नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल सेटिङ मिलाएको आरोप लागेका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौँले मंगलबार सुनाएको फैसलाअनुसार झाले अर्का प्रतिवादी रामशरण केसीबाट २ करोडको चेक बुझेको देखिएको अदालतको फैसलामा उल्लेख छ।
फैसलामा भनिएको छ, ‘प्रतिवादी रामशरण के.सी.बाट २ करोडको चेक बुझिलिएको भन्ने देखिएको र उक्त चेकको रकम भुक्तानीको लागि बैंकमा पेस हुँदा खातामा पर्याप्त मौज्दात नरहेको कारण चेक सटही हुन नसकेको भन्ने कुरा बैंकको पत्रबाट समेत देखिँदा निजले ठगी सम्बन्धी कसुरको उद्योगको कसूर गरेको ठहर्छ।’
त्यसबाहेक झाले सरकारी लिखत कीर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुर गरेको भन्ने दाबी नपुगेको अदालतको फैसला छ।
झाले गरेको ठगीमा कति सजाय हुने भन्ने निर्धारणको लागि अदालतले असार २९ गते पेसी तोकेको छ।
Shares

प्रतिक्रिया