राजनीति


यी हुन् कोसी प्रदेशबाट विजय सुनिश्चित भएका राष्ट्रियसभाका २ सांसद

यी हुन् कोसी प्रदेशबाट विजय सुनिश्चित भएका राष्ट्रियसभाका २ सांसद

तीन दलीय गठबन्धनका उम्मेदवार एमालेका सोमनाथ पोर्तेल र रोशनी मेचे।


नेपालखबर
माघ ११, २०८२ आइतबार ९:२७, विराटनगर

राष्ट्रियसभाका रिक्त हुन लागेका १९ सिटमध्ये आज १७ सिटका लागि मतदान हुँदैछ। 

आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ मध्ये १७ पदका लागि आज मतदान हुन लागेको हो। 

यसपटक कोसी प्रदेशबाट तीन पद रिक्त हुँदैछन्। यहाँबाट रिक्त हुन लागेका तीन पदमध्ये अन्य समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले अब बाँकी रहेका दुई पदका लागि मात्र आज मतदान हुन लागेको हो। 

कोसीमा कांग्रेस, नेकपा एमाले र जसपा नेपाल गठबन्धन गरेर निर्वाचनमा होमिन लागेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्लै चुनावी प्रतिस्पर्धामा छ। 

​गठबन्धनका तर्फबाट दलित क्लस्टरमा एमालेका सोमनाथ पोर्तेल र महिला क्लस्टरमा एमालेकै रोशनी मेचे मैदानमा छन्। 

उनीहरूलाई चुनौती दिन नेपाली कम्युनिष्ट पार्टीले दलिततर्फ खेम सुन्दास र महिलातर्फ नमिता न्यौपानेलाई उम्मेदवार खडा गरेको छ। 

दलहरूबीचको समीकरणका कारण गठबन्धनका उम्मेदवारको जित सहज देखिएको छ।  

​विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा हुने मतदान आइतबार बिहान ९ बजेदेखि सुरु हुने कार्यालय प्रमुख चोलाराज दंगालले जानकारी दिए। 

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने मतदानका लागि दुईवटा मतदान केन्द्र निर्माण गरिएका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले छुट्टाछुट्टै मतपेटिकामा मतदान गर्ने व्यवस्था मिलाइएको छ। मतदान सकिएलगत्तै आजै मतगणना सुरु गर्ने तयारी छ।

​कोसी प्रदेशमा कुल ९३ प्रदेशसभा सदस्यमध्ये हाल ९२ जना र स्थानीय तहका २७४ प्रमुख(उपप्रमुखमध्ये २६९ जना यसपटकको निर्वाचनमा मतदाता कायम भएका छन्। 

केही जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार भएका कारण मतदाता संख्यामा घटेको छ। 

हाल कोसी प्रदेशमा प्रदेशसभातर्फ ४ हजार ८ सय ७६ र स्थानीय तहतर्फ ५ हजार १११ गरी कुल ९ हजार ९ सय ८७ मतभार कायम छ। 

माओवादीका गोपी अछामी, एमालेका देवेन्द्र दाहाल र इन्दु गौतमको कार्यकाल सकिएपछि रिक्त हुन लागेका पदमा निर्वाचन हुन लागेको हो। 

राष्ट्रियसभाका रिक्त हुन लागेका पदमा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad