प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ मिटरब्याजको समस्या लिएर चुनावी मैदानमा छन्। विकाससँगै सर्लाही ३ मा मिटरब्याज पीडितको समस्या समाधान गर्ने वाचासहित श्रेष्ठ गाउँबस्ती पुगिरहेका छन्। आफ्नो चुनावी तयारीसँगै श्रेष्ठ जिल्लाका अन्य निर्वाचन क्षेत्रमा पनि कार्यकर्ता भेटघाटमा व्यस्त छन्।
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा तराई मधेसमा वर्षौंदेखि व्याप्त रहेका मिटरब्याजको समस्या आफूले धेरै हदसम्म समाधान गर्न सफल भएको उनको दाबी छ। आफूले चुनाव जिते बाँकी रहेका समस्या समाधान गर्ने र सहुलियतपूर्ण ब्याज दरमा ऋण पाउने वित्तीय संस्था गाउँगाउँ स्थापना गर्ने प्रतिबद्धता उनले गरेका छन्।
मिटरब्याजका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य र सिँचाइ, बिउबिजन, मलखाद र उखुको भुक्तानी समयमै नपाउने समस्यालाई पनि हल गर्ने श्रेष्ठ बताउँछन्। तर, संसदीय राजनीतिमा श्रेष्ठको रेकर्ड गतिलो छैन।
२०६४ को पहिलो संविधानसभामा मनोनीत सदस्य रहेका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा एमालेका सुवासचन्द्र ठकुरीसँग पराजित हुन पुगे। २०७४ को चुनावमा श्रेष्ठ गृहजिल्ला गोरखा–२ बाट डा बाबुराम भट्टराईसँग पराजित भए। २०७६ मा राष्ट्रियसभा सदस्य बनेर संसद् प्रवेश गरेका श्रेष्ठले उपप्रधान तथा गृह, भौतिकपूर्वाधार र परराष्ट्र मन्त्रालय सम्हाले। जुन बेला श्रेष्ठले तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग मिलेर भ्रष्टाचार नियन्त्रण गर्न केही महत्वपूर्ण कदमसमेत चालेका थिए।
सर्लाही ३ मा उनलाई नेकपा एमालेका निर्वतमान सांसद हरि उप्रेती, कांग्रेसका विनोद खनाल, जसपाका जयप्रकाश राय, रास्वपाका नरेन्द्र साह, जनमतका सुनिलप्रसाद गुप्ता लगायत ३३ जनाले चुनौती दिँदैछन्। हुन त श्रेष्ठ लामो समयदेखि सर्लाही, महोत्तरी, धनुषा, सिरहा लगायत मधेसका जिल्लाहरूको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। तर, २०७९ मा सर्लाही ३ मा माओवादीबाट उम्मेदवार बनेका नरेन्द्र साह रास्वपाबाट उम्मेदवार बनेपछि श्रेष्ठ दबाबमा देखिन्छन्।
माओवादीको मताधार भएको सर्लाही ३ आइपुगेका श्रेष्ठलाई अहिले पूर्वकार्यकर्ता नरेन्द्र नै टाउको दुखाइ बनेको देखिन्छ। रास्वपाले मधेसी समुदायका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि मधेस तरंगित छ। युवा पंक्ति रास्वपाप्रति आकर्षित देखिँदा पुराना र मधेसवादी दलका उम्मेदवार दबाबमा देखिन्छन्। रास्वपा उम्मेदवार साह जनताको समस्या, सपना र भविष्यको नारा दिएर चुनावी मैदानमा छन्।
कांग्रेस र एमालेबाट पनि पहाडी समुदायकै व्यक्ति उम्मेदवार बन्नु र यसअघिको माओवादीका उम्मेदवार रास्वपाबाट श्रेष्ठको प्रतिद्वन्द्वी बनेपछि सर्लाही ३ को चुनाव प्रतिस्पर्धा रोचक बनेको छ। १ लाख ३४ हजार ४ सय १६ मतदाता रहेकोमा करिब ७० प्रतिशत पहाडी मूलका छन्। सर्लाही ३ मा २०७९ को निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मत ल्याई विजयी भएका थिए भने तत्कालीन माओवादी केन्द्रका नरेन्द्र साह कलवार ३२ हजार १६८ मत ल्याएर दोस्रो भएका थिए।
यस्तै जनमत पार्टीका त्रिभुवनकुमार सिंहले ५ हजार ५१९ मत ल्याउँदा रास्वपाका पञ्चबहादुर स्याङतानले ३ हजार ५६६ मत पाएका थिए। २०७४ को निर्वाचनमा माओवादीका रामेश्वर राय यादव निर्वाचित भएका थिए। उनी पनि नेकपा छाडेर अहिले सर्लाही ४ मा जसपाको उम्मेदवार बनेका छन्।
गत निर्वाचनमा कांग्रेस, माओवादी, लोसपाको गठबन्धनलाई पराजित गरेका तत्कालीन एमाले–जसपा गठबन्धनका उम्मेदवार उप्रेती अहिले पनि जित्ने दाबी गर्छन्। सबै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा रहेको भन्दै उनले आफ्नो जित निश्चित भएको दाबी गरे।
यता कांग्रेस उम्मेदवार विनोद खनाल पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछन्। सर्लाही ४ मा सभापति गगन थापा उम्मेदवार बनेकाले ३ नम्बरमा त्यसको प्रभाव देखिने उनको बुझाइ छ।
सभापति थापा मधेस झरेपछि कांग्रेसको पक्षमा जबर्जस्त माहोल बनेको भन्दै सर्लाहीका चारै जना उम्मेदवार विजयी हुने खनालले दाबी गरे।
व्यक्तिगत रुपमा कुनै उम्मेदवारबारे टिप्पणी गर्न नचाहने श्रेष्ठ आफ्नो उम्मेदवारी सर्लाहीका जनताले खुसीका साथ स्वीकार गरेको बताउँछन्।
‘दलीय प्रतिस्पर्धामा सबै उम्मेदवारलाई सम्मान गर्छु। कसैलाई न्यून मूल्यांकन गर्न चाहन्नँ,’ आफ्नो प्रतिस्पर्धीबारे श्रेष्ठको भनाइ छ, ‘तर, मैले मेरो निकटतम् प्रतिस्पर्धी कसैलाई देखको छैन।’
विगतको हिसाबकिताब
गत स्थानीय निर्वाचन र समानुपातिक मतको हिसाबकिताब गरेर श्रेष्ठ सर्लाही–३ झरेका बुझ्न गाह्रो छैन। यो निर्वाचन क्षेत्रमा हरिवन, बागमती, चक्रघट्टा, हरिपुर, बरहथवा, कविलासी नगरपालिका साथै बसबरिया गाउँपालिका रहेका छन्। हरिवन, बागमती, चक्रघट्टाका सबै वडाहरू यो निर्वाचन क्षेत्रमा पर्दा हरिपुरको १ नम्बर वडा मात्र पर्छ। बरथहवाको ५ देखि १२ र १६ देखि १८ गरी ११ वटा वडा यही क्षेत्रमा पर्छन्। कविलासी नगरपालिकाका ३ देखि ६, बसबरियाका ४ देखि ६ नम्बर पनि सर्लाही ३ मा पर्छन्।
राजमार्ग क्षेत्रमा अवस्थित बागमती र हरिवन नगरपालिका माओवादीले जितेको छ। बागमतीमा २०७४ र २०७९ को दुवै निर्वाचनमा भरतकुमार थापा विजयी भएका थिए। अहिले उनी भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित छन् भने हरिवन नगरपालिकामा पनि माओेवादीकै रमेश बुढाथोकी मेयर निर्वाचित भएका थिए।
सर्लाही ३ का ५१ मध्ये कांग्रेस र माओवादीले १५–१५, एमाले र जसपाले ९–९, एकीकृत समाजवादीले २ र बहुजन पार्टीले एउटा वडा जितेका थिए। त्यस्तै नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको पनि यहाँ धेरथोर प्रभाव थियो। नेकपा एकीकृत समाजवादी पनि नेकपामै समाहित भएकाले आफूलाई केही फाइदा पुग्ने श्रेष्ठको आकलन छ।
२०७९ मा समानुपातिकतर्फ माओवादीले १५ हजार ४ सय ७१, एमालेले १५ हजार ६, जसपाले १२ हजार ७९, कांग्रेसले ९ हजार ९ सय ७९, रास्वपाले ६ हजार ९ सय ६२, जनमतको ६ हजार १ सय ३१, तत्कालीन एकीकृत समाजवादीले २ हजार ६ सय ५५ मत ल्याएका थिए।
नेकपासँग विगतको समानुपातिक मत १८ हजार १२६ देखिए पनि श्रेष्ठलाई रास्वपा उम्मेदवार साहको व्यक्तिगत र बालेनको प्रभाव रोक्न त्यति सजिलो भने छैन। फागुन २१ पछि आफू पनि प्रधानमन्त्रीको दाबेदार रहेको बताउने श्रेष्ठले सर्लाही ३ मा आफ्नो पक्षमा अझै माहोल बढाउन सक्छन् या सक्दैनन्, निर्वाचनको नतिजा त्यसैले तय गर्ने देखिन्छ।
(साथमा नेपालखबरका मधेस प्रदेश संवाददाता सुभाष कर्ण)
Shares

प्रतिक्रिया