पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रधानमन्त्रीका लागि उम्मेदवार घोषित नेताहरूबिच सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि तयार रहेको भनी लेखेको स्टाटसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले गरेको कमेन्टले यतिबेला सामाजिक सञ्जाल तातिएको छ।
आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा फेरि झापा क्षेत्र नम्बर ५ बाटै प्रतिस्पर्धा गर्न लागेका ओलीले आइतबार बिहानै फेसबुकमा बालेनलक्षित स्टाटस लेखेका हुन्।
'नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ', ओलीले लेखेका छन्, 'फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। ...यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।'
यसमा कमेन्ट गर्दै बालेनले 'हत्यारा'सँग एउटै मञ्चमा नउभिने जवाफ फर्काएका छन्।
'तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतंकवादीचाहिँ कहिले स्वीकार्ने हो? त्यो पछि अरू कुरा गरौँला', बालेनले लेखेका छन्, '७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।'
यसपछि अहिले सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्ने क्रम चलिरहेको छ।
यसैबिच सामाजिक अभियन्ता ई:ईले बालेनविरुद्ध कटाक्ष गरेका छन्।
उनले सार्वजनिक मञ्चमा बहस गर्न कोठामा बसेर स्टाटस लेख्नुजस्तो सजिलो नहुने भन्दै बालेनको निर्णय सही भएको व्यंग्य गरेका हुन्।
'कुनै पनि भिडिओ अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो। चिप्लिनुभन्दा स्टेज म्यानेज्ड अपिएरेन्सेज गर्नु र स्टाटस ठोक्दै बस्नु बेस। त्यतिले दम पुगेकै छ। केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविष्यका लागि अझ अजंगको अर्को केपी चाहिएन त', ई:ले फेसबुकमा लेखेका छन्, 'जर्नलिस्टिक इन्टेग्रिटी र जिएल भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानुनीराजको उपहास, सामाजिक-आर्थिक नीति, गणतन्त्र-संघीयता-धर्म निरपेक्षता आदिबारे केरकार गर्यो भने पारा तातिएर, भोलकानो पड्केर उत्पात हुन सक्छ। त्यस्तो प्राकृतिक दुर्घटना हुन दिनु हुँदैन।'
Shares

प्रतिक्रिया