नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन्।
मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन्।
चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था नरहेको उनले बताइन्।
घाँटीमा मालाझैं लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनको भनाई थियो।
सांसद बेलवासेले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन्।
उनले भनिन्, ‘नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन। टोटल ढंगले रोक्नुपर्छ। यहाँ कारबाहीको कुरा पनि गरिएको छ, घाँटीमा माला लगाएको झण्डा अहिले कहाँ पुगेको छ, कसरी राखेको छ, कसले स्याहारसम्भार गरेको छ, त्यसको खोजबिन गर्नसकिने अवस्था छैन। त्यसैले यो झण्डाको दुरुपयोग भईराखेको कुरालाई टोटल सरकारले रोक्नुपर्छ।’
उनले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन्।
Shares

प्रतिक्रिया