ad ad

राजनीति


स्थायी समितिका १७ नेताको निष्कर्षः ओलीले अपमान गरे, डेलिगेसन जान्छौं- एजेन्डा दिन्छौं

स्थायी समितिका १७ नेताको निष्कर्षः ओलीले अपमान गरे, डेलिगेसन जान्छौं- एजेन्डा दिन्छौं

सागर न्यौपाने
बैशाख २५, २०७७ बिहिबार १२:४२,

तोकिएको समयमा बैठक नराखेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको अपमान गरेको आरोप नेकपाका स्थायी समिति सदस्यहरुले लगाएका छन्।

बिहीबार (आज) बोलाइएको स्थायी समिति बैठक बुधबार साँझ स्थगित गरिएको थियो। बैठक स्थगित भएपछि बिहीबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका स्थायी समितिका १७ जना नेताले अध्यक्षद्वयलाई बैठक बोलाउन दबाब दिने निर्णय गरेका छन्।

ओलीले कुनै कारणबिनै अन्तिम समयमा बैठक रोकेर स्थायी समितिकै अपमान गरेको निष्कर्ष निकालिएको स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्।

‘स्थायी समिति बैठक माग गरेको आज १५ दिन कटिसकेको छ, विधानअनुसार यसरी मिति नघाउन पाइँदैन,’ शाक्यले नेपालखबरसँग, ‘अध्यक्ष ओलीले हाम्रो ठूलो अपमान गर्नुभयो, हामी पनि उस्तै योगदान गरेर आएका नेता हौं। हाम्रो मागलाई बेवास्ता गरेर उहाँबाट अन्याय भयो। यसबारेमा दुवै अध्यक्षको ध्यानाकर्षण गर्न डेलिगेसन जान्छौं।’

अध्यक्षद्वयलाई बैठक स्थगित गरिनुको कारण मागिने पनि उनले बताइन्।

‘सचिवालयमा पनि अध्यक्ष ओली नेताहरुको कुरा सुन्न छाडेर भाग्नुभएछ,’ उनले भनिन्, ‘तर हामी स्थायी समितिका सदस्यहरु चुप बस्दैनौँ। बैठक किन स्थगित गरियो, त्यसको जवाफ माग्ने सहमति भएको छ।’

बिहीबारको छलफलले स्थायी समितिको बैठकका लागि एजेन्डा बनाएर नेतृत्वलाई बुझाउने समझदारी गरेको नेता हरिबोल गजुरेलले बताए।

‘स्थायी समितिको लागि सचिवालयले एजेन्डा नै बनाउन नसकी बैठक स्थगित गरियो’, गजुरेलले भने, ‘बैठक माग गर्ने हामीले नै एजेन्डा पनि बनाएर दिने तयारी गरेका छौं।’

अध्यक्षद्वयलाई भेटेरै यसबारे दबाब दिने तयारी भइरहेको अर्का एक नेताले बताए।

‘बैठक उहाँ आफैँले डाक्नुभएको थियो। अहिले रोक्नै नहुने बैठक रोकेर समस्या बनाइदिनुभयो। त्यही भएर हामी साझा धारणा बनाउन दिउँसो एकछिन बसेका हौं,’ ती नेताले भने, ‘हामी पछि हट्नेवाला छैनौं, मिति नतोकेसम्म दबाब बढाइरहन्छौं।’

बैठक स्थगित गरेर राम्रो सन्देश नगएको उनले बताए।

शाक्यले ओलीलाई आलटाल गर्न नदिइने बताइन्।

‘सचिवालय बैठक पनि आलटाल गर्दै अध्यक्ष ओलीले झुक्याउँदै आउनुभएको छ। हामी त्यसैगरी स्थायी समिति बैठक पनि टार्न दिँदैनौं, थप एकजुट भएर दबाब दिन्छौं,’ शाक्यले थपिन्।

ओलीकै कारण स्थायी समितिको बैठक स्थगित गरिएको भन्दै सहभागी नेताहरुले उनको कार्यशैलीले थप समस्या पैदा भएको ठहर गरेको सहभागी अर्का नेताले जानकारी दिए।

उनीहरुले शुक्रबार नै अध्यक्ष प्रचण्डसँग भेट गर्ने तयारी पनि गरेका छन्।

यसअघि स्थायी समितिको बैठकमा साझा धारणा ल्याउनेगरी बैठक बसेको थियो। पुरक प्रस्तावको रुपमा ल्याउन खोजेको उक्त प्रस्तावमा सबै नेताहरुबीच एकमत नहुँदा रोकिएको नेता मणि थापाले बताए।

सरकारले पार्टीमा छलफल नगरी दुई अध्यादेश ल्याएपछि २० जना नेताहरुले १० वैशाखमा स्थायी समितिको बैठकको माग गरेर अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए।

प्रधानमन्त्रीले गणतन्त्र सिध्याउने गरी अर्काे पार्टी फुटाउन र आफ्नै पार्टी कमजोर बनाउन अध्यादेश ल्याएको बताउँदै त्यसबारे छलफल गर्न आफूहरुले बैठक माग गरेको शाक्यको भनाइ छ।

चर्को दबाबपछि २० वैशाखमा बसेको नेकपाको सचिवालय बैठकले बिहीबारका लागि स्थायी समिति बैठक बोलाएको थियो।

स्थायी समितिको बैठकको एजेन्डा तय गर्न बुधबार दिउँसोदेखि बसेको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले २० वैशाखमा भएको एक व्यक्ति एक जिम्मेवारी लागू गर्ने सहमति पालना गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएपछि उनी बीचमै बैठकस्थल छाडेर हिँडेका थिए।

त्यसपछि ओली र अध्यक्ष प्रचण्डबीच सहमति कायम गरी स्थायी समितिको बैठक राख्ने प्रयास भएपनि प्रधानमन्त्री ओली सहमत भएनन्। जसका कारण अन्तिम समयमा बैठक नै अनिश्चित समयका लागि स्थगित गरिएको छ।

अचानक बैठक स्थगित गरिएपछि साझा धारणा बनाउन भन्दै १७ जना नेताहरु भेला भएका हुन्।

भेलामा अष्टलक्ष्मी शाक्य, भीम रावल, भीमप्रसाद आचार्य, सुरेन्द्र पाण्डे,  हरिबोल गजुरेल, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र लीलामणि पोखरेल सहभागी थिए।

बेदुराम भुसाल, टोपबहादुर रायमाझी र मणि थापा भने उपस्थित थिएनन्। 

‘हामी २० जना नै जम्मा हुने भन्ने थियो। बीचमै पानी पनि पर्‍यो, अनि सबै उपस्थित हुन सकेनौं,’ गजुरेलले भने, ‘तर हामी सबै जना एकढिक्का छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .