राजनीति


हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता नगरिए नेकपा बचाउन गाह्रो हुनेछ: झलनाथ खनाल

हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता नगरिए नेकपा बचाउन गाह्रो हुनेछ: झलनाथ खनाल

नेकपा नेता झलनाथ खनाल (फाइल फोटो)


नेपालखबर
माघ १२, २०८२ सोमबार ८:१६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्। 

आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाएका गजुरेलसहित ७ नेतालाई नेकपाले शनिबार अनुशासनको कारबाही भन्दै पार्टीबाट निकालेको छ। 

यस विषयमा सोमबार नेता खनालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी तत्काल कारबाही फिर्ता लिन आग्रह गर्दै अन्यथा एकीकरण प्रक्रिया पूरा नहुँदै नेकपा भत्किने खतरा रहेको चेतावनी दिएका हुन्। 

‘यदि यो नेपाली कम्युनिस्ट पार्टीलाई सच्चा कम्युनिस्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो, यसबारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन, सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु। अन्यथा एकीकरण भइनसक्दै विशृंखलतातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ’, खनालले लेखेका छन्। 

यस्तै उनले स्पष्टीकरणको मौकासमेत नदिई गजुरेललाई कारबाही गरिएको र यस विषयमा संस्थागत रूपमा जानकारीसम्म नगराईएको भन्दै असन्तुष्टि पनि जनाएका छन्। 

‘एकीकरण घोषणा भएको यति लामो समयपछि पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठुलठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिईकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटि सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्’, उनले भनेका छन्।

झलनाथ खनालको वक्तव्य 

पार्टीलाई संस्थागत बनाऔँ

यतिबेला हाम्रासामु आम निर्वाचन २०८२ सन्निकट आइरहेको छ। मुलुकका विरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको छ। जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिस्टहरूबिच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेका छन्। यही कुरालाई ध्यानमा राखेर कम्युनिस्टहरू एकताबद्ध हुने प्रयत्न पनि भइरहेको छ।

तर त्यो प्रयत्नलाई बल पुर्‍याउनुको सट्टा एकीकरण घोषणा भएको यति लामो समयपछि पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठुलठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिईकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटि सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्।

यदि यो नेपाली कम्युनिस्ट पार्टीलाई सच्चा कम्युनिस्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो, यसबारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन, सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु। अन्यथा एकीकरण भइनसक्दै विशृंखलतातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ।

मिति : १२ माघ, २०८२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad