग्रेस क्षेत्रीय कार्यालयअगाडि बिहान ११ बजेदेखि नै सयौँ नेता–कार्यकर्ताको भीड थियो। उनीहरू कांग्रेस सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन थापाको व्यग्र प्रतीक्षामा थिए। 

तर, त्यो भीडमा एउटा यस्तो दृश्य देखियो, जसले सबैको ध्यान खिच्यो। धोती–कुर्तामा इस्टकोट लगाएका, टाउकोमा सेतो कपडाको पगडी सजाएका ६० वर्षीय वृद्ध, चिटिक्क सिंगारिएको घोडामा सवार थिए। घोडाको दाहिनेपट्टि  झुन्ड्याइएको फ्लेक्समा ठूला अक्षरमा लेखिएको थियो— ‘अब की बार गगन सरकार!’

उनी थिए—धनकौल वडा नम्बर ४ महिनाथपुर निवासी श्रीप्रसाद राय यादव। गगन थापाको स्वागतका लागि प्रतीक्षारत हजारौँ कार्यकर्ताबीच घोडामा चढेका श्रीप्रसाद छुट्टै आकर्षण बने। करिब साँझ साढे ५ बजे गगन थापा धनकौलस्थित कांग्रेस क्षेत्रीय कार्यालय पुगे। नाराबाजी अझ गगनभेदी सुनियो।

घोडामै बसीबसी श्रीप्रसादले गगनलाई माला लगाएर स्वागत गरे। उनको अनुहारमा नयाँ किसिमको उत्साह, आँखामा गर्व र मनमा विश्वास झल्किन्थ्यो।

‘कांग्रेसले अब देश हाँक्न सक्ने सच्चा कार्यकर्ता पाएको छ,’ उनले खुसी पोखे, ‘पुरानालाई समाहित गर्दै पार्टीलाई नयाँ ढंगले बदल्न सक्ने क्षमता गगन थापासँग छ। उहाँलाई नेतृत्व दिइयो भने मधेस मात्र होइन, समग्र देश नै विकासको नयाँ दिशामा अगाडि बढ्नेछ।’

कुनै समय तत्कालीन माओवादीलाई समर्थन गरेका सामान्य किसान श्रीप्रसाद राय पछि कांग्रेस भए। उनी गगनलाई देखेपछि उत्साहित हुनुको प्रमुख कारण थियो– वर्षौंदेखि पीडामा रहेका किसानको समस्या अब समाधान हुने आशा। 

करिब पाँच वर्षअघि नेपाली कांग्रेसमा प्रवेश गरेका श्रीप्रसादले पार्टीप्रति देखाएको लगनशीलता र संगठन विस्तारमा गरेको मेहनतको कांग्रेसले कदर पनि गरेको थियो। र, २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसले धनकौल वडा नम्बर ४ बाट वडा सदस्यको टिकट दिएको थियो। तर, उनले आफैँ उम्मेदवार बन्ने लोभ गरेनन्। बरु, इच्छुक कार्यकर्ता रामरतन रायलाई टिकट मात्र दिलाएनन्, जिताएर जनप्रतिनिधि समेत बनाए। 

यो घटनाले श्रीप्रसादलाई पार्टीभित्र ‘निस्वार्थ कार्यकर्ता’का रूपमा चिनायो। नेपालखबरको इलेक्सन एक्सप्रेस टोलीले श्रीप्रसादलाई घोडामै चढेर गगन थापालाई हेर्न आउनुको कारण सोध्दा उनले भने, ‘मेरो सवारी साधन घोडा नै हो। ३०–३५ वर्षदेखि नजिक–टाढाको यात्रा घोडामै गर्दै आएको छु।’

‘गगन थापालाई हेर्न मात्र होइन। मिथिलाको परम्परा अनुसार पार्टी सभापति र सम्भावित प्रधानमन्त्रीलाई विशेष स्वागत गर्न आएको हुँ,’ उनी भन्छन्।

घोडामा बसेर स्वागत गर्दा भीडमाझ सजिलै देखिनु र सभापतिलाई सहज रूपमा स्वागत गर्न पाउनु— त्यो पनि उनको लागि एउटा सन्तोषको विषय थियो। यहाँ त धेरै उम्मेदवार र नेताहरू छन्, अरूलाई हेर्न मन लागेन भन्ने जिज्ञासामा उनले जुँगा मुसार्दै भने, ‘६० वर्षको उमेरमा सिंगो पार्टीलाई नयाँ ढंगले बदल्ने अठोट बोकेको युवा नेता मैले पहिलो पटक देखेको हुँ।’

उनको आलोचना स्पष्ट थियो, ‘अघिल्ला धेरै नेता जातिवाद, परिवारवाद र भ्रष्टाचारमा लिप्त भए। देश त के, आफ्नै पार्टी सम्हाल्न सकेनन्। तर जोसिला, ब्रिलियन्ट र विकासप्रति इमानदार नेता गगन थापा पहिलो पटक मधेस झरेको देख्दा मन छोयो।’

स्कुल नगए पनि सामान्य लेखपढ र हिसाबकिताब गर्न सक्ने श्रीप्रसाद दुई बिघा खेत जोत्ने किसान हुन्। उनको मुख्य आम्दानी खेतीपाती नै हो। उनको आँखामा एउटै सपना छ, ‘हामी किसानले वर्षेनि भोग्दै आएको समस्या बाढी, खडेरीबाट मुक्ति मिलोस्, सिँचाइ, मलखाद र बीउबिजनको सहज उपलब्धता होस्।’ 

यही सपना गगन सरकारले पूरा गर्नेछ भन्ने विश्वास उनको मनमा छ। त्यसैले उनी उम्मेदवारी दर्ताको दिनदेखि नै घोडामा चढेर गाउँ–गाउँ डुलिरहेका छन्। घोडामा अब की बार गगन सरकार लेखिएको फ्लेक्स झुन्ड्याएर मतदाताको घर–घर पुगिरहेका श्रीप्रसाद दृढताका भन्छन्, ‘हातखुट्टा ढोगेर, दाह्री–जुँगा समाएर जनतासँग यहाँका उम्मेदवार हाम्रा पार्टी सभापति र भावी प्रधानमन्त्री गगन थापाको मत मागिरहेको छु।’

श्रीप्रसाद रायको एउटै चाहना छ, ‘जीवनमा एकपटक गगन थापालाई प्रधानमन्त्री बनेको देख्न पाऊँ।

एक दर्जन सदस्य रहेका परिवारको मूली हुन् श्रीप्रसाद। उनलाई खेतीपातीमा पत्नीले सघाउँछिन्। चार छोराका पिता उनको घरमा तीन बुहारी र तीन नातिनातिना छन्। श्रीप्रसादका जेठा छोरा बैंकमा जागिरे छन् भने अन्य दुई जना निजी क्षेत्रमा काम गर्छन्। कान्छा छोराले भने बुवालाई खेतीपातीमा सघाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad