राजनीति


माओवादी गढमा दुई धार, जनार्दनलाई पूर्व लडाकुकै डर

माओवादी गढमा दुई धार, जनार्दनलाई पूर्व लडाकुकै डर

रुकुम पश्चिममा प्रतिस्पर्धा गरिरहेका जनार्दन शर्मा र गोपाल शर्मा।


दिनेश बुढा
माघ १२, २०८२ सोमबार १९:३०, सुर्खेत

माओवादीको गढ मानिएको रूकुम पश्चिम यति वेला दुई धारमा विभाजित भएको छ भने लामो समयका सहकर्मीको प्रतिस्पर्धाले चुनावी माहोल रोचक बनाएको छ। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएसँगै विपक्षमा उभिए जनार्दन शर्मा। तत्कालिन माओवादी केन्द्रका उपमहासचिव समेत रहेका जनार्दनले छुट्टै पार्टी बनाए, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)। 

प्रलोपाबाटै नयाँ चुनावी यात्रामा निस्केका जनार्दन यतिवेला प्रचार प्रसारमा जुटिरहेका छन्। प्रलोपाले देशैभर उम्मेदवार बनाए पनि जनार्दनले भने २०४८ सालदेखि लड्दै आएको निर्वाचन क्षेत्र रुकुम पश्चिमलाई नै रोजेका छन्। 

उनीसँग चुनावी मैदान उत्रिए, नेकपाका गोपाल शर्मा, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाल मजदूर किसान पार्टीका धनबहादुर विक, नेकपा (एमाले) का नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेपाली कांग्रेसका राजु केसी, नेकपा (माओवादी)का चन्द्र बुढा, नेकपा (संयुक्त) का शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी र आम जनता पार्टीका प्रेमा दमाई नेपाली पनि उम्मेदवार बनेका छन्। 

सुरुवातमा प्रलोपाका जनार्दन, नेकपाका गोपाल, कांग्रेसका राजु र एमालेका नन्दरामबीच प्रतिस्पर्धा हुने आकलन गरिएको थियो। तर, माघ ११ मा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष दुर्गा सोवबीच भएको सहमतिले माहोल फेरिएको छ। अब एमालेले जनार्दनलाई सघाउने भएको छ। 

रुकुम पश्चिममा एमालेले प्रलोपालाई र रुकुम पूर्वमा प्रलोपाले एमालेलाई सघाउने सहमति भएको छ। एमालेले प्रलोपालाई सघाउने भएसँगै रुकुम पश्चिममा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। 

एमालेका जिल्ला कमिटी अध्यक्ष समेत रहेका नन्दरामले केन्द्रमा सहमति भए पनि उम्मेदवारसँग छलफल गर्न बाँकी रहेको बताउँछन्। ‘म आज पनि चुनावी प्रचारकै क्रममा बाँफिकोटका गाउँ-गाउँमा घुमिरहेको छु। उम्मेदवारबीच भेटघाट भएको छैन,’ उनी भन्छन्। 

एमालेका केन्द्रीय सदस्य तथा रूकुम पश्चिमका इन्चार्ज सुशीलकुमार थापा पार्टीले गरेको निर्णय अनुसार अगाडी बढ्ने बताउँछन्। ‘पार्टीको निर्णयलाई कार्यान्वयन गर्दै जनार्दन शर्मालाई सघाउने कुरा छ। उहाँ पार्टीको चुनाव प्रचारको लागि डोल्पा, रोल्पातिर हुनुहुन्छ भन्ने सुनिएको छ,’ सुशील भन्छन्, ‘फर्किएपछि दुवै पार्टीको संयुक्त बैठक बसेर सँगै प्रचारमा जाने वातावरण तयार हुुन्छ।’

प्रलोपासँगको चुनावी तालमेलपाई २०८४ सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचनसम्म लैजाने योजना रहेको उनी बताउँछन्। 
गत निर्वाचनको समानुपातिक मतअनुसार, रुकुम पश्चिममा कांग्रेस तेस्रो नम्बरमा रहेको छ। अझ विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व फेरिएपछि त्यसको असर रुकुम पश्चिममा पनि परेको छ। कांग्रेसको असन्तुष्टिको मत पनि पाउने आशामा जनार्दन छन्। 

कस्तो छ इतिहास?

जनार्दनले १४ वर्षको उमेरमा २०३४ सालमा तत्कालीन कम्युनिस्ट पार्टी चौमको सदस्यता लिएका थिए। एसएलसी उत्तीर्णपछि कृषि विषय पढेका उनी राजनीतिलाई अघि बढाउन जिल्लामै जेटीएको जागिर खाएर बसे। 

तत्कालीन रूकुमबाट दैलेख सरुवा गरिएपछि उनले २०४३ सालमा जेटीएबाट राजीनामा दिए। त्यसअघि नै उनी २०३८ सालमा तत्कालीन कम्युनिस्ट पार्टीको रुकुम जिल्ला सदस्य भइसकेका थिए।   

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट रुकुम-२ मा प्रतिस्पर्धा गरेका शर्मा नेपाली कांग्रेसका गोपालजीजंग शाहसँग पराजित भए। गोपालजीजंगले १२ हजार ४४१ मत प्राप्त गर्दा जनार्दनले ११ हजार १२६ मत प्राप्त गरेका थिए। 

त्यसको २६ वर्षपछि बदला लिँदै जनादर्नले २०७४ सालको निर्वाचनमा गोपालजीजंगलाई ठूलो मतान्तरले पराजित गरे। जनार्दनले र गोपालजीजंगले पाएको मतान्तर १८ हजार ७४३ थियो। 

२०५२ सालदेखि सुरु भएको माओवादी सशस्त्र युद्धमा सुरुवातदेखि नै सहभागी उनी माओवादीको सेनाका चार जना डेपुटी कमान्डरमध्ये एक थिए।  

२०६४ सालपछिका सबै निर्वाचनका प्रतिस्पर्धी जनार्दनले पराजय भोग्नु परेन। पहिलो संविधान सभा निर्वाचनमा २२ हजार ५७५, दोस्रो संविधान सभामा ३० हजार २७० मत प्राप्त गरेका उनले २०७४ सालको निर्वाचनमा मत बढाउँदै ३४ हजार ४०२ पुगाएका थिए। 

पछिल्लो २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा २६ हजार ५८८ मतान्तरसहित एमालेका नन्दराम देवकोटालाई पराजित गरेका थिए। ६० हजार ५६२ मत खस्दा जनार्दनले ३९ हजार ५४९ मत पाएका थिए भने प्रतिस्पर्धी एमालेका नन्दलालले १२ हजार ९६१ मत पाए। 

यस पटक भने मतान्तर बढाउनुभन्दा पनि जोगाउनै उनलाई सकस भएको छ। उनकै पूर्व लडाकु गोपाल शर्माले चुनौती दिइरहेका छन्। माओवादी त्यागेर नयाँ पार्टी बनाएका जनार्दनलाई संगठनको अभाव खड्किएको छ। 

यससँगै बलियो संगठन भएको नेकपाका गोपाल प्रतिस्पर्धामा छन्। २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका गोपाल कर्णाली प्रदेश सरकारमा अर्थमन्त्री पनि बनेका थिए। 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा ६ वटा स्थानीय तहमध्ये चार वटा मेयर तथा अध्यक्षमा तत्कालिन माओवादी केन्द्रले जितेको थियो। त्यस्तै, दुई वटामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। 

नेकपा उम्मेदवार गोपाल रूकुम पश्चि कम्युस्टिको गढ भएकाले व्यक्तिभन्दा पनि संगठनका कारण पार्टीले मत पाउने दाबी गर्छन्। ‘रूकुम पश्चि साविक माओवादी केन्द्रको गढ हो। यहाँ व्यक्तिको अनुहारलाई नभएर सांगठित मत पार्टीका उम्मेदवारलाई जान्छ,’ उनी भन्छन्, ‘ नेता जता लागे त्यतै नगएर रूकुम पश्चिमको विरासत कम्युनिस्ट कायम राख्ने इतिहास हो।’

प्रलोपाका जिल्ला संयोजक शैलेन्द्र शर्मा रूकुम पश्चिबाट जर्नादन शर्माले एमालेका मत नजोडेरै २२ हजार मत बढीले चुनाव जित्ने दाबी गर्छन्। ‘एक लाख ६ हजार बढी मतदातामा करिब ५० देखि ६० प्रतिशत मत खस्ने आकलन छ। तीमध्ये २२ हजार मत हाम्रो पक्षमा आउँछ,’ शैलेन्द्र भन्छन्, ‘त्यसमा एमालेको आठ हजारभन्दा बढी मत जोड्दा ३० हजार बढी मत हाम्रो पक्षमा आउने अनुमान छ।’

२०७९ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित केही पालिका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र आठबीसकोट तथा चौरजहारी नगरपालिकाका वडाध्यक्षहरू खुलेर जनार्दनको प्रचारमा लागेको उनको दाबी छ। 

रूकुम पश्चिममा एक लाख ६ हजार ६६० मतदाता छन्। मतदानका लागि ७६ मतदान स्थल र १४० मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।  

२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रूकुम पश्चिममा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३७ हजार १०२ मत पाएका थिए। त्यस्तै, कांग्रेसका उम्मेदवारले प्राप्त गरेको मत २६ हजार ६ सय २० थियो भने एकीकृत समाजवादीका उम्मेदवारले १३० र एमालेका उम्मेदवारले ६ हजार १२४ मत पाएका थिए। 

प्रतिनिधि सभाको समानुपातिकतर्फ २०७९ सालमा तत्कालिन माओवादी केन्द्रले ३४ हजार ३४७, एमालेले ८ हजार ७६९, कांग्रेसले ८ हजार ७६६, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ८६१ र एकीकृत समाजवादीले एक हजार ५१० मत पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad