राजनीति


नुवाकोट–१ : हितबहादुरको ह्याट्रिक रोक्ने दाउमा एमाले र कांग्रेस, रास्वपाले ल्याउने मत निर्णायक

नुवाकोट–१ : हितबहादुरको ह्याट्रिक रोक्ने दाउमा एमाले र कांग्रेस, रास्वपाले ल्याउने मत निर्णायक

निर्दोष घोरसाइने
माघ १५, २०८२ बिहिबार १२:५२, काठमाडौँ

नुवाकोट क्षेत्र नम्बर १ मा ह्याट्रिकको दाउमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हितबहादुर तामाङलाई रोक्न कांग्रेसले काठमाडौँबाट डा प्रकाशशरण महतलाई गृहजिल्ला फर्काएको छ। एमालेले भने पुरानै उम्मेदवार बद्री मैनालीलाई मैदानमा उतारेको छ। रास्वपाले पूर्वपत्रकार तथा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका डा विक्रम तिमिल्सिनालाई अघि सारेको छ। 

यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याउने मतले नै नुवाकोट १ का उम्मेदवारको भविष्य निर्धारण गर्ने उम्मेदवार तथा स्थानीयहरु बताउँछन्। 

२०७४ मा वाम गठबन्धन र २०७९ मा कांग्रेससँगको तालमेलमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार तामाङ विजयी भएका थिए। अघिल्ला दुई निर्वाचनमा प्रतिस्पर्धी दलकै बुइ चढेर तामाङ संसद् पुगेका थिए। तर यो पटक उनलाई एमाले तथा कांग्रेसको साथ छैन। मुलुकभर रास्वपाको माहोल बढ्दा आफ्नै बलबुताले चुनाव जित्नु पर्ने स्थितिमा तामाङ छन्। 

उनका लागि प्रमुख तगारो बनेका छन्, २०७४ मा काठमाडौँ ५ बाट पराजित भएका तथा गत निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका प्रकाशशरण महत। 

नुवाकोटबाट चुनाव नलडे पनि आफूले जिल्लाको विकासका लागि काम गरेकाले यो पटक चुनाव जित्ने महत भन्छन्।

महतको जन्मथलो नुवाकोट हो। तर, अहिलेसम्म उनी जिल्लाबाट चुनाव लडेका भने छैन। २०४८ सालदेखि २०७४ सम्म उनकै सहोदर दाजु डा रामशरण महत निर्वाचन लडेका थिए। २०७९ मा भने कांग्रेसले माओवादीका तामाङलाई ठाउँ दिएको थियो। 

‘नुवाकोटको विकासका लागि दाजुले ठूलो योग्दान गर्नु भएको छ। यो पटक उहाँले चुनाव लड्न पाउनु भएन। यस क्षेत्रबाट उम्मेदवार नबने पनि विकासमा योगदान गरेको छु। त्यसैले आफ्नो जन्मथलोबाट उम्मेदवारी दर्ता गराएको हुँ’, महतले भने। 

उनी २०७४ मा काठमाडौँ ५ मा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए। २०७९ मा समानुपातिकबाट निर्वाचित भएका थिए। यस अवधिमा उनी ऊर्जा, अर्थ र परराष्ट्रमन्त्री समेत बन्न सफल भए। 

निर्वाचन नलडे पनि सडक, खानेपानी, बिजुलीजस्ता पूर्वाधार विकासको योजना नुवाकोटमा ल्याउन आफूले पहल गरेको उनी बताउँछन्। 

‘अर्थ, ऊर्जामन्त्री हुँदा कम गरेको हो। काम गर्ने मान्छे यही हो भन्ने जनमानसमा परेको छ। अन्यले निर्वाचित भएर पनि काम गर्न सकेका छैनन्,’ महतले भने, ‘जनतामा जाँदा नुवाकोटको विकास लागि तपाईं चाहिन्छ भन्नु भएको छ। त्यसैले यो पटक भोट रुखमा भन्नु भएको छ।’

उनीमाथि चुनाव नलडेको आरोप पनि लाग्ने गर्छ। तर उनी यसलाई पूर्ण सत्य मान्न तयार छैनन्। 

‘दाजु त्यहीँ भएकाले लड्न अप्ठेरो परेको हो। गत निर्वाचनमा गठबन्धनले गर्दा उम्मेदवारी परेन। अघिल्लो निर्वाचन पनि माओवादीले यही क्षेत्रमा जित हासिल गरेको थियो। माओवादीले नछोड्दा म समानुपातिकमा बसेको हो। लड्न नचाहेर, नसकेर, हैसियत नभएर निर्वाचनमा भाग नलिएको होइन,’ उनी भन्छन्, ‘नुवाकोटमा मेरो लोकप्रियता पहिलेदेखि नै छ। विभिन्न परिस्थितिका कारण लड्न नपाएको हो। यो पटक बाध्य भएर भन्दा पनि लड्न चाहेर पार्टीबाट टिकट लिएको हो।’ 

यो पटक कांग्रेसबाट आधिकारिक उम्मेदवार हुँदा कांग्रेस समर्थकहरु उत्साहित देखिन्छन्। 

‘चुनाव नलडी काम गरेको मान्छे हो। यो पटक चुनाव जिताएर पठाउन पाए अझ धेरै काम हुने मतदाताको विश्वास छ। नुवाकोटको समग्र विकासका लागि महत परिवारको योगदान छ,’ उनले भने। 

उता तामाङ भने जनताको असली प्रतिनिधि भएको विश्वास दिलाउन सफल भएकाले यो पटक पनि आफूले नै चुनाव जित्ने दाबी गर्छन्। 

‘हाम्रो कामबाट जनता उत्साहित नै छन्। विगतमा कहिल्यै नभएका काम गरेका छौँ। मतदाताको मत लिएर आएपछि मतदाताको शिर निहुरिने गलत काम गरेका छैनौँ। स्थानीयसँग सुख, दुःखमा निरन्तर हरूमा जोडिएको छु,’ तामाङले भने।  

मतदातासँगको संवादमा पनि साथ र सहयोग गर्ने आश्वासन पाएकाले विजय हुने उनको विश्वास छ। नुवाकोट १ का सात पालिकामध्ये ३ वटामा अध्यक्ष र उपाध्यक्ष सहित बहुमत जनप्रतिनिधि जितेकाले पनि उनको आत्मविश्वास बढेको छ।

तत्कालीन माओवादीको उम्मेदवारले ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिका जितेको हो। यो पटक निर्वाचनमा रास्वपाका उम्मेदवारले सबैभन्दा कम मत काट्ने पार्टी विजयी हुने उनको भनाइ छ।

एमालेले अघिल्लो निर्वाचनमा तामाङसँग ३ हजार ८३ मतान्तरले पराजित बद्री मैनालीलाई नै अघि सारेको छ। प्रतिस्पर्धी दलले गठबन्धन नगरेको र एमालेका नेता कार्यकर्ता एक ढिक्का भएकाले चुनाव जित्ने मैनाली बताउँछन्। 

‘गठबन्धनका कारण चुनाव हारिएको थियो। समानुपातिक मतमा हामी नै अघि थियौँ। गठबन्धनका कारण थोरै मतले पराजित भएको हो,’ मैनालीले भने, ‘अहिले परिस्थिति राम्रो छ।’  

२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ १६ हजार २६७ मतसहित एमाले पहिलो, १५ हजार ७५१ मत सहित कांग्रेस दोस्रो र १५ हजार १२७ मत सहित माओवादी तेस्रो हुँदा रास्वपाले ५ हजार ४४९ मत ल्याएको थियो। 

२०७४ को निर्वाचनमा माओवादीसँग एमालेले गठबन्धन गर्दा मैनाली प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए। प्रदेश सांसद हुँदा गरेको काम र सामाजिक कार्यले पनि जनतामा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको उनको ठम्याइ छ।  

अघिल्लो निर्वाचनमा पार्टीले प्राप्त गरेको मतलाई बचाउन सके पनि एमालेले चुनाव जित्न सक्छ। 

पूर्वपत्रकार तथा अस्ट्रेलियाबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका डा विक्रम तिमिल्सिनालाई रास्वपाले नुवाकोट १ बाट अघि सारेको छ। देशमा सकारात्मक राजनीति संस्कार निर्माण, सकारात्मक परिवर्तनका लागि नुवाकोटको जनताले रास्वपाको पक्षमा मतदान गर्ने तिमिल्सिना बताउँछन्। 

‘देशले बाटो बिरायो भन्ने हरेक जनताको बोलीमा सुनिएको छ। अहिलेको राजनीतिले देशलाई अघि बढाउन सकेन भनेर आम असन्तुष्टि छ। देशको राजनीतिलाई सङ्ल्याउन, बदल्न र सही बाटो हिँडाउन लागेको छु। जिल्ला र उम्मेदवारको कुरा होइन, देशभर महाअभियान सुरु भएको छ,’ तिमिल्सिनाले भने।  

सोही अभियान अन्तर्गत राष्ट्र निर्माणका लागि नुवाकोटका मतदाताले आफ्नो पक्षमा मतदान गर्ने उनको भनाइ छ।

पुराना दलका नेता तथा स्थानीयहरुले रास्वपामा जाने मतले नुवाकोट १ को परिणाम फरक पार्ने बताउँदै गर्दा तिमिल्सिना भने सबै उम्मेदवारहरु आफ्नो प्रतिस्पर्धी भएको बताउँछन्।

‘सबै उम्मेदवारहरु बराबर हुनुहुन्छ। म परीक्षामा छु। यसमा खरो उत्रिरहेको छु। एउटालाई बलियो र अर्कोलाई कमजोर आँकिरहेको छैन,’ उनले भने।

मतदातालाई पार्टीको भोट बैंकको हरूमा कसैले पनि अपमानित गर्न नहुने बताउँदै उनी भन्छन्, ‘कोही व्यक्ति जिन्दगीभर एउटै पार्टीको हुनु पर्छ र मतदान गर्नु पर्छ भन्ने छैन। नयाँ परिवेश सिर्जना भएकाले जनताहरुमा उत्साह पैदा भएको छ।’ 

नुवाकोट क्षेत्र नम्बर १ को चुनावी मैदानमा २३ उम्मेदवार होमिएका छन्। विभिन्न राजनीतिक दलको झण्डाबाट १८ जनाले उम्मेदवारी दिँदा ५ जनाले स्वतन्त्र हरूमा उम्मेदवारी घोषणा गरेका छन्। 

एमालेका बद्री मैनाली, नेपाली कांग्रेसका डा प्रकाशशरण महत, नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. विक्रम तिमिल्सिना मुख्य प्रतिस्पर्धी हुन्। यस्तै, यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापा, जनता समाजवादी पार्टी, नेपालका होमबहादुर राई, नेपाल मजदुर किसान पार्टीका रविन्द्र डंगोल, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतम, मंगोल नेसनल अर्गनाइजेसनका कुमार रानामागर चुनावी प्रतिस्पर्धामा छन्। 

श्रम संस्कृति पार्टीका दावा फिन्जु लामा, मितेरी पार्टी नेपालका विवेक सिलवाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महेन्द्र तामाङ, उज्यालो नेपाल पार्टीका अमित तमाङ र स्वतन्त्र हरूमा चेपे तामाङ, माधव थापा, रामेश्वर भण्डारी, राजु थापा, सञ्जीव गुरुङ चुनावी मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad