नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पार्टीको निर्णयमा ‘हाम्रो असहमति छ’ भनेर गलत प्रचार भइरहेको भनी खण्डन गरेका छन्।
शेरबहादुर देउवा सभापति रहँदा कांग्रेसका प्रचार विभाग प्रमुख रहेका विश्वकर्माले केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सबैले मान्नुपर्ने बताउँदै हालका सभापति थापा प्रधानमन्त्रीको उम्मेदवार बनेकामा आफूहरूको पनि सहमति रहेको स्पष्टीकरण दिएका हुन्।
‘भावी प्रधानमन्त्री गगन थापाका सन्दर्भमा कुनै एक मिडियाले सोधेको प्रश्नमा, संसदीय दलमा चुनाव भए के हुन्छ भन्ने प्रश्नमा- जो जित्छ उही दलको नेता हुन्छ र प्रधानमन्त्री पनि उही हुन्छ भन्ने मेरो जवाफलाई गलत मनसायबाट हाम्रो असहमति छ भन्ने वाक्यांश राखेर गरिएको प्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विश्वकर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेको छ। पार्टी केन्द्रीय समितिको निर्णय सबैले पालना गर्नुपर्छ। अन्यथा गर्ने कसैलाई छुट हुँदैन।’
यस क्रममा उनले कांग्रेसको आधिकारिकताबारेको मुद्दा अदालतमा विचाराधीन रहे पनि हाल पार्टीमा कुनै मतभेद नरहेको र आगामी निर्वाचनमा बहुमत ल्याउने विषयमा एकजुट रहेको जिकिर पनि गरेका छन्।
‘नेपाली कांग्रेस पार्टीमा विवाद भएकोले निर्वाचन आयोगपछि अदालतमा मुद्दा हुँदाहुँदै पनि निर्वाचनमा असर नपरोस् भनी उम्मेदवार छनोटमा सहमति गरी देशव्यापी रूपमा कांग्रेसजनले रुख चिह्नमा निर्विवाद मत माग्ने वातावरण बनाइएको सर्वविदितै छ। यसमा माघ ४ गते रातिको मेरो फेसबुक स्टाटसले थप प्रमाणित गर्दछ’, नेता विश्वकर्माले लेखेका छन्, ‘अहिले हाम्रो पार्टीभित्र कुनै मतभेद छैन र सबैको ध्यान निर्वाचन र रुख चिह्नमा बहुमत ल्याउनमै केन्द्रित छ।’
Shares

प्रतिक्रिया