देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रका सरकारी कार्यालयमा अशक्त, ज्येष्ठ नागरिक तथा अपांगता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि ह्विलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले यसको शुभारम्भ गरेका छन्। यो सेवाको उद्घाटन गर्दै मुख्यसचिव अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र आफ्नो ड्युटीका लागि आउजाउ गर्ने कर्मचारी कसैले पनि शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताए।
सिंहदरबारका अधिकांश कार्यालयहरू अपाङ्गमैत्री बनिसकेको र बाँकीमा पनि चाँडै संरचना बन्ने उनले बताए। विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई क्रमशः अन्त्य गर्दै लगिने उनको भनाइ थियो।
त्यस्तै, प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्याउने व्यवस्था मिलाइएको बतामए। यसका लागि प्रत्येक ह्विलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिनेछन्, जसले सेवाग्राही र कर्मचारीलाई आवश्यक सहयोग गर्नेछन्।
सरकारले यस व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिने दृढ संकल्प लिएको छ। यसलाई आगामी दिनमा देशभरका अन्य सरकारी निकायमा लागू गर्ने सरकारको तयारी छ।
Shares

प्रतिक्रिया